विराटनगरमा खुल्यो पचास करोड लगानीमा निर्माण भएको होटल, स्विमिङ पुलसहितको होटलमा ५३ वटा रुम




विराटनगर।प्रादेशिक संरचनासँगै नयाँ लगानी बढिरहेको पूर्वमा ५० करोडको लागतमा थ्री स्टार स्तरको होटल सञ्चालनमा आएको छ ।



प्रदेश नं. १ को अस्थायी मुकाम घोषणा गरिएको विराटनगरको रोडशेष चौकमा नयाँ वर्षको दिन पारेर थ्री स्टार स्तरको ‘बिग होटल’ सञ्चालनमा आएको हो ।वीरेन्द्र न्यौपाने र रूपमणि राजभण्डारीको संयुक्त लगानी रहेको होटलको उद्घाटन नेकपा एमालेका नेता एंव पूर्व प्रधानमन्त्री झलनाथ खनालले गरेका हुन् ।

अन्तर्राष्ट्रिय स्तरको दाबी गरिएको बिग होटलमा वातानुकूलित ५३ कोठा छन् । जसमध्ये ३ वटा स्वीट रुम रहेको होटलका व्यवस्थापक केशवप्रसाद पौडेलले बताए ।स्विमिङपुल र रुफ टप रेस्टुरेन्टसहितको सुविधा भएको होटलमा मौसम सफा भएका बेला छतबाट पहाड र हिमालको दृश्यावलोकन गर्न सकिन्छ ।

उनले भने, ‘क्रमशः फोर स्टारको स्तरमा होटललाई पुर्याउने लक्ष्य छ ।’ कुल ८ कठ्ठा जमिनमा फैलिएको होटलमा ५ देखि ७ सय व्यक्ति अट्ने पार्टी हल छ । आवश्यकता र ग्राहकको मागअनुसार हललाई पार्टिसन गरेर १ सयदेखि माथिको बनाउन सकिने व्यवस्थापक पौडेलले उल्लेख गरे । छ तले यस होटलमा दुई वटा लिफ्ट छन् ।पौडेलका अनुसार स्थानीयसहित भारतीय, चाइनिज र इटालियन स्वादका खानाहरू होटलमा उपलब्ध छन् । होटल सञ्चालनको आरम्भमै ८० जनाले प्रत्यक्ष रोजगारी पाएको उनले जानकारी दिए ।

साथै ३० वटा गाडी अट्ने पार्किङ, ३० जना क्षमताको कफीसप र १५० क्षमताको रेस्टुरेन्ट सुविधा पनि होटलमा उपलब्ध हुने उनले जनाए । पौडलले होटलमा स्पा, हेल्थ क्लब र क्यासिनो सञ्चालनमा ल्याउने योजना रहेको र यसका लागि केही समय लाग्ने बताए।विराटनगरमा पर्यटनको प्रशस्त सम्भावना देखेर आफूले लगानी गरेको सञ्चालक राजभण्डारीले बताए । उनले आन्तरिक र भारतीय पर्यटकलाई लक्षित गरेर होटल खोलिएको बताए ।

विराटनगरबाट माउन्टेन फ्लाइटसहित सम्पूर्ण आन्तरिक उडान हुने चर्चाले पर्यटन व्यवसायी थप उत्साहित भएको उनले बताए।विराटनगरलाई आवासको केन्द्र बनाएर भारतीय पर्यटकहरू पूर्वका मिल्के जलजले, हिले, भेडेटार, वसन्तपुर, पाथिभरा, हलेसी, वराहक्षेत्र लगायतका प्राकृतिक र धार्मिक पर्यटकीयस्थल  घुम्ने गर्छन् ।

राजभण्डारीले भने, ‘यस्ता पर्यटक बास बस्न विराटनगर नै फर्किन्छन् ।विमानस्थल अनि भारतको नयाँ दिल्ली र कोलकाता सिधै पुग्ने रेल जोगबनीबाट भएकाले पनि भारतीय पर्यटकलाई विराटनगर सहज छ ।’








Share this Story

   

विराटनगरमा खुल्यो पचास करोड लगानीमा निर्माण भएको होटल, स्विमिङ पुलसहितको होटलमा ५३ वटा रुम को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.