कार्यकाल बाँकी छँदै एक पछि अर्को बैंकका प्रमुख कार्यकारी जागिर छाड्दै,’साउजीले चाँडो पैसा खोजे’

सुदर्शन सापकोटा/बिजमाण्डू
२०७४ फागुन २५ गते ११:१५ | Mar 9, 2018
कार्यकाल बाँकी छँदै एक पछि अर्को बैंकका प्रमुख कार्यकारी जागिर छाड्दै,’साउजीले चाँडो पैसा खोजे’
काठमाडौं। कार्यकाल तीन महिना बाँकी छँदै एनआइसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृतबाट लक्ष्मण रिसालले राजिनामा गरेका छन्। ब्याज दरका बिषयमा सञ्चालक समितिसँग कुरा नमिलेपछि रिसालले अचानक राजिनामा गरेका हुन्।


 
गत शुक्रबार बैंकर्स संघमा बचतको ब्याज ८ प्रतिशतभन्दा बढि नदिने सहमति गरेर फर्किएलगत्तै उनलाई त्यस्तो सहमति गरेकोमा बैंकबाटै प्रश्न उठाइयो। ६ महिनामै ३० अर्बभन्दा बढीले ऋण विस्तार गरेको बैंकका सिइओ रिसालले बचतमा १० र मुद्दतीमा १२ प्रतिशत ब्याज दर तोकेर प्रकाशित गर्ने प्रस्ताव स्वीकार गर्न सकेनन्।
 
'बैंकर्स संघमा एउटा निर्णय गरेर कामकारवाही अर्कै गर्दा उहाँ (रिसाल) लाई मोरल प्रश्न जन्मियो' उनी निकट स्रोतले भन्यो, 'त्यही भएर अचानक छाड्ने निर्णय गर्नु भयो।'
 
रिसालले एनआइसी एसिया छाड्नु अघिल्लो साता मात्र माछापुच्छ्रे बैंकबाट निरज श्रेष्ठ पनि बाहिरिएका थिए। लक्ष्य अनुसार व्यापार विस्तार गर्न नसकेको आरोप खेप्दै माछापुच्छ्रे बैंक छिरेको छोटो अवधिमै निरजले प्रमुख कार्यकारी अधिकृत पदबाट राजिनामा गरेका थिए। सञ्चालक समितिले दिएको लक्ष्य अनुसार श्रेष्ठले काम गर्न नसकेको बैंक स्रोतको दावी छ।
 
उनी माछापुच्छ्रे बैंक गएको १६ महिना मात्रै पुगेको थियो। 
 
कार्यकाल बाँकी छँदै शशिन जोशीले पनि नबिल बैंक छाडेर बाहिरिनु पर्यो। सञ्चालक समितिले जोशीलाई लक्ष्य अनुसार काम गर्न नसकेको आरोप लगाएको थियो। नाफामा सँधै नम्बर १ रहँदै आएको नबिललाई बीचमा नेपाल इन्भेष्टमेन्ट बैंकले उछिनेपछि सञ्चालक समिति बैठकमै शशिनको आलोचना पनि भयो। अन्तत: ३२ बर्षे लामो बैंकिङ करियरबाट उनी अस्वभाविक तवरले बिदा भए।
 
सेञ्चुरी कमर्सियल बैंकबाट अनुजमणि तिमिल्सिनाको विदाइ पनि सहज रुपमा हुन सकेन। उनको सञ्चालक समितिसँग बेमेल भएपछि कुमारी बैंकमा नायव प्रमुख कार्यकारीका रुपमा गए।
 
ग्लोबल आइएमइ बैंकबाट अनिल ज्ञवालीको 'एक्जिट' पनि स्वभाविक भएन। सिभिल बैंकबाट किशोर महर्जन पनि त्यसैगरी वाहिरिए। 
 
लामो अनुभव र बैंकिङ क्षेत्रमा राम्रो छवि बनाएका प्रमुख कार्यकारी अधिकृतहरु कार्यकाल पुरा नहुँदै बाहिरिन थालेका छन्। कार्यकाल बाँकी छँदै सञ्चालक समितिसँग कुरा बिग्रिएर उनीहरु बाहिरिरहेका छन्।
 
सञ्चालक समितिले दिएको लक्ष्य र आफ्नो काम गर्ने तौरतरिका बारेमा ब्यवस्थापन-बोर्डबीच सामान्य अनमन हुनु स्वभाविक हो। तर पछिल्लो समय प्रमुख कार्यकारीहरु बैंक छाड्न वाध्य पारिन थालेका छन्। 
 
'प्रमुख कार्यकारीहरु कार्यकाल बाँकी छँदै धमाधम बाहिरिनु भनेको सञ्चालक समिति बढी हावी भइरहेका छन् भन्ने हो' लामो समय बैंकिङ क्षेत्रमा बिताएका सुमन जोशीले बिजमाण्डूसँग भने, 'पूँजी वृद्धिले शेयरधनीको ठूलो लगानी परेको छ। त्यसको प्रतिफल खोज्दा प्रमुख कार्यकारीहरु दवावमा परिरहेका छन्।'
 
पूँजी वृद्धिसँगै सञ्चालक समितिले तत्काल प्रतिफल खोजेको संकेत राष्ट्र बैंकले पनि पाइसकेको छ। राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिबी नेपालले सार्वजनिक मञ्चहरुमै तत्काल नाफा नखोज्न सञ्चालकहरुलाई आग्रह गरिरहेका छन्। 'बैंकिङ भनेको लामो समयसम्म चल्ने ब्यवसाय हो' उनले भन्ने गरेका छन्, 'तत्काल नाफा नखोज्नुस्, सिइओहरुलाई पनि नाफा बढाउन दवाव नदिनुस्।'
 
राष्ट्र बैंकले सार्वजनिक रुपमा ब्यवस्थापनलाई दवाव नदिन भने पनि सञ्चालक समितिले भने तारन्तारको दवावले प्रमुख कार्यकारीहरु बैंकमा टिक्न नसक्ने अवस्था आएको पुराना बैंकरहरु बताउँछन्। 'पैसा परेपछि त्यसको प्रतिफल चाहिन्छ भन्दै साउजीहरु एक्टिभ हुन थालेपछि काम गर्न गाह्रो हुन थालेको छ,' एक बैंकरले भने, 'सानो/सानो कुरामा पनि सञ्चालकहरुको इन्ट्रेस्ट देखिन थालेको छ।' 
 
नयाँ आएको बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन (बाफिया) ले सञ्चालक समितिको भूमिकालाई कम गरे पनि उनीहरुले व्यवस्थापनलाई हस्तक्षेप गर्न नछाडेका कारण समस्या गहिरिँदै गएको सिइओहरु बताउँछन्।


 
बाफियाले बैंकको प्रमुख कार्यकारी अधिकृतलाई थप शक्तिशाली बनाउँदै ठूलो ऋण दिने/नदिने सम्वन्धी छलफल गर्ने अधिकार समेत सञ्चालक समितिबाट खोसेको छ। जत्रोसुकै ऋणको डिल प्रमुख कार्यकारी अधिकृतको तहबाटै हुने ब्यवस्था बाफियामा छ।
 
सञ्चालक समितिलाई आवश्यक विनियम, निर्देशिका र कार्यविधि बनाउनमा मात्र  सीमित गरिएको छ।
 
कानुनमा स्पष्ट ब्यवस्था हुँदासमेत सञ्चालक समितिभित्रका 'शक्तिशाली' कार्यकारी अध्यक्ष/सञ्चालकको भूमिका अदृश्य रुपमा निभाउँदा समस्या भएको ती बैंकरले बताए।
 
'संस्थागत सुशासन कमजोर हुँदै जाँदा पनि सञ्चालक समिति र प्रमुख कार्यकारीबीच टकरावको स्थिति उत्पन्न हुन्छ' बैंकिङ क्षेत्रको गुणस्तर सुधारमा काम गर्दै आएको नेशनल बैंकिङ इष्टिच्युट (एनबिआइ) का प्रमुख कार्यकारी अधिकृत सञ्जिब सुब्बाले भने। 
 
राष्ट्र बैंकका अधिकारीहरुले एक पटक सबै बैंकका सञ्चालक समितिसँग कुरा गर्ने बताएका छन्। 'कार्यकाल बाँकी छँदै सिइओ निस्किने वा हटाइने क्रम बढ्नुले केही न केही गम्भिर समस्यातर्फ संकेत गर्छ' ती अधिकारीले भने, 'यस बारेमा हामी बैंकका सञ्चालक समितिहरुसँग कुराकानी गर्छौं।'

Tata
GBIME
Nepal Life