रिलायन्स सुगर मिलले नेपाली किसानलाई उखु रोप्न लगाएर भारतबाट भित्र्यायो, भुक्तानीमा ढिलाइ

बिजमाण्डू
२०७४ चैत्र ९ गते ०९:३६ | Mar 23, 2018
रिलायन्स सुगर मिलले नेपाली किसानलाई उखु रोप्न लगाएर भारतबाट भित्र्यायो, भुक्तानीमा ढिलाइ


वीरगंज। बाराको मनहर्वामा रहेको  रिलायन्स सुगर एन्ड केमिकल प्रालिले भारतीय उखु सस्तो दाममा खरिद गर्न थालेपछि नेपाली उखु कृषक मर्कामा परेका छन्। उद्योगले एक त किसानलाई चलान दिन आलटाल गरेको छ, अर्कोतिर भारतबाट सस्तो दाममा उखु किन्न थालेको उखु किसान संघर्ष समिति पर्साका अध्यक्ष सहरुम राउत गद्दीले गुनासो गरे। यसरी रिलायन्स चिनी मिलको अनियमितताको कारण पर्साका करिब साढे ३ हजार उखु कृषकलाई डुबाउने काम भएको उनको आरोप छ।


 
चिनी मिलले दलाल लगाएर प्रति चलान १ हजार रुपैयाँ पनि असुली गर्न लागेको तथ्य फेला परेको उनको भनाई छ। यसरी चलान वितरणमा दलाल लगाएपछि वास्तविक किसानले निशुल्क रुपमा पाउनु पर्ने चलानबाट बञ्चित बनेका छन्।
 
पर्सामा यसपाली ४ हजार बिघामा उखुखेती भएको र ४० प्रतिशत उखु किसानको खेतमै सुक्न थालेको किसानहरुको भनाई छ। उखु खेती गर्ने बेलामा किसानहरूको घरघरमा पुगी खेती गर्न प्रोत्साहन गर्ने कम्पनीले उखु कटानीको समयमा चलान वितरणमा प्रबन्धक अरविन्द बर्माले अनियमितता गरको किसानहरुले बताएका छन्। 
 
चिनी मिलले भारतबाट करिब ६ लाख क्विन्टल उखु प्रति क्विन्टल ४ सयको दरमा खरिद गरी क्रसिग गरिरहेको छ। यता, नेपाली उखु किसानको उखु प्रति क्विन्टल ५ सय ३१ रुपैयाँको दरमा खरिद गर्ने सम्झौता छ।
 
साथै उखु मिलमा पुगेपछि १५ दिनपछि भुक्तानी दिने सम्झौता रहेता पनि उखुको भुक्तानी नदिएको उखु किसान संघर्ष समिति पर्साका अध्यक्ष गद्दिको अरोप छ। यस विषयमा स्थानीय प्रशासन तथा मुख्यमन्त्रीसमक्ष ज्ञापनपत्र बुझाए पनि कुनै कारबाई नभएको उनले दुखेसो पोखे। 
 
व्यवस्थापन पक्ष चैत २५ गते मिल बन्द गर्ने तरखरमा छ, यदि किसानका उखु उठेन भने पर्साका करोडौ रुपैयाको उखु बर्बाद हुने छ। रिलायन्सले  पोखरिया, सबैठवा, बिन्दवासिनी, मनहर्वा र मिलनचोक गरी पाँच ठाउँमा उखु सङकलन केन्द्र राखेको र सो ठाउँबाट नै भारतीय उखु खरिद गर्ने गरेको किसानले बताएका छन्। भारतीय उखु भारतीय सीमा नाकाको बाटो पर्सा, बारा भित्रेर मिलसम्म पुग्ने गर्छ। भारतीय उखु ठुलो परिमाणमा भित्रिन थाल्दा पनि प्रहरी, प्रशासन तथा राजनीतिक दलका अगुवा यस विषमा मौन छन्।

Tata
GBIME
Nepal Life