तरलता अभावले पूँजी लागत महँगिँदा लघुवित्त संस्थाहरु अप्ठेरोमा, ब्याज पुनरावलोकन हुनु पर्ने

बिजमाण्डू
२०७४ फागुन ३० गते १४:१६ | Mar 14, 2018
तरलता अभावले पूँजी लागत महँगिँदा लघुवित्त संस्थाहरु अप्ठेरोमा, ब्याज पुनरावलोकन हुनु पर्ने


काठमाडौं। बैंक तथा वित्तीय संस्थाहरुको ब्याज महँगो भएपछि लघुवित्त विकास बैंकहरुको ब्यापार संकटमा पर्न थालेको छ। बैंकहरुले १२/१३ प्रतिशतमा उपलब्ध गराउने कोषलाई १८ प्रतिशतभन्दा माथि लगानी गर्न नपाइने ब्यवस्थाका कारण सञ्चालक खर्च उच्च भएका लघुवित्तहरु अप्ठेरोमा पर्न थालेका हुन्।


 
'निक्षेपको लागत महँगो परेका कारण नयाँ आएका लघुवित्तहरुलाई काम गर्नै अप्ठेरो परिसकेको छ' छिमेक लघुवित्त संस्थाका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र जोशीले भने। ब्यापार धान्नै अप्ठेरो परेपछि लघुवित्त संस्थाहरुको छाता संगठनका तर्फबाट राष्ट्र बैंकमा समस्या सुनुवाइका लागि आग्रह पनि गरिएको छ।
 
'लागत अनुशार लगानी गर्ने ब्याज पनि बढाउन पाइने भएको भए समस्या हुँदैन थियो' उनले भने, 'तर १८ प्रतिशतभन्दा बढिमा लगानी गर्न नपाइने ब्यवस्थाका कारण कारोबार नै अप्ठेरोमा परिसकेको छ।'
 
लघुवित्त संस्थाहरुको सञ्चालन खर्च नै ६/८ प्रतिशतको हुन्छ। १३/१४ प्रतिशतमा लिएको निक्षेप १८ प्रतिशतभन्दा बढिमा लगानी गर्न नपाइने हुँदा सञ्चालन खर्चनै धान्न नसक्ने अवस्था आएको हो। 'अब नाफामा ठूलो संकुचन आउने छ' साना किसान विकास बैंकका प्रवन्धक कृष्णप्रसाद लामिछानेले भने। 
 
उनका अनुशार, तरलता सहज हुँदा बाणिज्य बैंकहरुले ऋण लगानीका लागि आँफै पैसा पुर्याउन आउँथे। अहिले दैलो रुङ्गा पनि पैसा पाउने अवस्था छैन। 
 
उनले गाउँघरमा गएर निक्षेप पनि उठाउन पाउने पुराना संस्थाहरुलाई खासै समस्या नपरे पनि नयाँ आउनेलाई अस्तित्वकै संकट परेको बताए। 
 
फर्स्ट माइक्रोफाइनान्स संस्थाका प्रमुख कार्यकारी भेषराज पन्थीका अनुशार, वाणिज्य बैंकले विपन्न वर्गमा जाने ऋण कोषको रकम घटाउन थालेका छन्। 'उनीहरुका कारण राज्यको वित्तीय पहुँच पुर्याउने अभियानमा नै समस्या पर्ने अवस्था आएको छ,' उनले भने। 
 
उनले लघुवित्त संस्थाहरुलाई जोगाउनका लागि सबैलाई निक्षेप परिचालनको अधिकार दिनु पर्ने बताए। 'कतिपय अवस्थामा निक्षेप संकलन गर्न नपाने नीतिगत व्यवस्था छ,' उनले भने, 'यसमा पुनरावलोकन आवश्यक छ।' उनले २२ प्रतिशत जनता गरिबीको रेखामुनी रहेको भन्दै १८ प्रतिशतभन्दा बढिमा ऋण दिन नपाइने ब्यवस्थाले संस्थाहरुको सञ्चालन खर्च नउठेर गरिवीमा रहेका जनताको जीवनस्तर उकास्ने अभियानमै समस्या आउनसक्ने बताए। 
 
चालु आर्थिक बर्षको वित्तीय विवरण अनुशार, २२ संस्थाको नाफामा गिरावट देखिएको छ। 

Tata
GBIME
Nepal Life