‘फाइभ स्टार’ जेलमा बसेका साउदी ब्यापारीहरुमाथि सरकारको लगाम, ट्रयाकिङ ब्रासलेट बाँधेर छोडियो

बिजमाण्डू
२०७४ फागुन २९ गते १४:५२ | Mar 13, 2018

रियाद। साउदी अरबमा सरकारको भ्रष्टाचार बिरोधी अभियानले त्यतिबेला चर्चा पायो जब विश्वका अर्बपति धनाढ्यहरु मध्येका एक राजकुमार अलवलिद तलाल पक्राउ परे। पाँच महिनाअघि राजकुमार तलालसहित देशका सयौ प्रभावशाली ब्यापारी तथा राजकुमारहरु सरकारले सुरु गरेको भ्रष्टाचार बिरोधी अभियान भनिएको एक ‘अप्रेसन’ अन्तर्गत पक्राउ परेका थिए।  

Tata
GBIME
Nepal Life

सरकारले उनीहरुलाई रियादको पाँचतारे होटल रिट्ज कार्लटनमा लामो समय बन्दी बनाएर राखेको थियो। बिस्तारै उनीहरु रिहा हुने क्रम चलिरहेको छ। तर रिहाइका लागि बन्दी ब्यापारी तथा राजकुमारहरुको साउदी यूवराजलाई अर्बौ डलर नगद तथा उनीहरुको कम्पनीका शेयर समेत दिएको बताइएको छ। साउदी यूवराजले ति ब्यापारीका निजी र महत्वपूर्ण सम्पतिहरु हत्याएको आरोप लागेको छ।

हालै न्यूयोर्क टाइम्सले प्रकाशित गरेको समाचारमा रिहाइपछि पनि ति ब्यापारीहरु  कडा निगरानीमा रहेको खुल्न आएको छ।  हाल ति ब्यापारी तथा राजकुमारहरु रिहा भएपनि सरकारले उनीहरुमाथि हर समय ट्रयाक गर्ने ब्यबस्था मिलाएको छ।  यसकालागि उनीहरुको हातमा यस्तो ‘ब्रासलेट’ बाँधिएको छ जसले निरन्तर उनीहरुका गतिविधिमाथि निगरानी गर्न सकियोस्।

बिलासी जीवन बिताउने गरेका ति राजकुमार तथा उच्च घरानाका ब्यापारीहरु हाल सुरक्षाकर्मीको कडा निगरानीमा रहन्छन्। सरकारको कदमपछि जो ब्यापारी आफ्नो निजी जेटबाट परिवार सहित भागेका छन् उनीहरुले आफ्नो बैंक खाता प्रयोग गर्न नपाउने गरी सरकारले कब्जा गरिसकेको छ। यस्तै एक्लै भागेका ब्यापारीका परिवारका सदस्यहरुलाई भने बिदेश यात्रा गर्न प्रतिबन्ध लगाइएको छ। बन्दी बनाइएकामध्ये धेरैलाई रिहा गरिएको बताइएपनि उनीहरु स्वतन्त्र भने छैनन्।

सरकारले बन्दी बनाएकै बेला दिएको यातनाले १७ जना गम्भीर बिरामी तथा एक जनाको मृत्यु भएपछि अन्य ब्यापारीहरु त्रस्त बनेको प्रत्यक्षदर्शीको भनाइ उल्लेख गर्दै न्यूयोर्क टाइम्सले लेखेको छ।

आतंकित उनीहरुले सकारका सबै सर्त मान्ने  र रिहाइका लागि जुनसुकै मूल्य चुकाउन तयार भएका थिए। सरकारले उनीहरुका बहुमुल्य धनसम्पत्ति, रियल स्टेट प्रोपर्टी तथा उनका कम्पनीहरुका शेयरमाथि कब्जा गर्यो। यसकालागि सरकारले कुनै पनि कानुनी प्रक्रिया पुरा नगरेको दावी पनि न्यूयोर्क टाइम्सले प्रकाशित गरेको बिस्तृत बिवरणमा छ।

साउदी यूवराज मोहम्मद विन सलमानले भ्रष्टाचारका बिषयमा पारदर्शी रुपमा काम अघि बढाउने भनेपनि हालसम्म ब्यापारीहरुलाई आफू दोषी वा निर्दोष भएको बारे सफाइ दिने मौका समेत पाएका छैनन्।

बन्दीमाथि कुनै पनि शारिरीक वा मानसिक यातना नदिएको दावी पनि सरकारले गरेको छ। केही दिनपछि हुन लागेको साउदी युवराज सलमानको अमेरिका भ्रमणलाई सफल पार्न उनले साउदी अरबमा गरेका सुधारका कामहरुबारे  सरकारले प्रचारप्रसार तीब्र पारिरहेकै बेला  गैरकानुनी रुपमा ब्यापारीहरुको निजी सम्पत्ति हत्याएको आरोप उनीमाथि लागेको छ।