प्राइम लाइफको १६०% हकप्रद फागुन १७ सम्मका शेयरधनीलाई, नपुग पूँजी कसरी पुर्याउला?

बिजमाण्डू
२०७४ फागुन ९ गते ११:१५ | Feb 21, 2018

काठमाडौं। प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले चुक्ता पूँजीको १६० प्रतिशत हकप्रद फागुन २७ गतेदेखि निष्कासन गर्ने भएको छ। कम्पनीको हकप्रद फागुन १७ गतेसम्म कायम भएका शेयरधनीले खरिद गर्न पाउने छन्।

Tata
GBIME
Nepal Life

कम्पनीले प्रति कित्ता १०० रुपैयाँको दरमा ९७ लाख ६३ हजार २०० कित्ता हकप्रद निष्कासन गर्ने भएको हो। हकप्रद आवेदनकालागि कम्पनीले फागुन २७ गतेदेखि बैशाख २ गते सम्म बिक्री खुल्ला गर्ने धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जानकारी दिएको छ।

हकप्रद आवेदनकालागि प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको केन्द्रीय तथा शाखा कार्यालयहरु, सिद्धार्थ क्यापिटल नारायणचौर र आस्वा सेवा प्रदायक सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरु रहेका छन्।

कम्पनीको हकप्रदको क्रेडिट रेटिङ 'इक्रा एनपि आइपिओ ग्रेड ४' रहेको छ। यस्तो रेटिङलार्इ औसतभन्दा तलको ग्रेड मानिन्छ।

कम्पनीको अधिकृत पूँजी २ अर्ब ५० करोड रुपैयाँ रहेको छ भने हालको चुक्ता पूँजी ६१ करोड २ लाख रुपैयाँ रहेको छ। हकप्रद निष्कासन पश्चात चुक्ता पूँजी एक अर्ब ५८ करोड रुपैयाँ पुग्नेछ। जसमा संस्थापक शेयरधनीको ७० प्रतिशत अर्थात एक अर्ब ११ करोड रुपैयाँ र सर्वसाधारण तर्फ ३० प्रतिशत अर्थात ४७ करोड ५९ लाख रुपैयाँ कायम हुनेछ।

बीमा समितिले निर्देशन गरेको २ अर्ब रुपैयाँ चुक्ता पूँजी पुर्याउन कम्पनीले अझै ४१ करोड ३४ लाख रुपैयाँ पूँजी जुटाउनु पर्नेछ। कम्पनीको जगेडा कोषमा ९० करोड १२ लाख रुपैयाँ रहेको छ। यसैबाट कम्पनीले पूँजी पुर्याउन चाहेमा सजिलै दुर्इ अर्ब रुपैयाँ जुटाउन सक्ने देखिन्छ।

कम्पनीले गत आर्थिक वर्षमा १२.५ प्रतिशत बोनस शेयर दिएको थियो। कम्पनीले जगेडा कोषलार्इ नचलाइ हकप्रदको बाटो रोजेको देखिन्छ। त्यसैले जगेडा कोषलार्इ थप बलियो बनाउन चाहेको देखिन्छ। दोस्रो बजारमा कम्पनीको कारोबार एक वर्षको अवधिमा अधिकतम २९०० र न्यूनतम ११८० रुपैयाँसम्मको कारोबार भएको देखिन्छ । मंगलबार कम्पनीको शेयरको क्लोजिङ प्राइस १६३६ रुपैयाँ थियो।