भुक्तानी नपाएपछि नवलपरासीका उखु किसानले आन्दोलन थाले, भन्छन्-तौलमा समेत ठगियौं

रासस
२०७४ फागुन ३० गते १६:५१ | Mar 14, 2018

नवलपरासी।  चिनी उद्योगसँग उचित मूल्य र समयमै उखुको मूल्य भुक्तानीको माग राख्दै नवलपरासीका उखु किसानहरुले आन्दोलन थालेका छन् ।
किसानले यस पटक आफूहरु उखुको तौलमा समेत ठगिएको र उखुको समयमै भुक्तानी नभएको भन्दै आन्दोलन थालेका हुन् ।

Tata
GBIME
Nepal Life

उखु क्रसिङ याम अन्तिम अवस्थामा आइपुग्दासम्म चिनी उद्योगले रकम भुक्तानी नगरेका उखु उत्पादक कृषक समितिका अध्यक्ष उमेशचन्द्र यादवले बताए । पश्चिम नवलपरासीस्थित इन्दिरा सुगर मिल गंगापुरले किसानलाई उखुको तौलमा ठगी गरेको पुष्टि भएपनि सरोकारवाला पक्षले कारबाही प्रक्रिया अघि नबढाएको किसानको गुनासो छ ।

हाल उद्योगको उखु तौल गर्ने काँटामा शिल गरेको भए पनि उद्योगले तौलमा ठगी गरेबापतको क्षतिपूर्ति दिनुपर्ने र उखुको भुक्तानी रकम दिनुपर्ने माग राख्दै किसान आन्दोलनमा छन् । गत वर्ष नै कामय रहेको मूल्यसमेत मिल सञ्चालकले उपलब्ध नगराउँदा किसान मारमा परेका हुन् ।

भुक्तानीको माग गर्दै किसानले आन्दोलनलाई जारी राखेका छन् । किसानले इन्दिरा सुगर मिलमा तालाबन्दीसमेत गरेका छन् ।
उखु किसानलाई रकम भुक्तानी र तौलमा ठगी गरेबापत किसानलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने अध्यक्ष यादवले बताए। उखु तौलमा ठगिएका किसानलाई दोब्बर क्षतिपूर्ति दिनुपर्ने र ठगी कार्यमा संलगन मिल सञ्चालक र बिचौलियालाई ठगी मुद्दाअन्तर्गत कारबाही हुनुपर्ने समितिको माग छ ।

उक्त मिलले यस वर्ष अहिलेसम्म करिब पाँच लाख क्विन्टल उखु क्रसिङ गरिसकेको छ । हालसम्म करिब  सात करोड  रुपैयाँ बराबरको मात्र भुक्तानी गरेको उखु कृषक समितिले जनाएको छ ।

इन्दिरा सुगर मिलले जिल्ला प्रशासन कार्यालय नवलपरासी र उखु उत्पादक कृषि समितिबीच नियमित भुक्तानी दिने पटकपटक सहमति गर्दै आएको भएपनि किसानलाई ठगी गर्दै आएको आरोप उनीहरुले लगाएका छन् ।

मिल सञ्चालकले रकम नदिँदा उखु किसानको रकम भुक्तानी गर्न भुक्तानी गर्न नसकिएको इन्दिरा सुगर मिलका महाप्रबन्धक सुरेन्द्र शुक्लाले बताए। उक्त मिलले चालू याममा  १३ करोड रुपैयाँको चिनी बिक्री गरेको भएपनि हालसम्म छ करोड रुपैयाँ मात्र भुक्तानी गरेको छ । मिलको गोदाममा करिब १२ करोड रुपैयाँको चिनी मौज्दात छ ।

जिल्लामा इन्दिरा सुगर मिल गंगापुर र वाग्मती खाडसारी उद्योग कुडिया मात्र सञ्चालनमा छन् । नवलपरासीमा करिब १३ हजार उखु कृषक रहेको तथ्यांक छ ।