काठमाडौंका सामान्य होटल ‘टुरिष्ट स्ट्याण्डर्ड’ बनाइँदै, गोंगबु र सुन्धाराका होटल अपग्रेड हुने

वसन्तराज उप्रेती/बिजमाण्डू
२०७४ चैत्र २ गते ०९:५२ | Mar 16, 2018

काठमाडौं। होटल व्यवसायीको छाता संगठन होटल संघ नेपाल(हान)ले काठमाडौंका  सबैखाले होटलहरुलाई टुरिष्ट स्ट्याण्डर्डमा लैजाने अभियान सुरु गरेको छ।

Tata
GBIME
Nepal Life

हानका कोषाध्यक्ष साजन शाक्यका अनुसार ‘टुरिष्ट स्ट्याण्डर्ड’ होटल अन्तर्गत ‘नन स्टार’देखि स्टार होटलसम्म समावेश छन्। शाक्यकै पहलमा ‘टुरिष्ट स्ट्याण्डर्ड कमिटी’ गठन भएको हानले जनाएको छ। हानमा आवद्ध तथा पर्यटन विभागमा दर्ता भएका होटलहरुलाई टुरिष्ट स्ट्याण्डर्ड होटलमा ‘अपग्रेड’ गर्ने उपाध्यक्ष शाक्यले बताए।

काठमाडौंका बागबजार, सुन्धारा, गौशाला, गोंगबु, बालाजु बसपार्क लगायतका क्षेत्रमा रहेका अधिकांश होटलहरु ‘टुरिष्ट स्ट्याण्डर्ड’ मा नरहेको उनले जानकारी दिए। काठमाडौंको ठमेल, दरबारमार्ग लगायतका क्षेत्रमा  टुरिष्ट स्ट्याण्डर्ड होटल छन्।तर सुन्धारा,बागबजार, गौशाला, बालाजु बसपार्क क्षेत्रका प्राय होटल टुरिष्ट स्ट्याण्डर्ड अनुसारका नभएको शाक्यले बताए।

टुरिष्ट स्ट्याण्डर्डका लागि खानादेखि रुमसम्ममा सुधार गर्नुपर्ने उनले बताए।‘सुन्धारा,बागबजार र नयाँ वसपार्कका होटलमा विदेशी पर्यटकका लागि आवश्यक मेनु समेत हुँदैन’उनले भने,हामीले पहिला खाना त्यसपछि रुम र अन्य पूर्वाधार बनाउन आवश्यक सुझाब दिन थालेका छौं।‘

शाक्यका अनुसार टुरिष्ट स्ट्याण्डर्ड होटलमा विदेशी पर्यटकलाई दिइने सबै सुविधा समावेश हुन्छन्। ‘टुरिष्ट स्ट्याण्डर्ड होटल 'स्टार'कै उपाधि भएको हुनुपर्छ भन्ने छैन। द्वारिकाज, काठमाडौं गेस्ट हाउस लगायतका होटल नन स्टार टुरिष्ट स्ट्याण्डर्ड होटलका उदाहरण हुन्।' उनले भने।सन् २०१६को डिसेम्बरदेखि  हानमा टुरिष्ट स्ट्याण्डर्ड कमिटी गठन भएको हो।  शाक्यका अनुसार कमिटीमा एक सय २८ जना सदस्य छन्। पर्यटकलाई दिइने सेवा विस्तारकालागि कमिटीले काठमाडौं उपत्यका तथा उपत्यका बाहिर समेत प्रशिक्षण दिँदै आएको उनले जानकारी दिए।

कमिटीले विभिन्न होटलमा एक्सिलेन्सी सर्भिस, सेफ ट्रेनिङ, होटल लिडरसिप ट्रेनिङ लगायतका कार्यक्रम संचालन गर्दै आएको छ। यस्तै होटलमा हुने बाल यौन दुराचारलाई न्यूनिकरणका लागि समेत चेतनामूलक तालिम संचालन गर्दै आएको पनि उनले जानकारी दिए।  होटल नबुझेकाहरु संचालक भएका उदाहरण दिँदै शाक्यले सडक छेउमा घर बन्ने बित्तिकै होटल खोल्ने प्रवृत्ति बढेको बताए।  नियममा बसेर होटल संचालन गर्दा संचालकलाई मात्र नभइ सेवाग्राहीलाई पनि लाभ पुग्ने उनको भनाई छ।

पर्यटन वोर्डले हाल अन्तराष्ट्रिय संचारमाध्यमहरु बीबीसी, सीएनएन मार्फत पनि नेपालको पर्यटन प्रचार प्रसार गर्नुका साथै फेसबुक, ट्विटर, युट्युब, इन्स्टाग्राम लगायतका सामाजिक संजालमार्फत पनि  प्रचार प्रसार गर्दै आएको छ। ३० वर्ष देखि पर्यटन व्यवसायमा रहेका शाक्य क्षेत्रपाटी स्थित काठमाडौं प्रिन्स होटलका संचालक  हुन्। उनले भने – ‘अहिले सबैको हातमा स्मार्ट फोन छ।  एप्स बनाएर नेपालको प्रचार गर्न पाए पर्यटक तान्न सकिन्थ्यो।’  

हानको तथ्यांक अनुसार नेपालमा पर्यटक स्ट्याण्डर्ड होटलको अक्युपेन्सी  दैनिक २५ हजार छ। सरकारले राजमार्ग सडकखण्ड, विमानस्थल लगायतका पूर्वाधार विकासमा गरेमा पर्यटकको चाप बढ्ने बताउँछन्।उनी भन्छन्- 'देश यति सुन्दर छ  तर पर्यटकीय गन्तव्यमा पुग्न धेरै समय लाग्छ। बाटोको अवस्था यति खराब छ कि २ सय किलोमीटर दुरीको पोखरा पुग्न काठमाडौंबाट आठ घण्टा पनि लाग्न सक्छ। यस्तो भएपछि एकपटक आएका पर्यटक दोस्रो पटक आउन हिच्किचाउँछन्।'

एकै क्षेत्रमा धेरै होटल निर्माण गर्नुभन्दा प्रदेश प्रदेशमा टुरिष्ट स्ट्याण्डर्ड होटल निर्माण गर्नका लागि योजनावद्ध रुपमा लागेको पनि शाक्यले जानकारी दिए। होटल उद्योगलाई पनि अन्य उद्योग जस्तै विद्युत महशुलमा छुट दिनुपर्ने उनको तर्क छ। प्रादेशिक हिसाबमा होटल निर्माण गर्दा पर्यटकले ओझेलमा परेको पर्यटकिय गन्तब्य भ्रमण गर्न सक्नेछन्। उनी भन्छन्- ‘पोखरा, चितवन, लुम्बिनी, अन्नपुर्ण बेसक्याम्प जस्ता गन्तब्यमा मात्र सिमित राख्नु हुँदैन। नयाँ गन्तब्यहरु पहिल्याउँदै टुरिष्ट स्ट्याण्डर्ड होटल बनाएमा पर्यटकको बसाइ लम्ब्याउन सकिन्छ।’