भीड थाम्न नसकेर विराटनगरको भाटभटेनी खुलेको तीन घण्टामै बन्द, एक दिनमा डेढ करोडको कारोबार

अनन्तराज न्यौपाने/बिजमाण्डू
२०७५ बैशाख ३ गते ०८:१४ | Apr 16, 2018
भीड थाम्न नसकेर विराटनगरको भाटभटेनी  खुलेको तीन घण्टामै बन्द, एक दिनमा डेढ करोडको कारोबार


विराटनगर। विराटनगरमा वैशाख १ गतेदेखि सञ्चालनमा आएको भाटभटेनी सुपर मार्केटले दोस्रो दिन आइतबार १ करोड ४३ लाखको कारोबार गरेको छ ।

Tata
GBIME
Nepal Life


भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङका अनुसार सञ्चालनको पहिलो दिन भिड थाम्न नसकेर उद्घाटन गरेको ३ घण्टापछि नै सुपर मार्केट बन्द गर्नुपरेको हुँदा १ गते ८१ लाखको मात्र कारोबार भएको थियो । तर दोस्रो दिन भने कारोबार दिनभरि नै सुचारु हुँदा १ करोड ४३ लाखको विक्री भएको हो ।
४० करोडभन्दा बढीका एक लाख २५ हजारभन्दा बढी प्रकारका सामग्री रहेको दाबी गरिएको विराटनगरको सात तले भाटभटेनीमा वैशाख २ गते सबैभन्दा बढी कारोबार खाद्यान्न (ग्रोसरी आइटम)को भएको छ । 
 
ग्रोसरी डिपार्टमेन्टबाट ४२ लाखको विक्री भएको सञ्चालक गुरुङले बताए ।ग्रोसरीपछि तयारी कपडा (गार्मेन्ट) ४१ लाख ५० हजार, भान्साका सामग्री (किचनवेयर) १८ लाख, जुत्ताचप्पल (फुटवेयर)–बाट १६ लाख र इलेक्ट्रोनिक सामग्री १४ लाख बराबरको विक्री भएको उनले जानकारी दिए ।सुपर मार्केटले आइतबार ताजा तरकारी र फलफूलमात्र ६२ हजारको विक्री गरेको छ ।
 
त्यस्तै सारी र लेडिज कुर्तासुरुवाल ५ लाख, शृङ्गारप्रसाधन (कस्मेटिक)का सामग्री ३ लाख तथा मदिरा र सुर्तीजन्य पदार्थ १ लाख ५५ हजार मूल्यका विक्री गरिएको छ । विराटनगरमा भाटभटेनीको शाखा १५ औँ संस्करणका रूपमा सञ्चालनमा आएको हो । विराटनगरबाहेक राजधानीमा १० वटा तथा पोखरा, बुटवल, चितवन र धरानमा गरी भाटभटेनीका १४ सुपर मार्केट छन् ।
 
यसपछि भैरहवा र ललितपुरको सातदोबाटोमा सञ्चालनको तयारी गरिँदै छ ।सञ्चालक गुरुङले दोस्रो दिनको कारोबारबाट आफू उत्साहित भएको बताए।उनले विराटनगर सीमा क्षेत्रमा अवस्थित रहेको चर्चा गर्दै यहाँको व्यापारलाई अनधिकृत पैठारीले प्रभावित बनाएको दाबी गरे । उनले सीमा क्षेत्रमा हुने अवैध कारोबार र भन्सार विन्दुमा गरिने मालवस्तुको न्यून विजकीकरणलाई नियन्त्रण गर्न सरकार सक्रिय हुनुपर्ने आग्रह गरे ।