उद्योग वाणिज्य महासंघको उपाध्यक्षमा प्रधान निर्वाचित, किशोरलाई ६५ र निरकलाई ३३ मत




काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला/ नगर उपाध्यक्षमा किशोरकुमार प्रधान निर्वाचित भएका छन्। महासंघको वरिष्ठ उपाध्यक्ष पदमा शेखर गोल्छासँग पराजित भएको ११ महिनापछि उनी उपाध्यक्ष बनेका हुन्। प्रधान यसअघि पनि उपाध्यक्ष नै थिए। प्रधान यसअघि पनि महासंघको जिल्ला/नगर उपाध्यक्ष भइसकेका छन्। 


 
शुक्रबार विहान ११ बजेदेखि २ बजेसम्म भएको निर्वाचनमा १०४ मतदातामध्ये ९८ जनाले मतदान गरेका थिए। उनको पक्षमा ६५ र उनका प्रत्यासी निरक केसीको पक्षमा ३३ मत खसेको छ। 
 
गत वर्ष सम्पन्न महासंघको निर्वाचनमा जिल्ला/नगर उपाध्यक्ष भएका प्रमोदकुमार श्रेष्ठ स्थानीय तहको निर्वाचनमा भाग लिन भन्दै म्याग्दीको बेनी नगरपालिकाको मेयर पदमा चुनाव लड्न गएपछि यो पद रिक्त थियो। महासंघले गत भदौ १९ गते नै रिक्त स्थानका लागि निर्वाचन गर्ने निर्णय गरेको भएपनि श्रेष्ठले आफूलार्इ गैरकानुनी रुपमा हटाएको भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए।
 
सर्वोच्च अदालतले तत्काल निर्वाचन नगराउन भनेपछि विशेषसभा स्थगित भएको थियो। लामो समयपछि फेरि महासंघले चुनावको तयारी गरेको थियो। यसलाई रोक्न भन्दै श्रेष्ठले साधारणसभा रोक्न माग गर्दै रिट निवेदन हालेका थिए। सर्वोच्चले बुधबार श्रेष्ठको निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेपछि शुक्रबार चुनाव तय भएको थियो। 
 
फेरि ढकाल बलियो!
प्रधानलार्इ उपाध्यक्षमा ल्याउन महासंघका पूर्व अध्यक्ष एवं विशिष्ट सदस्य चण्डिराज ढकाल सबैभन्दा धेरै लागि परेका थिए। उनको पक्षमा एक साता अघिदेखि महासंघकी अध्यक्ष भवानी राणासमेत खुलेर लागेकी थिइन्। 
 
सर्वोच्च अदालतमा मुद्दा रहँदासम्म मौन रहेकी राणा पछिल्लो समयमा आएर प्रधानको पक्षमा लागेकी हुन्। स्रोतका अनुसार नेपाल चेम्बर अफ कर्मश महासंघमा रुपान्तरण भएपछि लड्न/भिड्नसक्ने व्यक्ति प्रधान मात्रै हुने भन्दै उनलार्इ राणाले समर्थन गरेकी हुन्।
 
निर्वाचनको पूर्वसन्ध्यामा विहीबार काठमाडौंमा दुबै पक्षले मतदाताका लागि वेलकम पार्टी गरेका थिए। राणा प्रधान समूहले पाटनमा रहेको वेलकम होटलमा भएको पार्टीमा मात्रै सहभागी भइन्। केसीको नक्सालको रेष्टुरेन्टमा पार्टी राखेका थिए। केसी महासंघले नै र्यामडिसनमा राखेको पार्टीमा सहभागी भए। उनले त्यँही केही जिल्लाका मतदातासँग कुराकानीमा व्यस्त थिए।
 
बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा दुवै पार्टीमा सहभागी भएनन्। महासंघका एक केन्द्रीय सदस्यका अनुसार प्रधानलार्इ जुनसुकै हालतमा उपाध्यक्ष ल्याएर वरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष हुने प्रावधानलार्इ संशोधन गर्ने पक्षमा चण्डिराज ढकाल लागेका छन्।
 
ढकाल सधैँ शक्तिशाली भएर महासंघलार्इ आफ्नो अनुकुल प्रयोग गर्न चाहन्छन्। महासंघ संघीय संरचनामा गएपछि पनि ढकालको छाँयाबाट टाढा हुन सकेको छैन। अहिले पनि प्रदेशमा हुने अधिकांश कार्यक्रममा ढकालनै प्रमुख अतिथि रहने गर्छन्।अझ हरेक कार्यक्रममा उनी फ्रन्टसीटमा बस्छन् र अध्यक्षको जस्तै भूमिका देखाउँछन्।
 
त्यही भएर ढकालले अहिले प्रधानलार्इ उपाध्यक्षमा ल्याउन चाहेका हुन्।प्रधानको पक्षमा केही पूर्व अध्यक्ष समेत छन्।पूर्व अध्यक्ष कुशकुमार जोशी,प्रदीपकुमार श्रेष्ठ लगायतको समर्थन छ। प्रधानलार्इ ल्याउन नहुने पक्षमा वरिष्ठ उपाध्यक्ष गोल्छासहितका पदाधिकारी छन्। सुरज वैद्य, विनोदबहादुर श्रेष्ठलगायतका केही पूर्व अध्यक्षले केसीलार्इ सहयोग गरेका छन्।
 
एशोसिएटका उपाध्यक्ष चन्द्र ढकाल भने खुलेका छैनन्। स्रोतका अनुसार उनी वरिष्ठ उपाध्यक्षको निर्वाचन लड्नका लागि दुवैतर्फ बराबरी देखाउन चाहिरहेका छन्। ‘उहाँले दुबैतर्फ बराबरी रहेको देखाउन खोजिरहनुभएको छ,’ती केन्द्रीय सदस्यले भने, 'बरिष्ठ उपाध्यक्षका लागि अहिलेदेखिनै उहाँले ठाउँ बनाउन खोजिरहनुभएको छ।'


Share this Story

   

उद्योग वाणिज्य महासंघको उपाध्यक्षमा प्रधान निर्वाचित, किशोरलाई ६५ र निरकलाई ३३ मत को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.