बियर बजारमा राजबहादुर शाहको प्रवेश, जर्मन बियर वार्सटाइनरको नेपाल यात्रा भित्रको ‘रामकहानी’

बिजमाण्डू
२०७४ फागुन २२ गते ११:५२ | Mar 6, 2018
बियर बजारमा राजबहादुर शाहको प्रवेश, जर्मन बियर वार्सटाइनरको नेपाल यात्रा भित्रको ‘रामकहानी’
 
मदिरा उद्योगमा रुस्लान भोड्कालाई 'अजेय' ब्राण्ड बनाएपछि राजबहादुर शाहलाई नयाँ भेञ्चरमा जानुपर्ने दवाव थियो। मदिरा उद्योगले बनाइदिएको नेटवर्क, बजार र अनुभवले उनलाई भन्यो, अब 'बियर' लगानीकालागि अथाह सम्भावनाको ठाउँ हो।
 
बियर उद्योग स्थापनाकालागि उनले लाइसेन्स पनि लिए। लाइसेन्स लिएपछि नेपालका लागि 'पर्फेक्ट ब्राण्ड'को खोजीमा उनको टिम जुट्यो। 'हामी ब्राण्डको खोजीमा युरोप पुग्यौं, अमेरिकादेखि जापान र अष्ट्रेलियासम्म पुग्यौं'- शाहले बिजमाण्डूसँग भने। 
 
थुप्रै देशका सयौं पबमा उनको टिमले नेपाललाई म्याच गर्ने बियरको स्वाद परीक्षण गर्यो। 
 
तर शाहले खोजेजस्तै स्वाद भेटिरहेका थिएनन्।
 
त्यसो त, लाइसेन्स लिएपछि शाहसँग ज्वाइन्ट भेञ्चर प्रस्ताव गर्ने मल्टिनेशनल कम्पनीको कुनै कमी पनि थिएन। चेकोल्सोभाकियाको एउटा कम्पनीले साझेदारीका लागि निकै रुची देखाएको थियो। बेलायती र बेल्जियम ब्राण्ड पनि शाहसँग छलफलमा थिए।
 
जसरी ह्विस्की स्टकल्याण्डबाट आउँछ, भोड्का रसियाबाट आउँछ बियर जर्मनीबाट आउँछ। ब्राण्डकै खोजीमा शाह आफ्नो टिम लिएर जर्मनी पुगे। तर जर्मनी जहाँ चार हजार ब्राण्डका बियर उत्पादन हुन्छन् त्यसमध्यबाट  उनलाई कुन छान्ने झन कठिन भैरहेको थियो।
 
जर्मनीबाट उनी बिमानमा फर्कंदै थिए, बिमान जर्मनीको राष्ट्रिय ध्वजावहाक लुफ्थान्सा थियो। बियर ब्राण्डको खोजी चक्करमा लागेका शाहले लुफ्थान्सामा पनि ड्रिङ्कका लागि बियरको फर्माइस गरे।
 
उनको अगाडि थियो, जर्मन बियर 'वार्सटाइनर'।
 
पहिलो सिपमै उनलाई त्यसको स्वादले तान्यो। 
 
माइल्ड अनि हलुका तितो। 


 
नेपाली जिब्रोले खोज्ने पर्फेक्ट स्वाद।
 
चार हजार ब्राण्डमध्येबाट लुफ्थान्सा जस्तो राष्ट्रिय ध्वजावाहक बिमान कम्पनीले वार्सटाइनरलाई नै किन छान्यो? 
 
काठमाडौं आएपछि उनी आफू र आफ्नो टिमलाई 'वार्सटाइनरको रिसर्चमा लगाए।
 
वार्सटाइनरको लिगेसी नै यति मजबुत भेटियो कि त्यसको बिकल्प कुनै अरु हुन सक्दैन भन्ने शाहले ठम्याए। शाहका लागि भगवानको सन्देश थियो,  तिमी आँट म पुर्याउँछु। जसरी, एक रसियन नागरिकबाट राजबहादुरका पिता बिजयकुमार शाहले रुस्लान भोड्काको फर्मुला पाएका थिए। ठीक त्यसैगरी। 
 
वार्सटाइनर बियरको सुरुवात सन् १७५३ मा भएको थियो। दुई सय ६५ वर्ष पहिले। 
 
अहिले विश्व बजारमा बियरका बादशाह भनेर चिनिने कार्लसवर्ग र हेनिकन स्थापनाभन्दा पनि सय वर्ष अघि। 
 
यसको अर्को विशेषता भने शाहसँग मिल्थ्यो। वार्सटाइनर एउटा 'फ्यामिलि बिजनेश' थियो। 
 
जसरी राजबहादुर आफ्नो खानदानको छैंठौं पुस्तामा अहिले मदिरा व्यापारमा छन्,  त्यसैगरी वार्सटाइनरको मालिक क्याथ्रिन कार्मर मदिरा व्यापारमा संलग्न परिवारको नवौं पुस्ता हुन्। संयोग कस्तो भने, क्याथ्रिन र शाहको उमेर समूह समेत मिल्छ।
 
शाह भन्छन्, मल्टिनेशनल र फ्यामिलि बिजनेशमा एउटा मुलभूत अन्तर हुन्छ। त्यो हो, नाफा।
 
मल्टिनेशनलका लागि नाफा सबथोक हो। 
 
फ्यामिलि बिजनेशमा नाफाले होइन ‘फ्यामिलि भ्यालुज’ले महत्व राख्छ। यहाँ सम्पत्ती र व्यापार मात्र होइन पारिवारिक मूल्य, संस्कृति र विरासत एक पुस्तादेखि अर्को पुस्तासम्म सर्दै जान्छ।
 
ब्राण्ड, स्वाद, लिगेसी र बिजनेश भ्यालु सबै मिल्ने भएपछि शाहले वार्सटाइनर होल्ड गर्ने कार्मर परिवारसँग पत्राचार सुरु गरे। उनले फ्रेन्चाइजदेखि ज्वाइन्ट भेञ्चरसम्म वा कार्मर परिवारले उद्योग लगाए आफूले सेल्स मात्र भए पनि गरिदिने अनेक मोडलमा प्रस्ताव पठाए।
 
तर कार्मर परिवारले शाहको प्रस्तावमा खास चासो देखाएन्। 
 
उनी आफै पनि जर्मनी पुगेर कार्मर परिवारलाई भेट गरे।
 
नेपाल जहाँ वर्षमा एक करोड ५० लाख केस मात्रै बियर खपत हुन्छ। 
 
वार्सटाइनर जर्मनीको एउटा मात्रै उद्योगले वार्षिक २५ करोड लिटर बियर उत्पादन गर्छ। नेपालमा हुने कुल खपतको तीन दोब्बर। 
 
शाहको प्रस्तावमा उनीहरुले कुनै ठूलो बिजनेश सेन्स नै देखेनन्। 
 
जब शाहले वार्सटाइनरकी प्रवन्ध निर्देशक क्याथ्रीन कार्मरलाई थुप्रै पटकको प्रयासपछि जर्मनीमा भेट गरे। शाहले क्याथ्रिनलाई भने – 'म वार्सटाइनर माउण्ट एभरेष्टको देशमा पुर्याउँछु।'
यहि 'म्याजिक वर्ड'ले कार्मर मुग्ध भईन्। जर्मनी, रसियापछि अर्जेन्टिना पुगेको वार्सटाइनर बियर अब सगरमाथाको देशमा पनि ‘ब्रु’ हुने भयो।
 

Tata
GBIME
Nepal Life

तर त्यसका लागि कार्मरले शर्त राखिन्। वार्सटाइनरको ‘हेरिटेज’मा रहेर काम गर्नुपर्नेछ, गुणस्तरमा कुनै सम्झौता गर्न पाइनेछैन। 'स्टेट अफ दि आर्ट' उद्योग बन्नुपर्छ।

 
शाहले कार्मरको प्रस्तावलाई सहज ढंगले स्वीकार गरे। आखिर मेरो फ्यामिली भ्यालुज पनि त त्यही हो, उनले बिजमाण्डूसँग भने।
 
जर्मनीको वार्सटाइन शहरभन्दा केही बाहिर आन्सवर्ग फरेस्ट नेचर पार्कको छेउमा चार सय एकडमा फैलिएको छ, वार्सटाइनर बियरको प्लान्ट। स्टेट अफ दि आर्ट यही प्लान्टमा अहिले हजारजनाभन्दा बढीले काम गर्छन्। 
 
यो एउटा प्लान्टको मूल्य मात्रै चार अर्व युरोभन्दा बढी छ। यो प्लान्ट यति दिल खोलेर बनाइएको छ, जुन कुनै बहुराष्ट्रिय कम्पनीले बनाउन सक्दैन, शाह भन्छन्, यो एउटा फेमिलीले मात्र गर्न सक्छ।
 
वार्सटाइनरको रेखदेखमा अब शाहले पनि नेपालमा बियर उद्योग लगाउन सुरु गरे। विश्वका उत्कृष्टमध्येको प्लान्ट लगाए, जुन मूल्य लगाएर हामीले अहिले हाम्रो प्लान्ट खडा गरेका छौं, त्यो मूल्यमा साधरण प्लान्ट लगाएको भए कम्तिमा अहिलेभन्दा आठ गुणा ठूलो हुन्थ्यो, शाहले भने।
 
'४० वर्षअघि बुबाले जाउलाखेल डिस्टिलरी सुरु गर्दा पनि हामीले गुणस्तरमा सम्झौता गरेनौं, त्यतिवेला बुवालाई सबैले यो के गरेको भन्थे, परिणाम आज हाम्रा अगाडि छ।'
 
आज मैले पनि वार्सटाइनरकालागि क्रेजी भएर लगानी गरेको छु, सबैले भन्छन्, यो के गरेको? यसको परिणाम पनि आज होइन केही वर्ष पछि आउनेछ, उनले आत्मविश्वास व्यक्त गरे।
 
नभन्दै प्लान्ट मात्रै होइन प्लान्टको भुईंमा लगाउने टायलसम्म जर्मनीबाट आयात भएको छ। 
 

आज जुन स्ट्याण्डर्डमा नेपालको उद्योग तयार भएको छ, त्यो जर्मनीको वार्सटाइनरभन्दा कुनै पनि विन्दुमा कम छैन्, वार्सटाइनर इन्टरनेशलका टेक्निकल निर्देशक थोमस नोजनरले भने।

 
तर यो स्तरको उद्योग लगाउनु सहज भने थिएन। उद्योग खडा गर्ने क्रममै भुकम्प गयो। त्यसबाट तङ्ग्रिंदै गर्दा नाकाबन्दी ।
 
थोमस भन्छन्, ब्रुअरी स्थापना गर्नु आफैंमा चुनौतीपूर्ण काम हो। ब्रुअरी जहाँ स्थापना हुन्छ, त्यस क्षेत्रका मानिसको बुझाई महत्वपूर्ण हुन्छ, गुणस्तर कायम गर्नु अर्को महत्वपूर्ण कुरा हो।

उनले भने, यसैको चक्करमा मैले कति रात अनिँदो बिताएको छु।तर आज सरप्राइज पनि छु। किनकी मेरो हातमा जर्मनीमा होइन नेपालमा 'ब्रु' भएको बियर छ, राज ब्रुअरीको हेडक्वाटरमा थोमसले बोतलबाट बियर ग्लासमा 'पोउर' गरे।

 
बन्नुमा मात्रै होइन, बियर सर्भ गर्नुमा पनि स्वादको भिन्नता हुन्छ, उनले भने। म काठमाडौंमा देख्छु, बोतलबाट बियर गिलासमा फिंज ननिस्कियोस् भनेर सजग भएर 'पोउर' गरिन्छ। 
 

तर त्यस्तो होइन, अझ मिठो स्वाद माथिल्लो भागको कम्तिमा ३० प्रतिशत फिंज निस्कने गरी 'पोउर' गरिएको बियरमा हुन्छ। त्यसमाथि कुलिङ र ट्रेम्प्रेचरको सन्तुलन त मिलाउनु पर्छ नै।
 
गर्मी चढ्दै गरेको काठमाडौंमा मध्य दिउँसो, लञ्च लिनु अघि उनले बियरको एक 'सिप' लिए। 
 
जर्मनीभन्दा स्वादमा कुनै फरक छैन। 
 
हामीले प्रश्न सोध्यौं भुगोल फरक छ, उद्योग फरक हो, यहाँको वातावरण फरक छ भने स्वादमा किन फरक परेन?
 
उनले त्यसका लागि कारण दिए, 'जर्मन प्युरिटि ल'। अचम्म ! बियर बनाउन पनि कुनै कानुन हुन्छ? 
 
हुन्छ।
 
हामी बियर उत्पादनमा 'जर्मन प्युरिटि ल'लाई फलो गर्छौं। राज ब्रुअरीले पनि त्यसलाई फलो गरेको छ, थोमसले जर्मन बियर कानुनको व्याख्या गर्न थाले।
 
वार्सटाइनर बियर चार वस्तुबाट बन्छ। त्यो हो पानी, माल्ट (बियरका लागि प्रशोधन गरिएको अन्न), हप्स  (एक प्रकारको जडिबुटी), माइक्रो अर्गानिज्म यिस्ट (गाउँघरको भाषामा मर्चा)।


 
जर्मनीमा वार्सटाइनर बियर यही चार चिजको मिश्रणबाट उत्पादन हुन्छ, नेपालमा पनि हामीले यही चार चिजको मिश्रण गरेका छौं। यी चार चिजमध्ये बियरको गुणस्तर र स्वादलाई कायम राख्ने तीन चिज माल्ट, हप्स र यिस्ट जर्मनीबाट आयात गरिएको थोमसले बताए।
 
बियरको गुणस्तर बढाउन उन्नतस्तरको हप्स आवश्यक पर्छ, उनले व्याख्या गरे। वार्सटाइनरले आफूलाई चाहिने हप्स उत्पादनका लागि विशेष रणनीति अपनाएको छ। हप्सका लागि एउटा पकेट क्षेत्र बनाइएको छ। 
 
त्यहाँ बिउ राख्नेदेखि लगाउने र फुलाउनेसम्म वार्सटाइनरको रेखदेखमा हुन्छ। राम्रो हप्सका लागि कुन टेम्प्रेचर चाहिन्छदेखि कतिबेला त्यसलाई मलजल गर्नुपर्छ, सबै वार्सटाइनरको विशेषज्ञ टोलीको अनुगमनमा हुन्छ। यसरी तयार पारिएको उन्नत हप्स वार्सटाइनरको वेयरहाउसमा पुग्छ र त्यहाँबाट सिधै नेपाल आउँछ।
 
बाँकी विश्व यी चार चिजवाहेक अन्य वस्तु पनि बियरमा प्रयोग गर्छन्, थोमसले भने, यसरी प्रयोग हुने कृत्रिम हप्स, कम गुणस्तरको अन्न, रासायिनक यिस्ट, बियरको आयु बढाउन प्रयोग हुने प्रिजरभेटिभ्स, फ्लेवर निकाल्नका लागि प्रयोग हुने रासायनिक स्टेबलाइजर्स तथा एर्स्कोबिक एसिडले बियर त बन्छ तर यसले गुणस्तरलाई कायम राख्न सक्दैन। 
 
उनले भने, यस्ता बियर शरीरका लागि अझ बढी हानिकारक पनि हुन सक्छन्।
 
उत्पादन गुणस्तरीय बनाएर मात्रै हुँदैन, बजारमा पुगेको बियर त्यही स्तरमा लामो समयसम्म कसरी कायम राख्ने भन्ने कुरा पनि महत्वपूर्ण हुन्छ। उनले व्याख्या गरे, बियरका लागि हरियो बोतलमाभन्दा खैरो बोतलमा रेसिस्टेन्स धेरै हुन्छ। थोमसले भने, बियरको तापक्रम व्यवस्थापन पनि अर्को महत्वपूर्ण विषय हो, पाँचदेखि आठ डिग्री सेल्सिएसमा राख्दा बियरको स्वाद बिग्रन पाउँदैन। 
 
बियरका लागि अर्को महत्वपूर्ण कुरा हो, 'ब्रु मास्टर'। थोमसले भने, नेपालमा वार्सटाइनर बियरका लागि जो ब्रु मास्टर छन्, उनी निकै अनुभवी छन्, बियरका बारेमा धेरै ठूलो ज्ञान छ। 
 
गुणस्तरीय बियर भनेपछि मूल्य त महँगो हुने नै भयो। तर राजबहादुर शाहले इन्स्ट्यान्ट जवाफ दिए। होइन। 
 
हाम्रो लगानी, उत्पादनका प्रक्रिया र गुणस्तरका हिसाबमा भन्ने हो भने एक बोतल बियरका लागि हाम्रो मूल्य साढे तीन सय रुपैयाँ पुर्नुपर्ने हो। तर हामी यो उत्पादन २९५ रुपैयाँमा बजारमा बिक्री गर्दैछौं।
 
उनले भने, रुस्लान भोड्काका कारण हामीसँग मार्केटिङ स्ट्रेन्थ छ। र हामी यो सेगमेन्टका लागि पनि लामो रेसका घोडा हौं। 
 
बजारमा प्राइसिङका लागि  दुईवटा थ्योरी हुनसक्छ। एउटा थोरै उत्पादन गर्ने महँगो मूल्यमा बेचेर लगानी असुल गर्ने अर्को धेरै उत्पादन गर्ने कम मार्जिन राखेर धेरै नै बिक्रीमार्फत लगानी सुरक्षित गर्ने। 
 
हामी मल्टिनेशनल होइनौं, त्यसैले आजको आजै हामीलाई मुनाफा चाहिएको छैन, फेरि पनि शाह 'फ्यामिली भ्यालुज'मा फर्किए।
 

नेपालको बियर बजारमा अहिले मुनाफा मात्र छैन, सुपर मुनाफा छ, शाहले बियर ब्राण्डबीच भविष्यमा हुने 'टफ फाइट'को संकेत गर्दै भने।
 
केही वर्ष अघिसम्म नेपालको तुलनामा भारतमा बियर नमिठो थियो, तर आजका दिनमा नेपालभन्दा भारतमा बियरको स्वाद परिवर्तन भएको छ। किनभने त्यहाँ  उद्योगमा नयाँ लगानी थपियो, त्यसले विविधता र गुणस्तर ल्यायो, शाहले आफ्नो अनुभव सुनाए।
 
नेपालको मनोपोली बजारलाई वार्सटाइनरले चुनौती दिन्छ। शाहले भने, अब फेरि नेपालको स्ट्रेन्थ माथि जान्छ।
 
थोमस नोसनरले वार्सटाइनरको दोस्रो बोतल खोल्दै भने- मेरो तीन वर्षको नेपाल अनुभवले भन्छ, अब नेपालको बियर कल्चरमा यसले ठूलो परिवर्तन ल्याउँछ। 'पोउर' गरेको पहिलो ग्लास उनले राज ब्रुअरीका निर्देशक सान्तानु श्रेष्ठलाई दिए।
 
श्रेष्ठले 'चियर्स' गरे, नोसनरले जवाफमा भने 'प्रोस्त'।