एनएसीमा पाइलट अभाव, चिनियाँ चार वटा जहाज विमानस्थलमा थन्किए, पाइलटको जागिर खानै आएनन्

रासस
२०७४ चैत्र ५ गते १६:५३ | Mar 19, 2018

काठमाडौँ। विमान चालक (पाइलट) अभावका कारण राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का साना विमान त्यतिकै थन्किएका छन् ।

Tata
GBIME
Nepal Life

निगमले आन्तरिक उडानका लागि चीनबाट ल्याएका चार वटा वाई–१२ विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थन्किएका हुन् ।नियमित व्यावसायिक उडानमा हुनुपर्ने विमानबाट उडान हुन् नसक्दा निगमलाई निकै ठूलो आर्थिक भार पर्न गएको छ ।पाइलट अभावले उडान भर्न नसकेका विमानलाई नियमित सेवामा लैजान आवश्यक तयारी भइरहेको  निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठले जानकारी दिए।

“विमान सञ्चालनका लागि हामीले पाइलको व्यवस्था गर्दैछौँ स्वदेशी तथा विदेशी पाइलट नियुक्ति गरेर चाँडै विमान सञ्चालनमा ल्याउछौ,”–उनले भने। पाइलट अभावले निगम चीनबाटै पाइलट ल्याउने तयारीमा रहेको भए पनि सेवा सुविधाबारे कुरा मिलिनसकेकाले अझै छलफल चलिरहेको छ । निगमसँग अहिले चिनियाँ जहाज उडाउन सक्ने पाइलट एकजना मात्रै रहेकामा उनी पनि विरामी भएपछि एक सातादेखि चार चिनियाँ जहाज उड्न सकेका छैनन् ।

यसअघि पोखरा, भरतपुर र सिमरामा उडान गर्दै आएका वाई १२ एक साता यतादेखि पाइलट अभावका कारण उडान नगरी बसेका छन् । झण्डै एक महिना अघि भित्रिएका थप दुई चिनियाँ वाई–१२ का लागि पाइलट अभाव रहेको निगमको भनाइ छ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले चिनियाँ कम्पनीका दुईवटा विमान भित्र्याएको थियो ।

अहिले निगमसँग चार वाई १२ सहित आन्तरिक उडानमा आठवटा जहाज छन् । निगमले काठमाडौंबाट सिधा छ र विराटनगर तथा नेपालगञ्जबाट अन्य ११ भन्दा बढी गन्तव्यमा आन्तरिक उडान भर्दै आएको छ ।

त्रिचालिस पाइलट माग: निवेदन अति न्यून
निगमले पाइलट अभाव पूर्ति गर्न हालै ४१ जना पाइलटको विज्ञापन माग गरेपनि अहिलेसम्म ११ जनाले मात्र निवेदन दिएका छन् ।

आन्तरिक उडानका लागि ल्याइएका चिनीयाँ विमान उडाउन पनि समस्या भएपछि निगमले सार्वजनिक सूचना प्रकाशित गर्दै सञ्चालनमा रहेका विभिन्न जहाजका लागि करारमा आवेदन माग गरेको थियो ।

अहिलेसम्म ११ जनाको मात्र निवेदन परेको र अझै केही दिनमा बढ्नसक्ने निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारले बताए । निगमका प्रवक्ता श्रेष्ठले पछिल्ला दिनमा पनि निवेदन परेकाले यो संख्या बढ्नसक्ने जानकारी दिए।महाप्रबन्धक कंसाकारले अहिले निगममा आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका लागि करिब ७० जना मात्र पाइलट रहेको जानकारी दिए।

असारको दोस्रो साता वाइड बढी भित्रिने
निगमले अबको तीन महिनाभित्र थप दुई वाइड बढी विमान अन्तर्राष्ट्रिय उडानका लागि भित्र्याउँदैछ । हाल विभिन्न मुलुकका आठ गन्तव्यमा एक बोइङ एसिबी–५७५ र दुई एयरवस ए–३२० विमानबाट अन्तर्राष्ट्रिय उडान निगमले भर्दै आएको छ ।

आगामी असारको दोस्रो साता (जुनभित्र) वाइड बढी विमान नेपाल भित्रिने निगमका महाप्रबन्धक कंसाकारले बताए।निगमले बढीमा दुई वर्षसम्मका लागि एयरबस ३३० का लागि छ जना पाइलट माग गरेको छ । त्यस्तै एयरबस ३२० का लागि दुई वर्षसम्म चार जना पाइलट, बोइङ ७५७ का लागि छ महिनादेखि एक वर्षसम्म छ जना पाइलटको आवेदन माग गरेको छ । अन्तर्राष्ट्रिय उडानबाहेक आन्तरिक उडानका लागि पनि निगमले करारमा पाइलट माग गरेको हो ।
   
 बढीमा पाँच वर्षसम्म एमए ६० का लागि चार जना, पाँच वर्षसम्मकै लागि वाई १२ मा ११ जना पाइलट माग गरेको निगमले जनाएको छ । त्यस्तै एयरबस ३३० र बोइङ ७५७ का लागि समान छ जनाको पाइलटको पनि निगमले आवेदन मागेको छ । इच्छुक व्यक्तिले उडान अनुमतिको लाइसेन्स, प्रमाणपत्रसहितको आवेदन इमेल गर्नसक्ने निगमको सूचनामा भनिएको छ ।