पश्चिमा देशहरुको नक्कल गर्दागर्दै चीनले प्रविधिमा फड्को मार्यो, ‘इमिटेटर’ बाट ‘इन्नोभेसन’ तिर

बिजमाण्डू
२०७४ चैत्र ५ गते १२:२१ | Mar 19, 2018

केही दशक अघिसम्म चीन प्रविधिको क्षेत्रमा सिक्ने क्रममा थियो। धेरैजसो चिनियाँ टेक्नोलोजी कम्पनीहरु पश्चिमी देशका 'टेक प्रोडक्ट' कपी गर्थे। उनीहरु आफ्नै इन्नोभेसन तथा प्रविधिको विकास भन्दा पनि अन्य देशले सिर्जना गरेका उत्पादनहरुको नक्कल गरी त्यस्तै सामाग्री आफुले पनि उत्पादन गर्थे।

Tata
GBIME
Nepal Life

तर पछिल्लो समयमा चीनले प्रविधिको बजारमा निकै ठूलो फड्को मारिसकेको छ। सरकारले पनि यो क्षेत्रमा ठूलो लगानी गरेर टेक सेक्टरलाई बिश्व बजारमा दह्रो रुपमा उभ्याउन प्रयास गरिरहेको छ। प्राविधिक शिक्षामा गरेको ठूलो लगानीले अब चीन प्रविधिको नक्कल गर्ने ‘इमिटेटर’ भन्दा पनि ‘इन्नोभेटर’का रुपमा उदाइसकेको छ।

हालका दिनमा चीन फिनटेक, बायोटेक तथा मेशिनरी उत्पादनका क्षेत्रमा ग्लोबल लिडर बनेको छ। यहाँसम्म आइपुग्न चिनियाँ सरकारको ठूलो लगानी तथा इन्टरनेट कम्पनीहरुको बिस्तारको प्रमुख योगदान देखिन्छ।

चीनको इन्टरनेट बजार गत वर्षको तुलनामा ६.२ प्रतिशतले बढेको छ। चीनको नेटवर्क इन्फरमेशन सेन्टरको तथ्यांक अनुसार हाल चीनमा इन्टरनेटको पहुँच ९५ प्रतिशत रहेको छ।

चीनलाई प्राविधिक क्षेत्रमा बिकास गर्नुपर्ने दबाब मध्यम बर्गको बिस्तारले पनि जन्माएको हो। मध्यम बर्गको बिस्तारसँगै ती वर्गले इन्नोभेटिभ उत्पादन तथा सेवाको माग बढाइरहेका कारण चीनमाथि यो क्षेत्रमा नयाँ सिर्जना तथा  उत्पादनको दबाब परिरहेको छ।

चीनको बजारमा हाल प्रविधिको बिकासकालागि दक्ष जनशक्तिको दह्रो उपस्थिती छ। केही वर्ष यता बिज्ञान तथा प्रविधिको क्षेत्रमा चीनले ठूलो खर्च गरी जनशक्ति उत्पादन तथा आपूर्ति गरिरहेको छ। चीनले भविष्यको मागलाई समेत ध्यानमा राख्दै ठूलो मात्रामा जनशक्ति उत्पादनमा लागिपरेको हो।

सरकारले प्रविधिका क्षेत्रमा गरिरहेको आर्थिक सहायताले पनि टेक कम्पनीहरुले आफ्नो पूर्वाधार तथा क्षमता बढाउन मद्दत पुगेको छ। चीनको सरकारले प्रविधिको क्षेत्रमा  लगानीमैत्री नीतिहरुमात्र बनाएको छैन सरकारले नै ठूलो धनराशी खर्चिरहेको छ।

सरकारले सेमिकन्डक्टर क्षेत्रलाई अघि बढाउन गरेको लगानीले चीनले सेमिकन्डक्टर उत्पादनमा अमेरिकालाई धेरै पछि छोडिसकेको छ। चीनले सन् २०२५ सम्ममा सेमिकन्डक्टर क्षेत्रमा १५० अर्ब डलर लगानी गर्नै  घोषणा समेत गरिसकेको छ।

यति ठूलो अनुदानले चीनको सेमिकन्डक्टर क्षेत्रमा ठूलो फड्को मार्नेमा चीन बिश्वस्त छ। अहिले पनि कम्प्यूटर चिप्सहरुको उत्पादनमा सरकारले ठूलो चासोका साथ विकास र लगानी गरिरहेको छ। यसैगरी चीन सरकारको गरिरहेको आक्रमक लगानीले  चीनलाई  प्रविधिको क्षेत्रमा 'ग्लोबल प्लेयर' बनाउने निश्चित भएको विश्लेषण हुन थालेको छ।

चीनको फिनान्सियल टेक्नोलोजी (फिनटेक) मार्केट विश्वकै सबैभन्दा ठूलो बजार भैसकेको छ। ठूला ठूला उद्योगहरुको मर्जर तथा एक्विजिसनले चीनका फिनटेक जायन्टहरुलाई आफ्नो अन्तराष्ट्रिय बजार बढाउन सहज बनाइरहेको छ।

चीनका तीन ठूला इन्टरनेट कम्पनीहरु बाइडु, अलीबाबा तथा टेनसेन्टको बिश्व बजारमा रहेको उपस्थितीले चीनलाई निकै ठूलो प्लेयरका रुपमा उभ्याइदिएको छ। अलिबाबाले आफ्नो बजारलाई दक्षिणपूर्बी एशिया, भारतदेखि कोरियासम्म फैलाइसकेको छ।

यसैगरी ‘वी च्याट’ एप भएको टेनसेन्टले ‘स्न्याप च्याट’मा पनि लगानी गरको छ। बाइडुले पनि बिदेशी बजारमा मेशिन लर्निङ र आर्टिफिसियल इन्टेलिजेन्सका लागि ख्याति पाइसकेको छ। यस्तै चीनको बायोटेक कम्पनी सिनोभाक पनि अमेरिकामा लिस्टिङ भैसकेको कम्पनी हो। चिनियाँ टेक मार्केटलाई यस्ता कम्पनीहरुले  ग्लोबल बन्न मद्दत गरिरहेको छ।