एनसिसी बैंक घोटाला गर्नेहरुमाथि प्रहरीको १२ वटा आरोप, नक्कली ऋणी तयार पारेर लगानी

बिजमाण्डू
२०७४ चैत्र २ गते १५:०७ | Mar 16, 2018
काठमाडौं। प्रहरीको केन्द्रीय अनुसन्धान विभाग (सिआइबी) ले एनसिसी बैंकमा मर्ज भएको तत्कालिन एपेक्स डेभलपमेन्ट बैंकका सञ्चालक र ब्यवस्थापनले कमसल धितो भिरालो पाखो बारी, बाटो नपुगेको जग्गाहरुको अधिक मूल्यांकन गरी कर्जा लगानी गरेको आरोप लगाएको छ।
 
प्रहरीले शुक्रबार ऋण दूरुपयोगको आरोपमा विष्णु धिताल, इच्छाबहादुर गुरुङ, सुवर्ण राजभण्डारी, वधुवनलाल श्रेष्ठ, ऋषिराज भट्ट, दुर्गादत्त जोशी, रामचन्द्र बसौला, विकास श्रेष्ठ, सागर न्यौपाने, मानवहादुर राउत, विनितमणि उपाध्याय, मोहन खरेल र सुदिप थापालाई पक्राउ गरेको हो।
 
उनीहरुले कृत्रिम ऋणीहरु खडा गरेको, निश्चित क्षेत्रको कमसल जमीनमा विभिन्न ऋणीहरु खडा गरी कर्जा अधिक केन्द्रित गरेको आरोप प्रहरीको छ।
 
साथै ऋणीको नक्कली आयस्रोत सम्बन्धी विवरणहरूलाई स्वीकृत गर्ने गरेको, मोटरबाटो नभएको भिरालो पाखो बारी, खेत, वन क्षेत्र भएको जग्गामा बाटो भएको प्रमाणित गरेको, धितो निरीक्षण नगरि कर्जा दिने निर्णय, जग्गा किनबेच,रोक्का, कर्जा तमसुक,कर्जा प्रवाह एकै दिनमा गरेको आरोप प्रहरीको छ।
 
उनीहरुले कमसल जग्गाहरु धेरै टुक्रा पार्ने र धेरै ऋणीको नाममा धेरै कर्जा दिने गरेको, कर्जा तमसुकहरुमा एकल ऋणीको मात्र सहीछाप गराई साक्षीहरु समेत नराखी कर्जा दिएको, सावा र ब्याज नियमित रुपमा भुक्तान नगरेका ऋणीहरुलाई पुन: दोस्रो कर्जा प्रवाह गरेको आरोप प्रहरीको छ।
 
साथै एउटै व्यक्तिहरु संचालक हुने र पुराना खराब ऋणीहरूलाई संरक्षण गरेको, सर्वसाधारण निक्षेप कर्ताको निक्षेपको सुरक्षालाई भन्दा ऋणीको सुविधालाई ध्यान दिई कर्जा दुरुपयोग गरेको र अधिकांश धितो मूल्यांकन प्रतिवेदनहरु यथार्थपरक नरहेको आरोप प्रहरीको छ।

Tata
GBIME
Nepal Life