दर्जनभन्दा बढी चिनियाँ कम्पनीको आँखा टोखा-छहरे सुरुङमार्गमा, इपिसिएफ मोडलमा बनाउने प्रस्ताव




काठमाडौं। टोखा-छहरे सुरुङमार्ग निर्माणकालागि एक दर्जनभन्दा बढी चिनियाँ कम्पनीले प्रस्ताव गरेका छन्।


प्रतिकात्मक तस्विर

सरकारले सुरुङमार्ग कस्तो मोडलमा बनाउने भन्ने टुङगो नलगाउँदै सुरुङमार्ग निर्माण गर्न चिनियाँ एक दर्जनभन्दा बढी कम्पनी इच्छुक देखिएका हुन्।
सडक विभाग अन्तर्गतको वैदेशिक समन्वय महाशाखा प्रमुख सञ्जयकुमार श्रेष्ठले अनुसार यो सुरुङमार्ग निर्माणका लागि इच्छा राख्ने चिनियाँ कम्पनीहरु बढिरहेको जानकारी दिए। उनले सुरुङमार्ग कुन मोडलमा बनाउने भन्ने निर्णय सरकारको हातमा रहेको समेत बताएका छन्।

सबै चिनियाँ कम्पनीहरुले गरेको प्रस्तावमा प्रोक्योरमेन्ट, कन्स्ट्रक्सन एण्ड फाइनान्सिङ (इपिसिएफ)मोडलमा सुरुङमार्ग बनाउने भन्ने रहेको समन्वय महाशाखा प्रमुख श्रेष्ठले जानकारी दिए।इपिसिएफ मोडलमा कुनै आयोजना निर्माण गर्दा वित्तीय स्रोत निर्माण गर्ने कम्पनी आफैँले जुटाउनुपर्छ। निर्माण कार्य सम्पन्न भएर हस्तान्तरण भएपछि सरकार वा सम्बन्धित निकायले लागत रकम कम्पनीलार्इ दिन्छ। निर्माण कार्यमा गुणस्तरीयता कायम राख्न आयोजनाको सुपरिवेक्षण सम्बन्धित निकायले गर्ने प्रावधान हुने महाशाखाको भनार्इ छ।

चिनियाँ प्रस्तावमा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) पनि कम्पनी आफैँले बनाउने रहेको छ। एक बर्षमा डिपिआर निर्माण गर्ने र पाँच बर्षमा सुरुङमार्ग र सडक विस्तार सक्ने चिनियाँ प्रस्तावमा रहेको महाशाखा प्रमुख श्रेष्ठले बताए। सुरुङमार्गसँगै सरकारले ३४ किमी सडकको चारलेनमा विस्तार गर्ने योजना अघि सारेको छ।सुरुङमार्ग टोखाबाट नुवाकोटको थान्सिङ फाँटमा निस्कने छ।

यो करिव ४ किमी लामो हुने छ। थान्सिङ फाँटबाट रसुवागढीतर्फ ३४ किमी सडक चार लेनमा विस्तार गरी नुवाकोटको गँगटे पुग्ने छ।जहाँ निर्माणाधीन गल्छी-त्रिशुली-वेत्रावती-मैलुङ-रसुवागढी सडकमा जोडिने छ । आगामी एक महिनाभित्र यो सडक निर्माण सकेर सरकारलार्इ हस्तान्तरण गर्ने लक्ष्यका साथ कामलाइ अन्तिम चरणमा पुर्याएको नेपाली सेनाले जनाएको छ।

प्रदेश सभा र प्रतिनिधी सभामा वाम गठबन्धन झण्डै दुर्इ तिहार्इ मत सहित विजय भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पुस ४ गते रसुवागढी पुगेर निर्माणाधीन गल्छी-त्रिशुली-वेत्रावती-मैलुङ-रसुवागढी दुर्इ लेन सडकलार्इ चार लेनको बनाउने घोषणा गरेका थिए। उनै ओली अहिले प्रधानमन्त्री बनेका छन्।

उनले वामपन्थी सरकार बनेसँगै रसुवागढी हुँदै केरुङको रेल काठमाडौ ल्याउने कार्य थाल्ने बताएका थिए। चीनले पनि सिगात्से हुँदै केरुङसम्म रेल ल्याउने योजनाका साथ काम गरिरहेको छ। उनको चीन भ्रमणका क्रममा रेलमार्गसंगै सुरुङमार्गको पनि सम्झौता हुन सक्ने बतार्इएको छ।सुरुङमार्ग र  सडक निर्माण भए चीनसँग सबैभन्दा नजिकको भरपर्दो मार्ग निर्माण हुने छ भने चिनियाँ बोर्डरसम्म पक्की सडक सञ्जाल हनेछ।

सुरुङमार्ग र सडक चारलेनमा बने चिनियाँ नाकाबाट मालवाहक ट्रकहरु साढे दुर्इ घण्टामै काठमाडौं आइपुग्ने छन्। चीनबाट नेपाल आयात हुने सामानहरु अहिले भारत हुँदै ल्याउनुपर्ने बाध्यता रहेको छ। चीनबाट हिडेको एक सातामा भारतका ड्रार्इ पोटहरुमा समस्या खेप्दै सामानहरु आयात हुने गर्दछ।यो नाकासम्म चार लेनको सडक तथा चीन-नेपाल जोड्ने रेल परियोजना बने  सामान आयात सहज र सस्तो हुने छ भने भारततर्फको निर्भरता ७० प्रतिशत घट्ने छ।

चिनियाँ प्राथमिकतामा रसुवागढी नाका
चीन सरकारले नेपाल जोड्ने नाकामध्ये रसुवागढी नाकालार्इ प्राथमिकतामा राखेको छ। भुकम्पले क्षति पुर्याएर तातोपानी नाका बन्द भएपछि यो नाका सञ्चालनमा आएको हो।

विज्ञहरुका अनुसार चीन सरकारले यो नाकालार्इ अन्तराष्ट्रियस्तरको बनाउन चाहेको छ। नेपाल चीन जोड्ने केरुङ-काठमाडौं रेल परियोजना निर्माणका लागि चीन सरकारले नेपालसँग प्रस्ताव माग्नुले पनि यो नाका चीनको प्राथमिकतामा रहेको प्रष्ट हुन्छ। चीन सरकारको अनुदानमा रसुवाको टिमुरेमा सुक्खा बन्दरगाह निर्माण प्रकिया अघि बढिसकेको छ। त्यस्तै चीन सरकारले रसुवागढी नाकाबाट नेपाल तर्फको १६ किमी सडक दुर्इ लेनमा ‍पक्की सडक बनाउन सम्झौता सकेर निर्माण समेत अघि बढाइसकेको छ।



Share this Story

   

दर्जनभन्दा बढी चिनियाँ कम्पनीको आँखा टोखा-छहरे सुरुङमार्गमा, इपिसिएफ मोडलमा बनाउने प्रस्ताव को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.