परराष्ट्रमन्त्री ज्ञवाली आज चीन जाँदै, ज्ञवालीको भ्रमणले प्रधानमन्त्री ओलीको भ्रमण तय हुने

बिजमाण्डू
२०७५ बैशाख ३ गते १३:४९ | Apr 16, 2018

काठमाडौं। परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली आज चीनको ६ दिने भ्रमणमा जाँदैछन्। चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै ज्ञवाली बेइजिङ जान लागेका हुन्।

Tata
GBIME
Nepal Life

 

चीन भ्रमणमा जाने नेपाली टोलीमा मन्त्री ज्ञवालीसहित परराष्ट्रका उच्च अधिकारी तथा चीनका लागि नेपाली राजदूत लीलामणि पौडेल समेत रहने छन्। परराष्ट्रमन्त्री ज्ञवाली मंगलबार बेइजिङ पुग्ने छन्।

नयाँ सरकार गठन पछि उत्तरी छिमेकी चीनमा नेपालबाट सरकारी तबरबाट हुन लागेको यो उच्चस्तरीय भ्रमण हो। उनको यो भ्रमणलाई प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको तयारीको रुपमा हेरिएको छ। प्रधानमन्त्री निर्वाचित भएको दुई महिना नपुग्दै प्रधानमन्त्री ओली भारतको तीन दिने राजकीय भ्रमण गरिसकेका छन्। ‘प्रो चाइनिज लिडर’को छवि बनाएका ओलीले पहिला चीन भ्रमण गर्ने अपेक्षा गरिएको थियो।

परराष्ट्रमन्त्री ज्ञवाली चीनमा रहँदा चिनियाँ उच्च राजनीतिक नेतृत्वसँग भेट गर्ने कार्यक्रम तय भएको छ। यद्यपि कुन तहका नेतासँग उनको भेट हुने भन्ने परराष्ट्र मन्त्रालयले खुलाएको छैन।

त्यस्तै परराष्ट्रमन्त्री ज्ञवालीले त्यहाँ रहँदा बुधवार चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। भेटवार्तापछि दुई समकक्षीले संयुक्त पत्रकार सम्मेलनलाई समेत सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

बेइजिङ बसाईका क्रममा परराष्ट्रमन्त्री ज्ञवालीले चिनियाँ थिंक ट्यांकको राउड टेवल मिटिङलाई समेत सम्बोधन गर्ने कार्यक्रम रहेको छ।परराष्ट्रमन्त्री ज्ञवालीको सम्मानमा वेइजिङस्थित नेपाली दुतावासले मंगलवार कार्यक्रमको आयोजना गरेको छ। कार्यक्रममा त्यहाँ रहेका नेपाली समुदायका प्रतिनिधि तथा कुटनीतिक नियोगका प्रतिनिधिहरुसँग परराष्ट्रमन्त्री ज्ञवालीले अन्तरक्रिया गर्ने छन्।

त्यस्तै परराष्ट्रमन्त्री ज्ञवाली शुक्रबार सीचुवान प्रान्तको चेङ्डु पुग्ने छन्। त्यहाँ उनले प्रान्तका उच्च नेतृत्वसँग भेट गर्ने कार्यक्रम रहेको छ। त्यस्तै सिचुवान विश्वविद्यालयमा आयोजित कार्यक्रममा सम्बोधन गर्ने कार्यक्रम समेत तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। परराष्ट्रमन्त्री ज्ञवाली शनिबार स्वदेश फर्किने छन्।