अधिकांश बैंकको नाफा घट्यो,ऋण रोकिँदा आम्दानी कम, शाखा विस्तारले पनि खर्च वृद्धि

बिजमाण्डू
२०७५ बैशाख ३ गते १३:५६ | Apr 16, 2018
अधिकांश बैंकको नाफा घट्यो,ऋण रोकिँदा आम्दानी कम, शाखा विस्तारले पनि खर्च वृद्धि

काठमाडौं। तेस्रो त्रैमास (माघदेखि चैतसम्म) मा ऋण विस्तारमा ब्रेक लागेपछि बैंकहरुको नाफामा त्यसको असर देखिएको छ। सरकारले एक सातामै ३२ अर्ब रुपैयाँ निक्षेप झिकेपनि कर्जा-पूँजी-निक्षेप अनुपात (सिसिडी रेसियो) मा खासै दबाब महशुस नगरेका बैंकहरुको नाफामा भने गिरावट देखिएको छ।

Tata
GBIME
Nepal Life

'विजनेस बढेको छैन तर निक्षेपको ब्याज दर माथि छ। यसको स्वभाविक असर नाफामा देखिन्छ,' बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाले बिजमाण्डूसँग भने, 'आम्दानीभन्दा खर्च बढी हुने भएपछि नाफामा गिरावट आउनु स्वभाविक हो।'

चैतमा ४० अर्बभन्दा बढि कर प्रयोजनका लागि बैंकबाट सरकारी खातामा पैसा गएर सिसिडी टाइट हुने अनुमान बैंकरको थियो, तर त्यसमा भने बैंकहरुलाई खासै समस्या परेन। सरकारले एक सातामा करिव ३२ अर्ब रुपैयाँले राजस्व बढायो। यसमध्ये अधिकांश रकम बैंकमा निक्षेपका रुपमा रहेको पैसा नै हो।

तर, निक्षेपमा पाक्ने ब्याज आम्दानी करिब/करिब ३० अर्ब  रुपैयाँले वृद्धि भयो। त्यसो हुँदा सिसिडीमा खासै ठूलो दबाब परेन। '७८/७९ प्रतिशतकै हाराहारीमा सिसिडी बसेको छ' ढुङ्गानाले भने, 'निक्षेपमा पाक्ने ब्याज आम्दानीका कारण सहज भयो।'

'पहिलो त्रैमासपछि आक्रामक भएका केही बैंकवाहेक धेरैको व्यापार बढेको थिएन' हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले भने, 'तेस्रो त्रैमासमा आएपछि ऋणको विस्तार निकै कम भयो। यसको असरले नाफामा सुधार देखिएको छैन।'

मसान्तको अन्तिमतिर भने बैंकको अर्को ऋणको साँवा ब्याज भूक्तानी गर्न तथा सरकारी राजस्व भूक्तानीका लागि ओभरड्राफ्ट कर्जा बढेको छ। यसमा निक्षेपमा केही सुधार भएकाले बढेको ऋणका कारण सिसिडीमा ठूलो चाप नपरेको बैंकरहरु बताउँछन्।

'पहिलो/दोस्रो त्रैमासजस्तो आम्दानी बढेको छैन। ऋण विस्तार गर्न नसकिएका कारण आम्दानीमा संकुचन देखिएको छ' सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले भने।

बैंकहरुले तेस्रो त्रैमास सुरु हुनुअघिबाटै ऋण विस्तार कम गरिसकेका थिए। यता सस्तोमा लिएको निक्षेप परिपक्व हुँदै जाँदा महँगो दरमा नवीकरण गर्नु परिरहेको छ। 'ऋण नबढ्ने तर खर्च मात्रै बढ्ने हुँदा नाफा वृद्धि खुम्चिएको हो' प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले भने।

बैंकहरुले गाउँगाउँ शाखा पुर्याउने अभियानै जस्तो थालेकाले पनि खर्च बढेको छ। कर्मचारीलगायत अन्य प्रशासनिक खर्च पनि बढिरहेको छ। आम्दानी गर्ने ऋणको ब्याज पनि बैंकहरुले पछिल्लो तीन महिनामा खासै वृद्धि नगरेको सानिमा बैंकका दाहालले जानकारी दिए।

'निक्षेप बढेको दरमा नवीकरण भइरहँदा ऋणको ब्याज बैंकहरुले पहिलेजस्तो बढाउन पाएनन्' दाहालले भने, 'तीन महिना नपुगी ब्याज बढाउन नपाइने ब्यवस्थाका कारण पनि आम्दानीमा संकुचन आएको हो।'