निजी क्षेत्रको पहिलो टायर उद्योगले उत्पादन थाल्यो, ५० करोड लगानीको ग्रीन टायरको उत्पादन बजारमा




विराटनगर । नेपालको इमर्जिङ औद्योगिक घराना विशाल ग्रुपले भारतको फ्युचर टायरसँगको  संयुक्त लगानीमा स्थापना गरेको टायर उद्योगले शुक्रबारदेखि आफ्ना उत्पादन आन्तरिक बजारमा ल्याएको छ ।


मोरङको कटहरी गाउँपालिकामा स्थापित ग्रीन टायरबाट उत्पादित डेल्टा ब्रान्डका टायरको विक्रीवितरण नेपालका विभिन्न बजारमा सुरु गरिएको हो ।
मोरङ व्यापार संघका वरिष्ठ उपाध्यक्ष प्रकाश मुन्दडाले शुक्रबार विराटनगरमा आयोजित समारोहमा टायरको बजारीकरणको उद्घाटन गरे ।
वरिष्ठ उपाध्यक्ष मुन्दडाले निजी क्षेत्रबाट नेपालमा स्थापित पहिलो टायर उद्योग भएको बताउँदै निकासीको समेत प्रशस्त सम्भावना भएको धारणा प्रकट गरे ।
 
उद्योगका प्रतिनिति विनीत सिंघानियाँका अनुसार उद्योगमा फ्युचर टायरको ३५ र विशाल ग्रुपको ६५ प्रतिशत गरी ५० करोडको लगानीमा उद्योगको स्थापना गरिएको हो । उद्योगमा सेन्चुरी बैङ्कको लगानी छ ।भारतमा मुकेश देसाईको नेतृत्वमा रहेको फ्युचर टायर ठूला टायर उद्योगमध्ये एक मानिन्छ । यस उद्योगले आफ्नो ६० प्रतिशतभन्दा बढी उत्पादन भारतकै सियट ब्रान्डको टायर उद्योगलाई आपूर्ति गर्दै आएको छ ।
 
उद्योग विभागबाट अनुमति पत्र (लाइसेन्स) प्राप्त गरेको २५ महिनापछि उद्योगका उत्पादन बजारमा आउन थालेका हुन् । उद्योगका लागि ३ मार्च २०१६ मा अनुमतिपत्र जारी भएको र २० मार्चमा जमिन खरिद गरेर १५ नोभेम्बरदेखि कारखानाको भवन निर्माण सुरु गरिएको थियो । उद्योगले २०१८ को ३ जनवरीदेखि परीक्षण उत्पादन गरेको थियो । 
 
देशभरिका विभिन्न स्थानमा १ सय २० मोटर साइकल तथा त्यत्तिकै सङ्ख्यामा ट्रयाक्टर, स्कुटी र थ्री ह्विलर्समा टायर जडान गरेर तीन महिनासम्म सबै प्रकारका परीक्षण गरिएपछि मात्र टायरलाई बजारमा ल्याइएको सिंघानियाँले बताए ।कटहरीमा ३ बिघा क्षेत्रफलमा फैलिएको उद्योगबाट तत्काल ट्र्याक्टरको अगाडिको टायरका साथै मोटरसाइकल, स्कुटी र ई–रिक्साका गरी ४ प्रकारका टायर उत्पादन गरिएको छ ।सुरुवातमा ४ प्रकारका टायरको वार्षिक उत्पादन २ लाख थान हुने उद्योगका प्रतिनिधि उनले बताए।
 
उनका अनुसार डेल्टा र शेर्पा ब्रान्डका टायरहरू उत्पादन गरिनेछन् । जसमध्ये पहिलो चरणमा डेल्टा ब्रान्डका टायर बजारमा ल्याइएको हो ।
उद्योगबाट आगामी ५ वर्षभित्र ट्रक, बस, जिप, लरी, ट्र्याक्टरको ठूलो टायरलगायत सबै प्रकारका टायरको वार्षिक २० लाख थान उत्पादन गर्ने लक्ष्य राखिएको छ ।
तत्काल ५० करोडको लगानीमा स्थापना गरिएको उद्योगमा ५ वर्षभित्रै लगानी विस्तार गरेर २ सय ५० करोड पुयाउने उद्देश्य छ ।सिंघानियाले भने, ‘अर्ध स्वचालित मेसिन रहेको उद्योगमा हाल नेपालकै ६५ कामदार छन् । दुई वर्षभित्र १ सय २५ हुनेछन् ।’टायर उद्योगको सम्भावना प्रशस्त रहेको नेपालमा टायरको कुल मागको ९९ प्रतिशत आपूर्ति आयातबाटै गरिन्छ । जसमध्ये ८० प्रतिशत आयात भारतबाट गरिन्छ । प्रायः बन्द भइरहने गोरखकाली रबर उद्योगले उत्पादन गर्ने टायरले नेपालको माग धान्न सकिरहेको छैन ।उनले उद्योगको पहिलो लक्ष्य आयात प्रतिस्थापन गर्नु रहेको बताउँदै एक वर्षपछि निर्यात सुरु गर्ने योजना रहेको जानकारी दिए । 
 
उत्तर प्रदेश, विहार, पश्चिम बङ्गाल र असम लगायतका नेपालसित नजिक पर्ने भारतीय राज्यमा ग्रिन टायरका उत्पादनले बजार पाउने प्रबल सम्भावना रहेको उनको निष्कर्ष थियो । ती राज्यमा भारतकै गुजरात राज्यबाट टायर ल्याउनु पर्ने हुँदा ढुवानी खर्च महँगो पर्ने कारणले नेपालका उत्पादन सस्तो पर्नसक्ने उनको ठहर छ ।
 
उद्योगबाट उत्पादित टायर पूर्णतः ट्युवलेस रहेको र यसमा ‘लिक्विड’ पनि हाल्नु नपर्ने उनले जानकारी दिए । ‘लिक्विड’बाट हुने रासायनिक प्रतिक्रियाले टायर खिइँदै जाने र यसको आयु छोट्टिने समस्या हुने उनको भनाइ थियो ।
 
तयारी टायरको आयात गर्दा भन्सार महसुल २० प्रतिशत र मूअकर छ । टायरको कच्चा सामग्रीको भन्सार महसुल १ प्रतिशत मात्र छ । तयारी र कच्चा पदार्थको महसुलमा रहेको फराकिलो अन्तरले पनि उद्योगले राम्रो मुनाफा आर्जन गर्न सक्ने आशा गरिएको छ ।ग्रिन टायरले कच्चा पदार्थ भारतबाट आयात गरिरहेको छ । तर सिङ्गापुर, मलेसिया र अफ्रिकाको ग्याभोनबाट पनि कच्चा पदार्थ पैठारी गर्न सकिने प्रतिनिधि सिंघानियाँको कथन थियो ।
नेपालमा मोटर साइकलका टायरको मात्र वार्षिक २४ लाख थान खपत रहेको उनको दाबी छ ।
 
विशाल ग्रुपले सिंघानिया परिवारसितको साझेदारीमा विगत ४० वर्षदेखि टायरको आयात गरिरहेको छ । ‘नेपालमा टायर उद्योग हाम्रो सपना थियो, आज पूरा भएको छ’,उनले भने, ‘नेपालमा यसको बजारका बारेमा हामी जानकार छौँ जस्तो लाग्छ । देशभरि हाम्रा डिलर र होलसेलर छन् । मार्केटिङको खासै समस्या छैन ।’कच्चा पदार्थ रबरमा आधारित उद्योग भए पनि यो टायर उद्योगबाट ध्वनि, दुर्गन्ध लगायतका कुनै पनि प्रकारको प्रदूषण नफैलने उद्योगका प्राविधिक परेश पटेलले बताए ।ग्रिन टायरको उत्पादनमा सफलता हासिल भएपछि सोही स्थानमा उनै भारतीय लगानीकर्ताको संयुक्त साझेदारीमै ब्याट्री र लुब्रिकेन्ट उद्योगको पनि स्थापना गरिने छ ।
 


Share this Story

   

निजी क्षेत्रको पहिलो टायर उद्योगले उत्पादन थाल्यो, ५० करोड लगानीको ग्रीन टायरको उत्पादन बजारमा को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.