कर प्रशासक भन्छन्- ‘ठूलो समूह करको दायरामा आएको छैन, तपार्इँहरुको सहयोग आवश्यक छ’

बिजमाण्डू
२०७४ चैत्र ९ गते २१:४२ | Mar 23, 2018
विराटनगर ।करको दायराबाट बाहिर रहेका व्यापारीको संख्या बढी रहेको कर अधिकारीलेनै बताएका छन्।

Tata
GBIME
Nepal Life


नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश १ ले आयोजना गरेको करसम्बन्धी तीन दिने तालिममा आन्तरिक राजस्व विराटनगरका प्रमुख दिलीप गौतमले करको दायरामा आउन नसकेको क्षेत्र र समूह अझै ठूलो भएको बताए।कर तिर्नेहरूले नतिर्ने व्यवसायी र प्रतिष्ठानको नाम कार्यालयमा सूचित गरिदिन प्रमुख गौतमले आग्रह गरे ।
 
उनले भने, ‘करको दायरामा नआउनेको जमात अझै ठूलो छ । कर तिर्ने र नतिर्ने व्यवसायीको लागत र विक्री मूल्यमा फरक पर्छ । कर नतिर्ने व्यवसायी अवैध धनले मोटाउँदै गएको हुनसक्छ । त्यसैले आफू प्रतिस्पर्धी हुन तथा व्यवसायलाई मर्यादित बनाउन पनि कर नतिर्नेको सूचना दिनु राम्रो हुन्छ ।’
उनले करको दर नभई दायरा बढाउने राजस्व प्रशासनको नीति रहेको स्पष्ट पारे ।
 
सामान्य लेखपढ गर्न जान्नेले पनि करको प्रक्रिया बुझ्ने हिसाबले सिस्टम बनाइएको दाबी गर्दै प्रमुख गौतमले जानकार करदाता पनि कुनै अडिटर वा सहयोगीको भरमा पर्नु नहुने आग्रह गरे ।‘ती अडिटर वा सहयोगीले ग्राहकलाई कहिल्यै सिकाउँदैनन्’, उनको भनाइ थियो, ‘त्यसैले करसम्बन्धी शिक्षा र सूचना आफैँले सिक्नु आवश्यक छ ।’
 
पढेलेखेका व्यवसायी पनि खाता राख्ने, इन्ट्री गर्ने, बिल काट्ने आदि कुरामा चुक्ने गरेको उल्लेख गर्दै कानुनी प्रावधान थाहा नपाएर पहिले गल्ती भएपनि विस्तारै सच्चिने वातावरण बन्ने उनले बताए।उनले कर तिर्न कार्यालय धाउनुपर्ने झझण्ट अन्त्य भएको बताउँदै अनलाइनबाट कर तिर्न सकिने बताए।
 
विराटनगरका विभिन्न उद्योग र व्यापारिक प्रतिष्ठानका लेखा समूहका ४० कर्मचारी सहभागी भएको तीन दिने तालिमको उद्घाटनमा महासङ्घका केन्द्रीय सदस्य अविनाश बोहरा र महासङ्घको प्रदेश १ का कार्यवाहक अध्यक्ष राजेन्द्र राउतले पनि करदाता शिक्षाको महत्त्वका बारेमा आआफ्नो मन्तव्य प्रकट गरेका थिए ।