काठमाडौंमा बन्न थाले ६ करोड माथिका लक्जरी हाउजिङ, पाँच कम्पनीले निर्माण गरिरहेका हाउजिङ यस्तो छ

बिजमाण्डू
२०७४ फागुन २९ गते १२:०६ | Mar 13, 2018

काठमाडौं।काठमाडौं उपत्यकामा ६ करोड रुपैया भन्दा महँगो लक्जरी हाउजिङ बन्न थालेको छ।महँगा  घरको माग बढेपछि लक्जरी हाउजिङ निर्माण सुरु भएको हो।

Tata
GBIME
Nepal Life

अहिले विभिन्न हाउजिङ कम्पनीले पाँच करोड रुपैयाँ भन्दा बढी मूल्यका लक्जरी निर्माण थालेका छन्।

यी हुन सबै भन्दा महँगा हाउजिङ

१. सिभिल होम्स (धापाखेल)
सिभिल होम्सले धापाखेलमा निर्माण गरिरहेको नवौं चरणको हाउजिङ प्रोजेक्टमा ६ करोड रुपैयाँ भन्दा बढी मूल्यका घरहरु पनि निर्माण गरिरहेको छ।

९ आना जग्गामा २८ सय स्क्वायर फिट क्षेत्रफल ओगटेका घरको मूल्य ६ करोड रुपैयाँ भन्दा बढी छ। ५ बेडरुम र सो भन्दा बढी पनि बनाउन मिल्नेगरि सिभिल होम्सले सुविधा सम्पन्न लक्जरी घर निर्माण गरिरहेको छ।

सिभिल होम्सको घरहरु दुई करोड ५० लाख देखि ६ करोड रुपैयाँ सम्मका छन्।

२. रोज भिल्ला (बुढानिलकण्ठ)
बुढानिलकण्ठमा रहेको रोज भिल्ला हाउजिङले सबै भन्दा महँगो घर निर्माण गरेको छ। सात आना देखि नौ आना क्षेत्रफलमा बनेका घरको मूल्य पाँच करोड ६५ लाख रुपैयाँ सम्म छ।

कम्पनीले ६ वटा घर मात्रै निर्माण गरेको छ। हरेक घरमा दुई वटा गाडी पार्किङ गर्ने सुविधासँगै थप दुई वटा गाडी पार्किङ गर्न मिल्ने ठाउँ छोडेको छ।तीन हजार स्क्वायर फिटसम्म क्षेत्रफल ओगटेका भिल्लाका घरमा ४ बेडरुम रहेका छन्। आधुनिक किचन बाथ र डिजाईनमा तयार पारिएका घरले विदेशी घरको जस्तै देखिन्छ।

भिल्लामा पाँच करोड २५ लाख देखि पाँच करोड ६५ लाख मूल्य सम्मका घर रहेका छन्।

३. डाउन टाउन रेसिडेन्सी (इमाडोल)
इमाडोलमा रहेको डाउनटाउन रेसिडेन्सीमा पाँच करोड ५० लाख रुपैयाँ सम्मका घर निर्माण भएका छन्। १० आना जग्गामा बनेका दुई हजार पाँच सय स्क्वायर फिट क्षेत्रफलका घरको मूल्य पाँच करोड ५० लाख रुपैयाँ रहेको छ।

डाउनटाउनमा दुई करोड २८ लाख रुपैयाँ देखि पाँच करोड ५० लाख रुपैयाँ सम्मका सुविधा सम्पन्न घरहरु निर्माण भएका छन्।

४. रोड शो रियलस्टेट (बुढानिलकण्ठ)
बुढानिलकण्ठमा रहेको अर्को हाउजिङ कम्पनी रोडशोले पनि सुविधा सम्पन्न लक्जरी घर निर्माण गरिरहेको छ।

७ आना जग्गामा बनेका दुई हजार पाँच सय स्क्वायरफिट क्षेत्रफलका लक्जरी घरको मूल्य चार करोड रुपैयाँ सम्म छ।रोड शोमा दुई करोड ५० लाख रुपैयाँ देखि चार करोड रुपैयाँ सम्मका घरहरु निर्माण भएका छन्।

५. पद्‍मा क्लोनी (सितापाइला)
सितापाइलामा रहेको पद्‍मा क्लोनीमा सुविधा सम्पन्न लक्जरी घरहरु तीन करोड ४० लाख रुपैयाँ सम्मका छन्।

छ आना जग्गामा निर्मित घरहरु दुई हजार स्क्वायर फिट क्षेत्रफलका छन्। पद्‍मा क्लोनीमा ४ बेडरुम सहित बनेका घर दुई करोड रुपैयाँ देखि तीन करोड ४० लाख रुपैयाँ सम्मका छन्।

यी बाहेक पनि अहिले सबैजसो हाउजिङ कम्पनीले महंगा लक्जरी घर निर्माणमा ध्यान दिएका छन्।