जथाभावी जग्गा प्लटिङमा रोक, जग्गा कारोबारीले क्षेत्रफल अनुसार नगरपालिकामा धरौटी राख्नुपर्ने

बिजमाण्डू
२०७४ चैत्र ३ गते १९:५६ | Mar 17, 2018
जथाभावी जग्गा प्लटिङमा रोक, जग्गा कारोबारीले क्षेत्रफल अनुसार नगरपालिकामा धरौटी राख्नुपर्ने
रुपन्देही। तिलोत्तमा नगरपालिकाले जथाभावी जग्गा प्लटिङमा रोक लगाएको छ । नगर कार्यपालिकाको १७ औं बैठकले जग्गा विकास तथा प्लटिङ सम्बन्धी मापदण्ड–२०७४ पारित गर्दै नगरपालिकाको पूर्व–स्वीकृतिविना जग्गा प्लटिङमा रोक लगाएको हो । 
 

मापदण्ड ‘तिलोत्तमा राजपत्र’ मा प्रकाशित भएपछि कार्यान्वयमा आउनेछ । स्थानीय सरकार सञ्चालन ऐन–२०७४ को दफा २७ को उपदफा (३) अनुसार नगरपालिकाले जग्गा विकास तथा प्लटिङ सम्बन्धी मापदण्ड ल्याएको हो ।
 
उपदफा (३) मा ‘गाउँपालिका तथा नगरपालिकाको पूर्व स्वीकृति नलिई भवनका लागि जग्गाको खण्डीकरण वा प्लटिङ गर्न पाइने छैन’ भन्ने उल्लेख छ । मापदण्डमा नगरपालिकाले निकट भविष्यमा ल्याउने भू–उपयोग योजनाको भावना विपरीत हुनेगरी कुनै पनि प्लटिङ स्वीकृत नदिइने उल्लेख छ ।
 
मापदण्डमा जग्गा प्लटिङ गर्दा क्षेत्रफलअनुसार खुला ठाउँ तथा पार्कका लागि आवश्यक जग्गा सार्वजनिक स्वामित्वमा राख्नुपर्ने उल्लेख छ । नयाँ सडकको चौडाई  कम्तिमा ३० फुट हुनुपर्ने निर्णय यसअघि नै गरेको नगरपालिकाले पारित गरेको मापदण्डमा जग्गा प्लटिङ गरी कारोबार गर्न चाहने व्यक्ति, फर्म वा संस्थाले जग्गाको क्षेत्रफलअनुसार नगरपालिकामा धरौटी राख्नुपर्ने व्यवस्था पनि गरेको छ ।
 
जग्गा विकास गर्नेले सडक कालोपत्रे, विद्युत्को खम्बा तथा तार, ढलका साथै खानेपानीको लाईनलगायका पूर्वाधार आफैंले निर्माण गर्नुपर्ने व्यवस्था मापदण्डमा गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले जानकारी दिए  । मापदण्ड विपरीत प्लटिङ गरेमा उक्त प्लटिङ क्षेत्रको जग्गा रोक्का राख्न सकिने मादण्डमा उल्लेख छ । 
 
जथाभावी प्लटिङले विकासका पूर्वाधार सबै परिवारमा पुर्याउन समस्या भैरहेको बेला नगरपालिकाले पूर्व–स्वीकृतिविना जग्गा प्लटिङमा रोक लगाएको हो । 
 
 
 

Tata
GBIME
Nepal Life