अब सिडिएससीले शैक्षिक प्रमाणपत्र पनि डिम्याट गर्ने, नक्कली प्रमाणपत्रको समस्या हल गर्ला!

बिजमाण्डू
२०७४ चैत्र ९ गते १४:५८ | Mar 23, 2018

काठमाडौँ। केन्द्रीय निक्षेप प्रणालीले शैक्षिक प्रमाणपत्र पनि अभौतिक गर्ने भएको छ। त्यसकालागि "नेशनल एकेडेमिक डिपोजिटरी सिस्टम"को विकास भैरहेको केन्द्रीय निक्षेप प्रणाली(सिडिएससी)का प्रमुख कार्यकारी अधिकृत देवप्रकाश गुप्ताले जानकारी दिए।

Tata
GBIME
Nepal Life

गुप्ताका अनुसार हाल विद्यालय, विश्वबिद्यालयका सम्बन्धित परीक्षा नियन्त्रण कार्यालयले उपलब्ध गराउँदै आएको भौतिक प्रमाणपत्रहरु अभौतिक हुने छ। हाल शैक्षिक संस्थामा अध्यनरत विद्यार्थीहरुले अध्ययन पश्चात प्राप्त गरेको शैक्षिक योग्यताका आधारमा प्रमाणपत्र पाउने गरेका छन्।

विद्यार्थीले भौतिक रुपमा कागजी प्रमाणपत्र पाउँछन् जुन ‍लामो समय राख्दा च्यातिने हराउने समस्या हुने गरेको छ। शैक्षिक प्रमाणहरु अभौतिक भएपछि त्यो समस्या हटेर जाने गुप्ताको भनाइ छ।

पहिलो चरणमा शैक्षिक प्रमाणपत्र उपलब्ध गराउने सम्बन्धित निकायसँग सिडीएससीले समन्वय गर्ने जनाएको छ। क्रमिक रुपमा हालसम्म वितरण भएका सबै शैक्षिक प्रमाणपत्रहरुलाई अभौतिक गरिने गुप्ताको भनाई छ।

अहिले भौतिक रुपमा भएका शेयरका प्रमाणपत्रहरुलाई जसरी सिडीएससीले अभौतिक गरेको छ। त्यसैगरी शैक्षिक प्रमाणपत्रहरु पनि अभौतिक गरिने गुप्ताले बताए।

गुप्ताका अनुसार हाल विकास भैरहेको "नेशनल एकेडेमिक डिपोजिटरी सिस्टम"मा कुनै पनि व्यक्तिले खाता खोल्न पाउने छन्।

खातामा प्रत्येक ब्यक्तिले आफ्ना शैक्षिक प्रमाणपत्रहरुलाई अभौतिक गरी राख्ने सुविधा उपलब्ध हुने छ। खाताबाहकले अभौतिक शैक्षिक प्रमाणपत्रको बदलामा एउटा कोड पाउने छन्। जसका आधारमा आवश्यकता अनुसार उपब्ध गराउनुपर्ने ठाउँमा भौतिक प्रमाणपत्रको ठाउँमा कोड पठाउन सक्ने छन्।

त्यहि कोड मार्फत माग गर्ने निकायले अभौतिक प्रमाणपत्रहरु प्राप्त गर्न सक्ने छन्। जसले समयको बचतका साथै प्रतिलिपि बनाउनुपर्ने झन्झट पनि हुने छैन।

पछिल्लो समय धेरै ठाउँमा कामकालागि अनलाइन निवेदन दिनुपर्ने ब्यबस्था गरिएको छ। जसमा हाल शैक्षिक प्रमाणपत्रलाई स्क्यान गरेर पठाउने प्रचलन छ। त्यसमा नक्कली हुने सम्भावना रहन्छ। तर अभौतिक गरिएको प्रमाणपत्रहरुमा नक्कली हुने सम्भावना नरहने उनले बताए।

हाल जन्म मिति र शैक्षिक प्रमाणपत्रहरु नक्कली भएको विवाद धेरै आउने गरेका छन्। तर अभौतिक भएपछि यस्ता समस्यानै नहुने गुप्ताको तर्क छ।
पहिलो चरणमा हाल शेयरमा भए जस्तै अभौतिक प्रक्रिया हुने छ। भौतिक शेयर राख्न चाहनेले भौतिकनै राखेका छन्। दोस्रो बजारमा कारोबार गर्नेले शेयर अभौतिक गराएका छन्। त्यस्तै ब्यबस्था शैक्षिक प्रमाणपत्रमा पनि हुने उनले बताए।

भौतिक राख्नेले पनि भौतिक नै राख्न पाउने छन् भने आवश्यकता हुनेले अभौतिक गराउन सक्नेछन्। यो बाध्यकारी र अनिवार्य भने नहुने गुप्ताले बताए।                       

बिश्व अहिले प्रविधिमैत्री बन्दै गएको छ। अन्तराष्ट्रिय कलेजहरुमा बिद्यार्थीले शैक्षिक प्रमाणपत्रहरु अभौतिक लिने प्रचलन छ। सोही प्रचलन अनुसार बिद्यार्थीहरुले प्रमाणपत्रहरु स्क्यान गरेर पठाउने गर्छन्। तर अभौतिक भएमा सिधै कोड पठाउन मिल्ने छ। प्रमाणपत्रलाई जुनसुकै देशको अभौतिक प्रमाणपत्र स्वीकार गर्ने सिस्टमले पनि लिनेगरी विकास गर्न लागिएको गुप्ताले बताए।