रुपन्देही।एसियाली विकास बैंक (एडीबी)ले निर्माणाधिन गौतमबुद्ध विमानस्थललार्इ दिँदै आएको ऋणलार्इ निरन्तरता दिन सहमत भएको छ।
एडीबीका नेपालस्थित आवासीय मिसन प्रमुख मुख्तोर खामुदखानोभसहितको टोलीले विमानस्थलको स्थलगत अनुगमनपछि ऋण निरन्तरता दिन सहमत भएको हो।गत डिसेम्बरमा एडीबीले विमानस्थल निर्माण सुस्त भएको जनाउँदै ऋण रोक्ने चेतावनी दिएको थियो।
‘खामुदखनोभले अहिलेको प्रगति सन्तोषजनक भन्दै ऋणलार्इ निरन्तरता दिने बताउनुभएको छ’ आयोजना प्रमुख ओम शर्माले बिजमाण्डूसँग भने,जुनसम्म विमानस्थलको प्रगति ५० प्रतिशत पुर्याउनुपर्ने शर्त राखिएको छ।‘अहिले विमानस्थलको निर्माण ३५ प्रतिशत मात्रै सकिएको छ।खामुदखानोभ विमानस्थल निर्माणको अहिलेको प्रगतिप्रति पनि सन्तुष्ट भने देखिएनन्।उनले विमानस्थलमा भएको ढिलार्इ बारेमा सरकारसँग पनि छलफल गर्ने बताए।
तर शर्मा भने चिनियाँ ठेकेदार कम्पनी नर्थ वेष्ट सिभिल एभिएसनले अहिले कामलाई द्रुत गतिमा अघि बढाएको बताउँछन्।गत भदौ यता काममा सुधार आएको र अहिले अनुगमन गर्दा काम भई रहेको देखेर एडिबीका कर्मचारी पनि सकरात्मक देखिएको उनले बताए।अहिले निर्माणाधिन विमानस्थलमा चिनियाँ व्यवस्थापक फेरेपछि काम निरन्तर भइरहेको र असार भित्र परीक्षण उडान गराउने लक्ष्यसहित काम अघि बढाएको शर्माको दाबी छ।
विमानस्थल निर्माण सुस्त भएको भन्दै डिसेम्बर १९, २०१७ मा खामुदखानोभले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमको नाममा पत्र पठाउँदै ऋण रोक्ने चेतावनी दिएका थिए।
दुई पाना लामो पत्रको आशय थियो अहिलेकै प्रगतिको अवस्था कायम रहे गौतम बुद्ध विमानस्थल निमार्णका लागि थप ऋण लगानी गर्न नसकिने उल्लेख थियो।खामुदखानोभले पत्रमा लेखेका थिए, 'नोभेम्बर १ देखि १५ सम्ममा आयोजनाले ४ प्रतिशत प्रगति हासिल गर्ने लक्ष्य राखिएकोमा जम्मा ०.५ प्रतिशत र नोभेम्बरमा ६.५ प्रतिशत प्रगति गर्ने लक्ष्य राखिएकोमा जम्मा ०.९ प्रतिशत मात्रै प्रगति हासिल भएको छ।'
यस्तै उनले थपेका छन्, '२०१७ को अप्रिलदेखि डिसेम्बरसम्ममा ५.३ प्रतिशत प्रगति देखिएको छ, यो अवधिमा ४९ प्रतिशत प्रगतिको लक्ष्य राखिएको थियो। यस्तो अवस्थामा डिसेम्बरसम्ममा प्रगति सन्तोषजनक नभए थप ऋण दिन सक्ने अवस्था रहँदैन।'