एनआइडिसीको भीआरएसमार्फत १८ कर्मचारीलाई साढे १७ करोड, सिइओलाई सवा करोड

बिजमाण्डू
२०७४ चैत्र १ गते १४:४९ | Mar 15, 2018
काठमाडौं। सरकारको बहुमत शेयर स्वामित्व रहेको एनआइडिसी डेभलपमेन्ट बैंकले १७ करोड ३४ लाख रुपैयाँ खर्च गरेर १८ जना कर्मचारीको बिदाई गरेको छ। राष्ट्रिय वाणिज्य बैंकसँग मर्जरमा जाने भएपछि एनआइडिसीले स्वेच्छिक अवकाश योजना (भीआरएस) मार्फत ती कर्मचारीलाई बिदा गरेको हो।


 
एनआइडिसीले उपदान बापत १८ जना कर्मचारीलाई ११ करोड ९ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ। बैंकले तयार पारेको कर्मचारी अवकास योजना सम्बन्धी खर्च विवरणअनुसार गोल्डेन ह्याण्डसेक शीर्षकमा चार करोड ६० लाख रुपैयाँ खर्च गर्न बैंकले जनाएको छ। यस्तै कर्मचारीको सञ्चित तलबी बिदाको भुक्तानीबापत २४ लाख २१ हजार रुपैयाँ भुक्तानी हुनेछ। यस्तै बैंकको कल्याणकारी कोषबाट उनीहरुले उपदान बराबरकै सुविधा पाउनेछन्। यो सबै सुविधा जोड्दा करिब साढे १७ करोड रुपैयाँ बैंकले खर्च गर्नेछ।
 
एनआइडिसी बैंक स्रोतले उपलब्ध गराएको भीआरएस योजनाको खर्च विवरणअनुसार कल्याणकारी कोषमा रहेको रकम बाहेक निमित्त महाप्रबन्धक शिवजी राय यादवले सबैभन्दा धेरै ८७ लाख ४५ हजार रुपैयाँ पाउनेछन्। कल्याणकारी कोषको अनुमानित रकमसमेत जोड्दा उनले अवकासका समयमा एक करोड ३० लाख रुपैयाँ बैंकबाट पाउने स्रोतले जानकारी दियो। 
 
अनिवार्य अवकाश योजनामा सहभागी हुन चाहेका कर्मचारीले बैंकबाट लिएको ऋण कटाएर भुक्तानी लिन पाउनेछन्। स्रोतका अनुसार माघ मसान्तसम्मको विवरणमा १८ जना कर्मचारीले बैंकलाई ७२ लाख रुपैयाँ ऋण तिर्न बाँकी छ। 
 
बैंकको चुक्ता पूँजी ४१ करोड ५८ लाख रुपैयाँ छ भने जगेडा कोषमा तीन अर्ब ३२ करोड रुपैयाँ छ। एआइडिसी डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा सात करोड ७८ लाख रुपैयाँ खुद नाफा गरेको छ। वाणिज्य बैंकसँग मर्जरमा जाने तय भएपछि बैंकले कर्जा विस्तार तथा निक्षेप संकलनमा तीव्रता दिएको थिएन। 
 
एनआइडिसीका निमित्त महाप्रबन्धक शिवजी राय यादवसहित १८ कर्मचारी बुधबारबाट स्वेच्छिक अवकाश योजना अन्तर्गत बिदा भएपछि अर्थ मन्त्रालयको प्रशासान महाशाखा प्रमुख सुशील पाण्डेले बैंकको नेतृत्व गर्नेछन्। 
 
'हाम्रो योजना चैत भित्र मर्जर सक्ने हो, त्यतिन्जेल केयर टेकरका रुपमा हामीले काम गर्छौँ,' पाण्डेले भने। बुधबार बसेको बैंक सञ्चालक समितिले पाण्डेलाई जिम्मेवारी सुम्पिएको थियो। बैंकमा अहिले स्थायी कर्मचारी १८ जना मात्रै बाँकी छन्। मर्जरअघि अत्यावश्यक काम मात्रै गर्ने पाण्डेले बताए। 
 
मर्जर प्रक्रिया अघि बढाउने भएपछि बैंकले सर्वसाधारणलाई शेयर बिक्रीका लागि पनि आग्रह गरिसकेको छ। राष्ट्रिय वाणिज्य बैंक पूर्ण सरकारी स्वामित्वको भएकाले त्यससँग सर्वसाधारण शेयरधनीको नाममा रहेको सम्पूर्ण शेयर बिक्रीको लागि बैंकले आव्हान गरेको हो। बैंकको सम्पत्ति तथा दायित्वको मूल्यांकनपछि प्रतिकित्ता शेयर मूल्य ४४८४ रुपैयाँ कायम गरिएको छ। 

Tata
GBIME
Nepal Life
नाम उपदान गोल्डेन ह्याण्डसेक तलबी बिदा जम्मा
शिवजी राय यादव 4,832,460 3,624,450.00 288,666.67 8,745,576.67
शेखर भट्टराई 4,626,450 3,469,875.00 160,640.63 8,256,965.63
विक्रमभक्त जोशी 4,248,623 3,231,996.78 161,497.38 7,642,117.16
रविन्द्रराज पन्त 4,248,623 3,206,550.48 151,216.38 7,606,389.86
राजारामप्रसाद कुशवाह 2,815,709 2,534,165.38 189,770.13 5,539,644.51
इन्द्रविक्रम पराजुली 4,237,828 3,210,020.60 162,354.13 7,610,202.73
हिमबहादुर रोका 2,896,672 2,475,596.40 156,518.75 5,528,787.15
चेतनाथ पाण्डे 3,966,410 2,826,113.60 166,821.25 6,959,344.85
ईश्वरप्रसाद ढकाल 3,799,444 2,826,474.60 68,065.72 6,693,984.32
बिमल बस्नेत 4,063,753 2,973,549.60 148,853.60 7,186,156.20
तारानाथ घिमिरे 2,356,297 1,172,443.74 3,528,740.74
टंकप्रसाद दाहाल 4,129,830 2,872,185.00 170,820.38 7,172,835.38
नारायण देसार 3,100,230 2,254,665.00 124,296.26 5,479,191.26
इन्द्रबहादुर थापा 3,060,960 2,226,105.91 115,110.39 5,402,176.30
उद्धव फुयाँल 2,520,630 1,796,565.00 98,724.68 4,415,919.68
निरञ्जन थापा 2,520,630 1,796,565.00 82,620.65 4,399,815.65
लक्ष्मण उपाध्याय 2,520,630 1,796,565.00 87,988.66 4,405,183.66
पञ्च गुरुङ 2,520,630 1,796,565.00 87,988.66 4,405,183.66
कूल जम्मा 110,978,215.41