साञ्जेन र रसुवागढीलार्इ लक्षित गर्दै डिम्याट खोल्ने प्रतिस्पर्धा, घरदैलोमा नि:शुल्क सेवा

बिजमाण्डू
२०७४ फागुन ७ गते १५:५१ | Feb 19, 2018

काठमाडौँ।प्राथमिक शेयरलाई लक्षित गर्दै बैंक र क्यापिटल मर्चेन्ट बैंकरबीच (डिम्याट)हितग्राही खाता खोल्ने प्रतिस्पर्धा सुरु भएको छ।

Tata
GBIME
Nepal Life

ग्राहक आकर्षित गर्न केही बैंक र क्यापिटल कम्पनीले नि:शुल्क सेवा दिन थालेका छन्।कतिपय बैंक घरमै पुगेर न्यूनतम शुल्कमा खाता खोल्ने सेवा दिन थालेका छन्। तरलता अभावमा रहेका बैंकहरुले आफ्नो निक्षेप सुरक्षित गर्न खाता खोल्ने अभियान चालाएका हुन भने ।क्यापिटलले दैनिक आम्दानी बढाउन डिम्याट खाता खोल्न थालेका हुन्।

केन्द्रीय निक्षेप प्रणाली (सिडीएससी)ले फागुन ११ गते देखि निष्कासन हुने प्राथमिक शेयरमा सी-आस्बा अनिवार्य गरेसँगै नबिल बैंकले सोमबार सूचना प्रकाशित गर्दै सी-आस्वामार्फत प्राथमिक शेयरमा आवेदन दिँदा आवश्यक पर्ने सिआरएन नम्बर नि:शुल्क उपलब्ध गराउने जनाएको छ। बैंकले सी-आस्वामार्फत प्राथमिक शेयरमा आवेदन दिँदा नि:शुल्क सेवा समेत दिने भएको छ। बैंकले यस अघि आस्वा सेवा दिए बापत एकसय रुपैयाँ लिदै आएको थियो।बैकले सम्पूर्ण शाखा र  नबिल इन्भेस्टमेन्टमा नि:शुल्क डिम्याट खाता खोल्न सक्ने जनाएको छ।

कुमारी बैंकले सान्जेन जलविद्युत कम्पनी र रसुवागढी हाइड्रोपावर कम्पनीले जारी गर्न लागेको प्राथमिक शेयरको लागि सी-आस्वामार्फत आवेदनका लागि निशुल्क खाता खोल्ने सेवा ल्याएको जनाएको छ। सिटिजन्स बैंकले माथिल्लो तामाकोशी लगायतका प्राथमिक शेयरलाई लक्षित गर्दै दोलखा जिल्लाका विभिन्न गाउँमा बैंक खाता र डिम्याट खाता एकैचोटी खोल्ने अभियाननै चलाएको छ। बैंकले  पाँच सय रुपैयाँ लिएर बैंक खाता खोलिदिने र त्यसैमा डिम्याट खाता उपलब्ध गराएको छ।

बैंकले तामाकोशीको शेयर निष्कासन नहुन्जेलसम्म गाँउमा गएर खाता खोल्ने अभियान जारी रहने जनाएको छ। बैंकले नगद खाता बैंकमा र डिम्याट खाता सीबिआईएल क्यापिटल मार्फत खोल्दै आएको छ। प्रभावित क्षेत्रका लगानीकर्ता, बैंक र क्यापिटललाई दीर्घकालिन पुर्याउन अभियान चलाएको सीबिआईएल क्यापिटलका प्रमुख कार्यकारी अधिकृत समिर दाहालले जानकारी दिए।पछिल्लो समय क्यापिटल व्यवसायमा प्रतिस्पर्धा बढेकोले डिम्याट खाता बढाउन स्कीम ल्याएको उनले बताए।

बैंकमा खाता खोल्दा प्राथमिक शेयर आबेदनकर्ताको पैसा बैंकमै रहने र डिम्याट खाता हुँदा क्यापिटललाई दोस्रो बजारमा गरिएको प्रत्येक कारोबारबाट २५ रुपैयाँ पाउने दाहालले बताए। लक्ष्मी क्यापिटलले विगत एक महिना देखि डिम्याट खाता खोल्ने अभियान थालेको छ। क्यापिटलले सान्जेन र रसुवागढी हाइड्रोपावरको प्राथमिक शेयरलाई लक्षित गर्दै अभियान सुरु गरेको हो।

क्यापिटलले कर्मचारी संचय कोषको ठमेलस्थित कार्यालयमा छुट्टै स्टलनै राखेर डिम्याट खाता खोलिरहेको जनाएको छ। सान्जेन र रसुवागढी हाइड्रोपावरको प्राथमिक शेयर निष्कासन बन्द नभएसम्म स्टलमार्फत खाता खोलिने क्यापिटलले जनायो।