चार करोडको मर्सिडिज मगाएर भन्सारमै थन्काउने ब्यवसायी को हुन्? ३८ वटा महँगा गाडी भन्सारमै

बिजमाण्डू
२०७४ फागुन ९ गते १०:१९ | Feb 21, 2018
चार करोडको मर्सिडिज मगाएर भन्सारमै थन्काउने ब्यवसायी को हुन्? ३८ वटा महँगा गाडी भन्सारमै
वीरगंज। भारतबाट रेल्वे ट्रयाकले जोड्ने एक मात्र ड्राईपोर्ट हो, वीरगंजको सिर्सिया सुक्खा बन्दरगाह। ड्राईपोर्ट भएर फलाम, बोराबन्द समान र मंहगा मदिरा त आउँछन् नै, पछिल्लो समय महँगा विलासी गाडीहरु खुब आउन थालेको छ,यो नाका भएर।


 
विलासी गाडी फुट्ने डरका कारण कन्टेनरमा वीरगंज र यहाँबाट देशभर लैजाने गरिन्छ। त्यस्तै विलासी गाडीहरुमध्ये करिब ३८ वटा महँगा गाडीहरु हाल थन्केर बसेका छन्। नेपालका आयातकर्ताहरुले गाडी नउठाउँदा थन्केर बसेको सिर्सिया सुक्खा बन्दरगाहका सूचना अधिकारी धनबहादुर बरुवालले बताए।
 
‘नेपाली आयातकर्ताहरु पार्टीको अर्डर अनुसार प्रतीत पत्र (एलसी) खोलेर विदेशबाट गाडी त मगाउँछन्, तर महँगा गाडीको राजस्व पनि महँगो नै पर्छ, त्यसैले पैसाको बन्दोबस्त गर्न केही साता उनीहरु भौतारिन थाल्छन्,’ उनले बिजमान्डूसँग भने, ‘ग्राहकले बिक्रेताको खातामा पैसा जम्मा गरेपछि मात्र यस्ता गाडीहरु भन्सारबाट छुटाएर लगिन्छ। जसका कारण गाडी लैजानमा ढिलाई भएको हो।' अर्को कारण गाडी आयातकर्ताहरु ग्राहकको पैसा पाएर पनि बाटोमा गाडी आउँदैछ भनी अल्झाएर राख्ने गरेका छन् र त्यो पैसा होल्ड गरेर उनीहरु अर्को गाडी मगाउने गर्छन्।


 
‘एउटा गाडी नेपालमा किन्दा करिब अढाई करोडदेखि ४ करोडसम्म पर्छ। राजस्वको कुरा गर्ने हो भने एउटा गाडीको राजस्व ५० लाखदेखि २ करोडसम्म बुझाउनु पर्छ, ’उनले भने।
 
ड्राईपोर्टमा हाल मर्सिडिज ६ वटा, फोर्डको कार ८ वटा, पिजियोट १७ वटा र एमजी ७ वटा गरी कुल ३८ वटा विलासी गाडी यार्डमा थन्केर बसेका छन्। गाडी उठाउन जति लम्बिन्छ आयातकर्ताको शुल्क पनि उनी नै बढ्दै जान्छ। 


 
मर्सिडिज दीपक गौतम एण्ड कम्पनी, फोर्ड जिओअटो मोबाइल्स, पिजियोट सांग्रिला मोटर पार्टस र एमजी एसएलआर टेक्नोले नेपाल आयात गर्ने गर्छन्। यी चार वटै आयातकर्ताहरु काठमाडौकै हुन्। मर्सिडिज २६ देखि ३५ हजार युरो, पिजियोट १९ देखि २३ हजार युरो, फोर्ड १८ देखि २२ हजार अमेरिकन डलर र एमजी ११ देखि १३ हजार अमेरिकी डलरमा खरिद गरी नेपाल ल्याइन्छ। गाडीको मोडल अनुसार खरीद मुल्य फरक पर्ने गर्छ। 

Tata
GBIME
Nepal Life