सन्दर्भ मूल्यसूचीमा चिनीको मूल्यांकन ६४ रुपैयाँ बनाउन लबिङ, भन्सारमा रोकियो चिनी




विराटनगर। सन्दर्भ मूल्य सूचीमा चिनीको भन्सार मूल्यांकन नभएको मौका छोपेर चिनीका उत्पादकले मूल्याङ्कन प्रति किलोग्राम ६४ रुपैयाँ निर्धारण गर्न लबिङ थालेका छन्।



केएल दुगड ग्रुप लगायतका आयातकर्ताले समुद्रपारका मुलुकबाट आयात गरेको चिनी भन्सार मूल्यांकन कुरा नमिलेपछि ५ दिन यता विराटनगर भन्सारमा रोकिएको छ ।यही मौका छोपेर चिनीका उत्पादक यसको भन्सार मूल्यांकन वृद्धि गराउन कस्सिएका हुन् ।चिनीको भन्सार मूल्यांकन प्रति किलोग्राम ६४ बनाउने हो भने यसमा १५ प्रतिशत भन्सार र १३ प्रतिशत भ्याट बुझाउँदा लागत खर्च नै ८३ रुपैयाँभन्दा बढी पर्न जान्छ ।

विराटनगरको खुला बजारमा अहिले चिनीको मूल्य प्रति किलोग्राम ७० देखि ७२ र सीमापारि जोगबनीमा ६२ देखि ६४ छ ।चिनीका स्वदेशी उत्पादकहरू जोगबनीको मूल्यलाई नै मानक बनाएर नेपालमा भन्सार मुल्यांकन निर्धारण गर्न लबिङ गरिरहेको स्रोतले बतायो ।नेपालमा समुद्रपारका ब्राजिल, पाकिस्तान, बङ्गलादेश र थाईल्यान्डबाट चिनीको आयात भइरहेको छ ।

विराटनगर नाकामा यही हप्ता केएल दुगड ग्रुपको मात्र ६० कन्टेनर चिनी आइपुग्ने स्रोतको दाबी छ । ग्रुपका प्रतिनिधि श्याम कनौडियाले चिनीको आयात भइरहेको पुष्टि गरे । तर परिमाणका बारेमा जानकारी दिन चाहेनन् ।एक कन्टेनरमा २० देखि २६ मेट्रिक टन चिनी लोड गरिएको हुन्छ ।
‘अहिले ५ कन्टेनर चिनीमात्र भन्सारको परिसरमा थन्किएको छ’, एक क्लियरिङ एजेन्टले भने, ‘तीन÷चार दिन यही अवस्था भएमा कम्तीमा ५० कन्टेनरको ताँती लाग्नेछ ।’

विराटनगर भन्सार एजेन्ट संघका अध्यक्ष बिजेन्द्र परासरका अनुसार हाल चिनीको मूल्य अन्तर्राष्ट्रिय बजारमा प्रति मेट्रिक टन ३ सय ५० देखि ४ सय डलर छ ।नेपालमा भन्सार विभागले प्रति किलोग्राम ६४ रुपैयाँ मूल्यांकन गर्ने हो भने भन्सारको अन्तर्राष्ट्रिय मर्म, मान्यता र सिद्धान्तको विपरीत हुने अध्यक्ष परासरले प्रतिक्रिया दिए ।

नेपालमा पैठारी गरिने चिनी महँगो बनाउन स्वदेशी उत्पादकले छ महिनादेखि प्रयास गरिरहेका छन् । नेपाल चिनी उद्योग सङ्घको अनुरोधमा कृषि विकास मन्त्रालयले भारत तथा तेस्रो मुलुकबाट आयात गरिने चिनीमा कम्तीमा ५० प्रतिशतले आयात महसुल लगाउनुपर्ने सिफारिस गत असोजमै गरेको थियो ।

तर अर्थका अधिकारीहरूले उक्त सिफारिसलाई कार्यान्वयन गरेनन् ।चुनावअघि अत्यावश्यक खाद्य सामग्री चिनीलाई महँगो बनाउन अर्थका अधिकारी तयार थिएनन् तर पनि चिनी उद्योग सङ्घको दबाब निरन्तर जारी छ ।

चिनीको आयात महसुल हालसम्म १५ प्रतिशत नै छ ।नयाँ अर्थमन्त्रीका रूपमा युवराज खतिवडाले राजस्व प्रणालीमा सुधार गर्दै भन्सार मूल्याङ्कनमा सन्दर्भ मूल्य सूचीलाई मुख्य आधार बनाउन कडा निर्देशन दिएपछि चिनी उत्पादकको सक्रियता फेरि बढेको छ ।

‘चिनी उत्पादकहरू यति बेला भन्सार महसुल होइन, चिनीको भन्सार मूल्यांकन बढाउन पहल गरिरहेका छन्’, स्रोतले भन्यो, ‘अहिले सबै मुख्य नाकामा डाटाबेसअनुसार भन्सार मूल्याङ्कन बढाइएको छ र डाटाबेसमा चिनीको मूल्याङ्कन नभएको अवस्था छ । यही मौका उत्पादकले प्रयोग गरेका हुन् ।


बिस्कुट र कन्फेक्सनरी उद्योगका सञ्चालक र आयात–निर्यातका व्यवसायी चिनीको भन्सार मूल्यांकन वृद्धि गर्न नहुने पक्षमा छन्।‘नेपालको आन्तरिक उत्पादनले चिनीको कुल मागको ४० प्रतिशत पनि धान्दैन’, क्वालिटी बिस्कुट उद्योगका सञ्चालक श्याम काबराले भने, ‘यस्तो अवस्थामा चिनीको भन्सार मूल्याङ्कन प्रति किलो ६४ कायम गरियो भने प्रति किलोग्राम ७० मा पाइँदै गरेको चिनीको मूल्य कम्तीमा ९० रुपैयाँ हुन्छ । यसबाट नेपालका बिस्कुट र कन्फेक्सनरी उद्योगमा ताल्चा लगाउनुको विकल्प हुँदैन ।’

उद्योगी काबराले कानुनी रूपमा आयात गरिएको चिनीमा चर्को महसुल लगाएर महँगो पारियो भने भारतबाट अवैध पैठारी बढ्ने र राजस्वमा ह्रास आउने दाबी गरे ।नेपालका बिस्कुट र चकलेट उद्योग वैध र अवैध रूपमा गरिने आयातसित प्रतिस्पर्धा गर्न नसकिरहेको अवस्थामा चिनीको पैठारीलाई अझ महँगो बनाइनु सर्वथा अनुचित र अन्याय हुने उनले बताए।

उनले भने, ‘चिनी उद्योगलेजस्तै हामीले पनि रोजगारीको सृजना गरेका छौँ र राजस्वमा उल्लेखनीय योगदान पुयाएका छौँ ।’उद्यमी काबराले बिस्कुट र कन्फेक्सनरी उद्योगले औद्योगिक कच्चा पदार्थसरह ५ प्रतिशत महसुलमा चिनीको आयात गर्न पाउनुपर्ने आग्रह गर्दै मुख्य कच्चा पदार्थ नै महँगो महसुल तिरेर ल्याउन बाध्य पारिएको गुनासो गरे ।

‘चिनीजस्तो अत्यावश्यक वस्तुलाई जानीजानी महँगो बनाएर जनताको ढाड सेक्ने षडयन्त्र हुँदैछ’, अर्का व्यवसायी जीवन रिजालले भने,‘नेपालका चिनी उद्योगले वर्षभरि चिनी आपूर्ति गर्न सक्छन् भने त महसुलमा वृद्धि गर्नु ठिकै थियो ।’



Share this Story

   

सन्दर्भ मूल्यसूचीमा चिनीको मूल्यांकन ६४ रुपैयाँ बनाउन लबिङ, भन्सारमा रोकियो चिनी को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.