राजनीतिक अस्थिरता र कमजोर कृषिले दक्षिण एसियामा नेपालको वृद्धि कमजोर, संघीय संरचनामा संभावना

बिजमाण्डू
२०७४ फागुन २९ गते १७:४६ | Mar 13, 2018
राजनीतिक अस्थिरता र कमजोर कृषिले दक्षिण एसियामा नेपालको वृद्धि कमजोर, संघीय संरचनामा संभावना
काठमाडौं। लामो राजनीतिक अस्थिरता, कृषि क्षेत्रको कमजोर विकास र कमजोर सार्वजनिक खर्चले नेपालको आर्थिक विकास पछिल्लो २० वर्षमा दक्षिण एसियाकै कमजोर बनेको देखिएको छ। विश्व बैंकले सार्वजनिक गरेको 'नेपाल सिस्टमेटिक कन्ट्री डाएग्नोस्टिक' प्रतिवेदनमा नेपालको अवस्था दक्षिण एसियाको औषत वृद्धिदरभन्दा कमजोर देखिएको छ। 
 
नेपालले यो अवधिमा गरिबी निवारण तथा अन्य सामाजिक क्षेत्रमा भने उत्साहजनक प्रगति गरेको विश्व बैंकको प्रतिवेदनमा उल्लेख छ। 'पछिल्लो २० वर्षमा नेपालको औषत वृद्धिदर चार प्रतिशत रहन पुग्यो। महत्वपूर्ण मानिएको कृषि क्षेत्रको योगदान कमजोर रहँदा र राजनीतिक अस्थिरताले वृद्धि प्रभावित बनेको छ,' विश्व बैंकको प्रतिवेदनमा उल्लेख छ।
 
नेपालको कृषि उत्पादनको मूल्य अभिवृद्धि हुन नसकेको पनि विश्व बैंकको प्रतिवेदनमा उल्लेख छ। 'कृषि क्षेत्रको एक तिहाई पनि मूल्य अभिवृद्धि हुन सकेको छैन,' विश्व बैंकले भनेको छ, 'यद्यपि यो क्षेत्रले ६७ प्रतिशत रोजगारी सिर्जना गरेको देखिएको छ।' अर्थतन्त्रमा महत्वपूर्ण हिस्सा राख्ने कृषि क्षेत्रको विकासक्रम कमजोर भए पनि व्यापार, पारवहन, सञ्चार, शिक्षा र घरजग्गा क्षेत्रको विकास भने तीव्र गतिमा भइरहेको प्रतिवेदनमा उल्लेख गरिएको छ।  
 
विश्व बैंकले संघीयत संरचनामा प्रवेश र राजनीतिक व्यवस्थामा भएको समावेशीकरण र सुधारले नेपालको विकासक्रमलाई सहयोग गर्ने जनाएको छ। यस्तै निजी क्षेत्रको लगानीमा भएको विस्तार र रोजगारीको सिर्जनाले अर्थतन्त्रको विकासमा सकारात्मक योगदान गर्ने विश्व बैंकले औंल्याएको छ। 
प्राकृतिक स्रोत र सम्पदाको सदुपयोग, मानवीय पुँजीको समान प्रयोगको अवसर, प्राकृतिक प्रकोप र स्वास्थ्य क्षेत्रको सुधार र वैदेशिक रोजगारीको सकारात्मक प्रभावले संघीय नेपालमा आर्थिक विकासमा सहयोग गर्ने विश्व बैंकले जनाएको छ। 

Tata
GBIME
Nepal Life