यस्तो पनि मासुपसल, ललितपुरका अधिकांश मासुपसल फोहोर, १२ घण्टा डिपफ्रिजमा राखेर खानुस्

रासस
२०७४ फागुन २२ गते १६:५८ | Mar 6, 2018
यस्तो पनि मासुपसल, ललितपुरका अधिकांश मासुपसल फोहोर, १२ घण्टा डिपफ्रिजमा राखेर खानुस्


ललितपुर। शहरका भित्री भागमा सञ्चालन गरिएका मासु पसल फोहोर ठाउँमा रहेको पाइएको छ ।

Tata
GBIME
Nepal Life

जिल्ला पशु सेवा कार्यालयको आयोजनामा सरोकारवाला निकायका प्रतिनिधिले एक सातासम्म गरेको अनुगमनका क्रममा मासु पसलले सफाइमा बेवास्ता गरेको पाइएको हो । बधस्थल र मासु पसल फरक–फरक ठाउँमा हुनुपर्ने व्यवस्था भए पनि धेरै सञ्चालकले एकै ठाउँमा राखेको पाइएको कार्यालयका प्रमुख मोगल साहले बताए । एउटै पसलमा एउटाभन्दा बढी किसिमका  मासु बेच्दा फरक ठाउँमा राख्नुपर्ने नियम छ । कतिपय मासु पसलले एउटै टेबुलमा राख्ने गरेको पाइएको छ ।

 उनले भने, “कतिपय मासु पसलले जानकारी नभएर र कतिले भएर पनि नियम पालना गरेका छैनन् ।”जाली र सिसा राख्नुपर्ने व्यवस्था भए पनि कतिपय मासु पसलले त्यसको पालना गरेका छैनन् । मेलम्ची खानेपानीका लागि सडक खन्दा सडक धुलाम्मे छन् । अनुगमनका क्रममा अधिकांश मासु पसल सडक छेउमा र कतिपय चोकमा पाइएको साहले बताए।

 “सडक छेउका मासु पसल वरपर फोहर मात्र देख्न सकिन्छ,” उनले भने । कम्तीमा १२ घण्टासम्म डिपफ्रिजमा राखेको मासु खानका लागि योग्य मानिन्छ । उक्त अवधिसम्म फ्रिजमा राख्दा मासुमा भएका ब्याक्टेरिया मर्ने साह बताउँछन् । धेरै उपभोक्ताले आलो मासु नै किन्न चाहने हुँदा डिपफ्रिजमा नराखी बेच्ने गरेका पसल सञ्चालकले अनुगमन टोलीलाई बताएका छन् ।

 अघिल्ला वर्षहरुमा भन्दा फ्रिजको प्रयोग बढेको छ । उनले भने, “बिहानदेखि साँझसम्म बिग्रन्छ भनेर पनि पसलेले फ्रिज प्रयोग गर्न थालेका छन् ।” अझै पनि फ्रिजमा राखेको भन्दा आलो मासु किन्न चाहने ग्राहकको संख्या बढी छ । मासुलाई फ्रिज बाहिर राखिरहँदा ब्याक्टेरिया बढ्ने र गुणस्तर कम हुने भए पनि आमउपभोक्तालाई बुझाउन नसकिएको साह बताउँछन्।    मासु पसल कतिपय दर्ता नै नभई सञ्चालनमा रहेका र कतिपय मिति नाघेर पनि नवीकरण नगरिएका पाइएको महानगरपालिकाका नगर प्रहरी प्रमुख कदमलाल महर्जन बताउँछन् । उनले भने, “हामीले  पसललेलाई दर्ता प्रक्रियामा आउन सुझाव दिएका छौँ । कतिपय पसल व्यवस्थित बन्दै गए पनि पुस्तौँदेखि चलेका परम्परागत मासु पसलमा सुधार आएको छैन ।”

 उपभोक्ता हित संरक्षण मञ्चका प्रतिनिधि राम गुरुङ अनुगमनका क्रममा कतिपय पसलेले फोहर भुइँमा फालेको पाइएको बताए ।  उनले भने, “ग्राहकलाई आकर्षित गर्न मासु टेबुलमा पसल बाहिरसमेत राखेको पाइयो ।” उपभोक्तामा चेतनाको कमी रहेको उनले बताए। “उपभोक्तलाई डिपफ्रिजमा राखेको मासुमात्रै किन्नुपर्छ भनेर बुझाउन सकिएको छैन,” उनले भने।

 कार्यालयले टोली बनाएर एक सातामा ६६ वटा मासु पसलको अनुगमन गरेको थियो । महानगरपालिकाको वडा नं १ देखि ६ सम्मका मासु पसलको अनुगमन गरिएको थियो । उपमहानगरपालिका हुँदासम्म यहाँका २२ वटा वडामा झण्डै ३०० वटा मासु पसल दर्ता भएर सञ्चालनमा थिए ।