एनआइसी एसियाका सिईओ लक्ष्मण रिसालले दिए राजिनामा, दुई वर्ष पूरा नहुँदै छाडे

बिजमाण्डू
२०७४ फागुन २४ गते १८:५६ | Mar 8, 2018
एनआइसी एसियाका सिईओ लक्ष्मण रिसालले दिए राजिनामा, दुई वर्ष पूरा नहुँदै छाडे


 
काठमाडौं। एनआइसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालले पदबाट राजीनामा दिएका छन्। २०७३ जेठ ३ गते बैंकको प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका रिसालले दुई वर्ष पुरा नहुँदै बैंक छाड्न लागेका हुन्।
 
एनआइसी एसियाका तत्कालीन सिइओ शशिन जोशीले बैंक छाडेपछि रिसाल सिइओ भएका थिए। रिसालले बैंक छाड्नुको कारण भने सार्वजनिक भएको छैन। बैंकिङ क्षेत्रमा २८ वर्षको अनुभव भएका रिसालसँग बीमा क्षेत्रमा समेत काम गरेको अनुभव छ।

रिसालले जिम्मेवारी सम्हालेपछि बैंक सेवा र कारोवार विस्तारमा एग्रेसिभ भएको थियो।

Tata
GBIME
Nepal Life
लामो समयसम्म एनआइसी बैंकमा काम गरेका उनी प्रमुख सञ्चालन अधिकृत भएपछि प्राइम लाइफ इन्स्योरेन्स कम्पनीमा प्रमुख कार्यकारी अधिकृत भएर गएका थिए। त्यहाँ एक वर्षजति काम गरेपछि उनी तत्कालिन बैंक अफ एसिया नेपाल (अहिले मर्ज भएर एनआइसी एसिया)मा महाप्रबन्धक भए।

मर्जर प्रकृया सुरु भइरहेका बेला उनी त्यहाँ कामु प्रमुख कार्यकारी भएका थिए। मर्जरसँगै एनआइसी बैंकमा भित्रिएका उनी एक वर्षको रिक्ततापछि प्रमुख कार्यकारी अधिकृत भएका थिए।

रिसालले सन् १९९० मा तत्कालिन नेपाल ग्रिन्डलेज बैंकबाट सहायक स्तरमा जागिर सुरु गरेका थिए। ग्रिन्डलेज बैंक स्ट्यान्डर्ड चार्टर्ड बनेपछि उनी त्यहाँ सन् २००४ सम्म बसे। त्यसपछि एनआइसी बैंकमा उनी छिरेका थिए।