शेयरबजारमा ठूला लगानीकर्ता ‘पर्ख र हेर’को मनस्थितिमा, सूचकसँगै कारोबार रकम पनि खुम्चियो

बिजमाण्डू
२०७४ फागुन ९ गते १५:२४ | Feb 21, 2018

काठमाडौं। नयाँ सरकार आएसँगै केही सुधार हुने संकेत देखिए पनि सरकार गठन तथा सरकारले लिने नीति तथा कार्यक्रम कस्तो आउला भन्ने अन्योलले एक साता पनि नबित्दै बजार पछाडि फर्किएको छ।

Tata
GBIME
Nepal Life

बुधबार शेयर बजार ९.६४ अंकले ओरालो लाग्दा कारोबार रकम पनि २८ करोड ५५ लाख रुपैयाँमा खुम्चिएको छ। ०.६९ प्रतिशतले घटेको बजार १३८७.०८ अंकमा झरेको छ। बुधबार सबै सूचक तथा उपसूचक ओरालो लागेका छन्।

देश नयाँ संरचनामा जाँदै गर्दा भोलिका दिनमा सरकारले कस्ता नीति ल्याउँछ भन्ने कुरामा शेयर बजारका लगानी कर्ता पर्खाइमा रहेको बजार विश्लेषक अनलराज भट्टरार्इले बताए।

देश प्रान्तिय स्वरुपमा जाँदै गर्दा अर्थतन्त्रका स्वरुपहरु कस्तो हुने र सरकार कसरी चल्छ भन्ने कुरा अझै अन्योलमा रहेकोले बजारमा कन्फिडेन्स नदेखिएको उनले बताए। मार्केट डेप्थ हेर्दा डिमाण्ड साइड धरै देखिए पनि ठूला लगानीकर्ता अझै पर्ख र हेरको स्थितिमा रहँदा कारोबार रकम बढ्न नसकेको उनले बताए।

शेयर बजार लगातार घटिरहँदा लगानीकर्ता घाटामा छन् जसले गर्दा बजार केही माथि नजाँदासम्म उनीहरु बेच्न तयार नभएको भट्टराई बताउँछन्। यसले गर्दा सूचक तथा कारोबार रकम पनि घटेको उनको विश्लेषण छ। बजार बढ्ने कन्फिडेन्स भएको भए लगानीकर्ता बेचेर भए पनि थप नाफा ‘बुक’ गर्न तर्फ लाग्ने थिए तर यसको कुनै पनि आधार नवन्दा सम्म बेच्न तयार नभएको उनले बताए।
 
नेपाल राष्ट्र बैंकले मौद्रिक समीक्षामा अर्थतन्त्रलार्इ सपोर्ट गर्ने खालमा कुनै पनि पोलिसी नल्याउँदा लगानीकर्तामा कन्फिडेन्स बढ्न सकेको छैन। शेयर बजार प्रति प्रधानमन्त्री सकारात्मक देखिए पनि उनले भोलिका दिनमा कस्ता पोलिसी ल्याउँछन् भन्ने कुरा आइनसकेको हुँदा सबै अलमलमा परेको भट्टराइको भनाई छ।

शेयर बजारमा ठूला लगानीकर्ताभन्दा पनि मध्यम बर्गिय समुदायको सहभागिता बढ्दै गएको हुँदा सरकारले यस विषयमा सकारात्मक रुपमा सम्बोधन गर्नुपर्ने भट्टराइ बताउँछन्।

बुधबार सबैभन्दा धेरै ओम डेभलपमेन्ट बैंकको तीन करोड ५४ लाख रुपैयाँको करोबार भएको छ। त्यस्तै सूर्योदय लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ३.८८ प्रतिशतले कमाएका छन् भने युनाइटेड मोदी हाइड्रोपावर कम्पनीका शेयर धनीले ५.३८ प्रतिशतले गुमाएका छन्।

बुधबार सबै उपसूचक क्रमश बाणिज्य बैंक ८.८६, होटल १९.८२, विकास बैंक १२.५२, हाइड्रोपावर १८.४३, फाइनान्स ५.५८, बीमा ३६.९८, उत्पादन तथा प्रसोधन ९.२८, अन्य ६.५२ र माइक्रोफाइनान्स ३.९ अंकले ओरालो लागेका छन्।