प्राधिकरणद्वारा परियोजना अनुगमन सूचना प्रणाली सञ्चालनमा, पुनर्निर्माणका प्रगति अपलोड गरिने

बिजमाण्डू
२०७४ फागुन ९ गते १७:२६ | Feb 21, 2018
काठमाडौं। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प प्रभावित जिल्लाहरुमा पुनर्निर्माणको कामलाई पारदर्शी र प्रभावकारी बनाउन‘परियोजना अनुगमन सूचना प्रणाली’ संचालनमा ल्याएको छ।

Tata
GBIME
Nepal Life

भूकम्पपछिको पुनर्निर्माण र पुनर्लाभसँग सम्बन्धित सम्पूर्ण गतिविधि, बजेटको अवस्था लगायतलाई एकद्वार प्रणालीमार्फत् जानकारी दिन र भूकम्प प्रभावित जिल्लाहरुमा भइरहेको कामको केन्द्रीय स्तरबाटै अनुगमन गर्ने उद्देश्यले यस्तो प्रणाली संचालनमा ल्याएको हो । 
 

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) युवराज भूसालले परियोजना अनुगमन सूचना प्रणालीको औपचारिक रुपमा शुभारम्भ गरेका छन्। कार्यक्रममा भूसालले यो प्रणालीको विकासले भूकम्प प्रभावित जिल्लामा पुनर्निर्माण र पुनर्लाभसँग सम्बन्धित कार्यलाई अझै बढी पारदर्शी र जवाफदेही बनाउन सहयोग पुग्ने बिश्वास व्यक्त गरे। 
 
उनले नेपाल सरकार र दाताहरुले दिएको रकम पुनर्निर्माणको काममा सदुपयोग भए नभएको बारे यो प्रणालीमार्फत् सर्वसाधारण जनताले समेत थाहा पाउन र सूचना संकलन गर्न सक्ने बताए । अंग्रेजी भाषामा सुरू गरिएको सो सूचना प्रणाली नेपाली भाषामा पनि संचालन गर्ने योजना रहेको पनि उनले जानकारी दिए ।
 
प्राधिकरणका सचिव मधुसुदन अधिकारीले परियोजना अनुगमन सूचना प्रणाली संचालनमा आएसँगै प्राधिकरणलाई भूकम्प प्रभावित जिल्लाहरुमा भइरहेको कामको अनुगमन गर्न अझै सहज हुने बताए । उनले प्राधिकरणबाट भइरहेका कामलाई सही दिशामा थप प्रभावकारी बनाएर लैजान यस्तो सूचना प्रणालीले ठूलो सहयोग पुग्ने धारणा राखे । 
 
कार्यक्रममा एसियाली विकास बैंकका नेपाल निर्देशक मुख्तोर खामुदखानोभले गुणस्तरीय अनुगमन, प्रगति निगरानीमार्फत् प्रभावकारीपरियोजना व्यवस्थापन गर्ने तथा अनुपालन अनुगमन सुनिश्चितताको उद्देश्यसहित यो प्रणालीको सुरुवात गरिएको बताए । 
 
एसियाली विकास बैंकको आर्थिक सहयोगमा संचालनमा ल्याइएको यस सूचना प्रणालीमा भूकम्प प्रभावित क्षेत्रमा खटिएका प्राविधिकहरूले पुनर्निर्माण भइरहेका परियोजनाका कामको प्रगति विवरण अपलोड गर्नेछन्।