तनहुँ जलविद्युत आयोजनाले प्रभावितलाई दिएको तालिम सम्पन्न, आयोजना निमार्ण छिट्टै अघि बढ्ने

बिजमाण्डू
२०७४ चैत्र २ गते १५:३० | Mar 16, 2018
तनहुँ जलविद्युत आयोजनाले प्रभावितलाई दिएको तालिम सम्पन्न, आयोजना निमार्ण छिट्टै अघि बढ्ने

काठमाडौं। १४० मेगावाटको तनहुँ जलविद्युत आयोजनाले आयोजना प्रभावितलाई दिएको निशुल्क सीपमूलक तालिम सम्पन्न भएको छ। आयोजनाको प्रवर्द्धक कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडले गत कात्तिकबाट पहिलो चरणमा ६० जना आयोजना प्रभावितलाई इलेक्ट्रिसियन (हाउस वायरिङ) र प्लम्बिङको  तालिम दिन सुरु गरेको थियो। तनहुँ प्राविधिक शिक्षालय भिमादमा सञ्चालन भएको  तालिममा इलेक्ट्रिसियनमा दुई समूह र प्लम्बिङमा एक समूह थिए। तालिमको अवधि ९० दिन अर्थात ३९० घण्टा थियो।

Tata
GBIME
Nepal Life

शुक्रबार शिक्षालयमा गरिएको कार्यक्रममा तनुहँका निमित्त प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेल र कम्पनीका प्रवन्ध सञ्चालक प्रदिपकुमार थिकेले तालिममा सहभागीहरुलाई प्रमाणपत्र वितरण गरेका छन्।

कार्यक्रममा पौडेलले आयोजनाले प्रभावितलाई निशुल्क तालिम दिएर प्रशंसनीय काम गरेको बताए। उनले तालिम लिएका आयोजना प्रभावितलाई आग्रह गर्दै भने, ‘आयोजनालाई तोकिएकै समयमा सम्पन्न गर्न सहयोगीको भूमिका खेल्दै स्वरोजगारमार्फत आयआर्जन गर्नतर्फ क्रियाशील रहनु होला।’

प्रबन्ध सञ्चालक थिकेले आयोजना निर्माणका लागि मूख्य ठेकेदार परिचालन भएपछि त्यस कम्पनीको आवश्यकता र तालिम लिएका व्यक्तिको दक्षताका आधारमा रोजगारीमा प्राथमिकताका लागि पहल गरिने बताए। उनले प्रभावित महिलालाई लक्षित गरी छिट्टै ब्यूटिसीयन र सिलाई कटाई तालिम सञ्चालन गर्न लागिएको जानकारी दिए।

शिक्षालय प्रमुख दामोदर कंडेलले तालिमबाट प्राप्त सीपलाई प्रयोग गरी व्यवसाय सञ्चालन गर्न आग्रह गरे। कार्यक्रममा प्रशिक्षार्थी अमृत थापाले स्वरोजगारका लागि तालिम फलदायी भएको बताए। आयोजनाबाट प्रत्यक्ष प्रभावित व्यक्तिको उद्यमशीलता विकास गर्न पुनस्र्थापना तथा आदिवासी जनता योजनाका भएको व्यवस्था अनुसार निशुल्क तालिम दिइएको हो।

१८ वर्ष उमेर पूरा भएका, साधारण लेखपढ गर्न सक्ने  र आयोजनाबाट प्रत्यक्ष प्रभावितले तालिमका लागि योग्यता तोकिएको थियो । ब्यास नगरपालिका वडा नम्बर ५ , भिमाद नगरपालिका वडा नम्बर ५ तथा ६, म्याग्दे गाउँपालिका १ देखि ५ वडाका, र रिसिङ गाउँपालिका बडा नम्बर १, ६, ७ र ८ वडाका  प्रभावितहरु तालिममा सहभागी थिए।

आयोजना निर्माणका लागि ठेकेदार कम्पनी छनोट प्रक्रियामा छ। आयोजनाको निर्माण सन् २०२२ भित्र सक्ने लक्ष्य राखिएको छ। अहिले आयोजनाको निर्माण पूर्वका काम भइरहेका छन्। डुवान क्षेत्रमा पर्ने जग्गा अधिग्रहणका लागि करिव ९० प्रतिशत मुआव्जा तथा  क्षतिपूर्ति बितरण भइसकेको छ।

आयोजनाको कूल अनुमानित लागत ५० करोड ५० लाख अमेरिकी डलर रहेको छ। यो लागत निर्माण अवधिको ब्याज र प्रसारण लाइन तथा ग्रामीण विद्युतीकरणको खर्च सहितको हो। आयोजनामा नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको अतिरिक्त एसियाली विकास बैक, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग र  युरोपेली लगानी बैकको संयुक्त लगानी रहने छ।

आयोजनामा एडीबीले १५ करोड, जाइकाले १८  करोड ४०, इआइबीले ८ करोड ५० लाख र नेपाल सरकार तथा विद्युत प्राधिकरणले ८ करोड ६० लाख डलर लगानी गर्ने छन् । सन् २०२२भित्र निर्माण सक्ने लक्ष्य राखिएको आयोजनाबाट विद्युत उत्पादन सुरु भएको पहिलो १० वर्षसम्म वार्षिक औसत विद्युत उत्पादन ५८ करोड ७७ लाख र त्यसपछि ४८ करोड ९९ लाख युनिट उत्पादन हुने अनुमान गरिएको छ ।