बैंकिङ क्षेत्रमा विकृतीको चाङ : नाफा बढाउने सञ्चालकको दबाब थेग्न नसक्दा सिइओहरु जागिर छाड्दै




काठमाडौं। कार्यकाल तीन महिना बाँकी छँदै एनआइसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृतबाट लक्ष्मण रिसालले राजीनामा गरे। ब्याज दरका बिषयमा सञ्चालक समितिसँग कुरा नमिलेपछि रिसालले समय अगावै बैंक छाडे। माछापुच्छ्रे बैंकबाट निरज श्रेष्ठ पनि कार्यकाल बाँकी छँदै बाहिरिए। 

यो पनि पढ्नुस्: व्यापार विस्तारको दबाबमा कमसल ऋणको परिमाण थपिँदै, खराब कर्जा लुकाइँदै
 
यो पनि पढ्नुस्: 'एउटाले १० करोड नपत्याएको ऋणीलाई अर्को बैंकबाट २० करोड ऋण'

शशिन जोशीले पनि नबिल बैंकमा कार्यकाल पूरा नहुँदै बैंक छाडे। सेञ्चुरी कमर्सियल बैंकबाट अनुजमणि तिमिल्सिनाको विदाइ पनि सहज रुपमा हुन सकेन। ग्लोबल आइएमइ बैंकबाट अनिल ज्ञवालीको 'एक्जिट' स्वभाविक भएन। सिभिल बैंकबाट किशोर महर्जन पनि त्यसैगरी वाहिरिए।पछिल्लो ६ महिनाको अवधिमा पाँच जना राम्रा बैंकर किन वाहिरिए?
 
लामो अनुभव र बैंकिङ क्षेत्रमा राम्रो छवि बनाएका प्रमुख कार्यकारी अधिकृतहरु कार्यकाल पूरा नहुँदै बाहिरिएको मुद्दा बैंकिङ क्षेत्रमा अहिले पेचिलो बनेको छ। सबैभन्दा पारदर्शी र सुशासनमा रहेको भनिएको बैंकिङ क्षेत्रमा भित्रभित्रै विकृतीको चाङ लागेको छ। कुनै समय सबैभन्दा ग्ल्यामर रहेको बैंकको सिइओ अहिले सबैभन्दा चुनौतीले भरिएको पद बनेको छ। नाफाको तरबार टाउकोमा झुण्डाएर काम गर्न नसक्ने धमाधम वाहिरिन थालेका छन्।
 
पब्लिक’ कम्पनीमाथि सिमित संचालकको रजगजकै कारण डेपुटी प्रमुख कार्यकारी र त्यसभन्दा तलका विभागीय प्रमुखहरु पनि काम गर्न असहज भएको भन्दै अर्कोमा राम्रो होला भन्दै 'जम्प' गर्न थालेका छन्।
 
सञ्चालक समितिले दिएको लक्ष्य र आफ्नो काम गर्ने तौरतरिका बारेमा ब्यवस्थापन-बोर्डबीच सामान्य अनबन हुनु स्वभाविक हो। तर पछिल्लो समय उच्च व्यवस्थापन बैंक छाड्न वाध्य पारिन थालेका छन्। 
 
'प्रमुख कार्यकारीहरु कार्यकाल बाँकी छँदै धमाधम बाहिरिनु भनेको सञ्चालक समिति बढी हावी भइरहेका छन् भन्ने हो' लामो समय बैंकिङ क्षेत्रमा बिताएका सुमन जोशीले बिजमाण्डूसँग भने, 'पूँजी वृद्धिले शेयरधनीको ठूलो लगानी परेको छ। त्यसको प्रतिफल खोज्दा व्यवस्थापन दबाबमा परिरहेका छन्।'
 
तीन बर्षअघि राष्ट्र बैंकले चुक्ता पूँजी दुई बर्षमै चार गुणा बढाउनु पर्ने व्यवस्था गर्यो, त्यसको दबाब व्यापार विस्तारमा पर्यो। सञ्चालकले बैंकमा निशुल्क पैसा नहालेको भन्दै प्रतिफल नघटाउन दबाब दिएपछि सिइओमाथि नाफा बढाउनुपर्ने दायित्वको भार थपियो।
 
निक्षेप संकलन गरेर लगानी बढाउँदा सबै ठीक भएपनि पैसा अभावले थप लगानी गर्न नसक्ने अवस्था आएपछि नाफाको वृद्धि दरमा संकुचन देखिन थाल्यो। 'फलानो बैंकले राम्रो गरिरहेको छ, हाम्रो किन हुन सकेन भन्ने खालका दबाब सञ्चालक समितिबाट आउन थालेको छ' एक बैंकरले भने, 'त्यसपछि कि नमिल्ने ठाउँमा पनि ऋण बढाउनु पर्यो वा छाडेर हिँड्नु पर्यो।'
 
सञ्चालक समितिको अस्वभाविक दबाबका कारण संस्थागत सुशासन पालनामा समेत कठिनाइ उत्पन्न हुन थालेको छ। गर्ननै नमिल्ने विषय पनि केन्द्रीय बैंकबाट गराउन सकिन्छ भन्ने 'कन्फिडेन्स' लिएर हिँडेको प्रमोटर सदर फाइल बोकेर बाहिरिने अवस्था हुँदा 'सुशासन' मा 'कम्प्रोमाइज' गर्न नसक्नेहरु बाहिरिरहेका छन्। कतिपयले बोर्डलाई कुरा बुझाएर 'थामथुम' पारेर पनि राखेका छन्। 
 
'तपाई मिलाएर गर्नुस्, समस्या भए बोर्डले बाहिर मिलाउँछ भन्ने खालका कुराहरु पनि सञ्चालकहरुले गर्न थालेका छन्' एक प्रमुख कार्यकारी अधिकृतले भने, 'कतिसम्म भने तपाईले भनेजस्तो काम गर्नु भयो भने महिनाको एक लाख रुपैयाँ थपिदिन्छौं भन्नेसम्मको प्रस्ताव सञ्चालकहरुबाट हुन थालेको छ।'
 
यसलाई कतिपयले 'रिवार्ड' का रुपमा बुझेर काम गरिरहेका छन् भने कतिपय भने अब बैंकबाट बिदा हुनु पर्ने समय आएको भन्दै अर्को बैंकमा जागिर खोज्न दौडन थालेका छन्। कुलिङ पिरियडका कारण सिइओ अर्को बैंकमा जागिर खोज्ने अवस्थामा समेत छैनन्।
 
सञ्चालक समितिले पछिल्लो समय ऋण विस्तार गर्न कतिको दबाब दिइरहेको छ? र नमिल्ने ऋण पनि दिन भनिरहेका छन्? भनेर बिजमाण्डूले एक दर्जनजति बैंकका प्रमुख कार्यकारी अधिकृतहरु, पूर्व सिइओ र माथिल्लो ब्यवस्थापनसँग कुराकानी गरेको थियो।
 
अधिकांशले 'भ्यालुएसन' बढाएर ऋण विस्तारका लागि दबाब दिइने गरेको बताए। 'रिपेमेन्टका लागि अर्को ऋण सिर्जना गरेर पैसा दिनका लागि ठूलो दबाब आउने गरेको छ' एक प्रमुख कार्यकारी अधिकृतले भने। पुरानो ऋण तिर्न नयाँ ऋण दिने कारणले बैंकमा 'एभर ग्रिनिङ' मौलाएको शशिन जोशीले बताए।
 
बैंकरहरु पाँच/छ बर्ष अगाडिको जस्तो ऋण दूरुपयोग भएर संस्थागत सुशासन भङ्ग भएका घटना विस्तारै सार्वजनिक हुने बताउँछन्। 'नमिल्ने ठाउँमा पनि ऋण दिन व्यवस्थापन बाध्य हुने गरेको छ' ती बैंकरले भने, 'बोर्डमा एजेण्डा प्रमुख कार्यकारी वा कम्पनी सचिवले लैजाने होइन कि बोर्डले निर्णय गरेपछि व्यवस्थापनले थाहापाउने अवस्था आइसकेको छ।'
 
राष्ट्र बैंक उच्च नेतृत्वमा बैंकका सञ्चालकहरुको 'सहज पहुँच' का कारण पनि प्रमुख कार्यकारीहरुले 'अन इथिकल प्राक्टिक्स' भनेका कुराहरु सजिलै पारित भएर काम अगाडि बढेको अवस्था छ। 'यस्तो भएपछि सिइओले राष्ट्र बैंकमा गएर गुनासो गर्ने ठाउँसमेत रहँदैन' एक प्रमुख कार्यकारीले भने। 
 
बैंकहरुमा संस्थागत सुशासनको समस्या देखिन थालेको राष्ट्र बैंकलाई पनि अनुभव नभएको होइन। बैंकबाट सिइओहरु कार्यकाल नसकिँदै वाहिरिन थालेपछि केहीलाई बोलाएर कुराकानी गर्ने प्रयत्न राष्ट्र बैंकका अधिकारीहरुले व्यक्तिगत रुपमा गर्न खोजेका पनि छन्। तर औपचारिक रुपमा उनीहरुलाई बोलाउने र सञ्चालक समितिहरुसँग कुराकानी भने गरेका छैनन्।
 
'राष्ट्र बैंकका मान्छेले ब्यक्तिगत रुपमा कुराकानी गर्न खोजेका हुन्छन्। संस्थागत रुपमा कुराकानी गर्न खोजेको भए समस्या संबोधन होला भनेर विश्वास गर्न सकिन्थ्यो पनि होला' एक बैंकरले भने, 'चिनेजानेका आधारमा कुराकानी गर्दा उनीहरुलाई समस्या बताए पनि फाइदा हुँदैन।'
 
केही महिनाअघि एक जना माथिल्लो ब्यवस्थापकले जागिर छाड्ने थाहा पाएपछि राष्ट्र बैंकका एक अधिकारीले ती बैंकरलाई बोलाएर कुरा गर्न खोजेका थिए। राष्ट्र बैंकका अधिकारीले बैंक छाड्नुपर्ने कारण बुझ्न खोजेका थिए। जुन फाइल सदर गर्न राष्ट्र बैंककै अधिकारीहरुले दबाब दिएका थिए, त्यो फाइल सदर गर्न ती ब्यवस्थापक तयार थिएनन्। 'अनि राष्ट्र बैंकका मान्छेलाई भेटेर कुरा गर्नुको फाइदा नै छैन' ती बैंकरले भने, 'म भेट्न गइन। त्यसपछि उताबाट फलोअप पनि भएको छैन।'
 
राष्ट्र बैंकले औपचारिक कार्यक्रमहरुमा सञ्चालक समितिलाई चाँडो नाफा नखोज्न भने पनि व्यक्तिगत रुपमा उनीहरुकै कुरा राष्ट्र बैंकले सुन्ने गरेको बैंकरहरु बताउँछन्। 'हामीसँग दबाब सहनु हुँदैन र  बैंकिङ नियमभित्र बसेर काम गर्नुपर्छ भनेर राष्ट्र बैंकका अधिकारीहरुले भन्नुहुन्छ' ती बैंकरले भने, 'तर व्यवहारमा उहाँहरुको हिमचिम सञ्चालकहरुसँगै भइरहेको हुन्छ।'
 
बैंकरका अनुसार, राष्ट्र बैंकले बैंकका जबसम्म माथिल्लो व्यवस्थापनले किन जागिर छाडिरहेका छन्? सञ्चालक समितिको भूमिका कस्तो छ भनेर बास्तविक रुपमा बुझ्न चाहँदैन, त्यसबेलासम्म समस्या समाधान हुँदैन।
 
'विस्तारै बैंकबाट अनुभवी बैंकरहरु बाहिरिन्छन्। छोटो अवधिमै नयाँ मान्छेहरु नेतृत्वमा देख्न थालिन्छ' ती बैंकरले भने, 'जसले गर्दा सुशासनमा थप जटिलता थपिने छ। एकै पटक समस्या 'ब्रस्ट' हुने अवस्था आउँछ। त्यो बेला कसैले पनि धान्न नसक्ने अवस्था हुन सक्छ।'
 
बैंकलाई व्यवस्थापनले होइन सञ्चालक समितिले चलाउन थालेको हो? अर्को स्टोरीमा।


Share this Story

   

बैंकिङ क्षेत्रमा विकृतीको चाङ : नाफा बढाउने सञ्चालकको दबाब थेग्न नसक्दा सिइओहरु जागिर छाड्दै को लागी १ प्रतिक्रिया(हरु)

कामसा कार्की[ 2018-04-12 02:36:52 ]
यो लेख साह्रै चित्त बुझ्दो लाग्यो । राष्ट्र बैंकका हाकिमहरू संचालकहरू संग हिमचिम बढाएर आजभोली सिईओ हरूलाई दवाव दिन थालेका छन् । राष्ट्र बैंकका हाकिमहरूलाई असीमित अधिकार दिईएको छ र त्यो चरम दुरुपयोग हुदैछ । रोक्ने कुन माईकालाल ले ?

   हालसम्म १२० जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.