काठमाडौंमा जग्गा किन्नुभन्दा घर किन्न फाइदा, ६० लाख रुपैयाँदेखि ८० लाखमा पाइन्छ सस्तो घर

बिजमाण्डू
२०७४ फागुन ७ गते १०:४३ | Feb 19, 2018
काठमाडौंमा जग्गा किन्नुभन्दा घर किन्न फाइदा, ६० लाख रुपैयाँदेखि ८० लाखमा पाइन्छ सस्तो घर


काठमाडौं। जग्गाको कित्ताकाट रोकिएपछि काठमाडौंमा जग्गा किन्न पाउनु भएको छैन? अव जग्गा किन्ने पैसामा घरनै किन्नुस।

Tata
GBIME
Nepal Life

बुढानिलकण्ठको बालुवाखानीमा बिक्रीका लागि राखिएको घर। तस्विर: घरजग्गा नेपाल डटकमबाट

काठमाडौं उपत्यकाको भित्री र बाहिरी चक्रपथको बिचमा बनेका घरहरु ६० देखि  ८० लाख रुपैयाँसम्ममा किन्न पाईन्छ। राम्रो दुई तले घर भए एक करोड रुपैयाँ सम्ममा छानी/छानी किन्न सकिन्छ।काठमाडौं, भक्तपुर र ललितपुरका भित्री चक्रपथ भन्दा केही बाहिरमात्र ४ कोठाका एक तलामा बनेको घर ६० लाख रुपैयाँ देखि बिक्री भइरहेका छन्।

ती ठाउँमा जग्गाको मूल्य प्रति आना १० देखि १५ लाख रुपैयाँ सम्म पर्छ।जग्गा किनेर घर बनाउनुभन्दा बनेकै घर किन्नु फाइदा हुन्छ।घर बनाउन चार आना जग्गा किन्दा ६० लाखकै हाराहारीमा पर्छ।तर अहिले काठमाडौंमा राम्रोसँग खोजेमा ६० लाख रुपैयाँदेखिका घर सजिलै पाउन सकिन्छ।

सरकारले कित्ताकाट गर्न रोक लगाएपछि कतिपय व्यवसायीले घर बनाएर बेच्न थालेका छन्।ती जग्गा पहिलेनै सस्तोमा किनेकोले घर सस्तो भएको हो।ललितपुर इमाडोलका नारायण दुलाल घर बनाएर बिक्री गर्छन्। उनले यो क्षेत्रमा ३ आना जग्गामा बनाएका ४ कोठे एक तले घर ८५ लाख देखि एक करोड १० लाख रुपैयाँ सम्मका छन्।

जग्गाको मूल्य प्रति आना २० लाख रुपैयाँ भन्दा बढी परेकोले घरको मूल्य ८० लाख रुपैयाँ भन्दा बढी भएको उनले बताए।बालुवा खानी, चुनिखेल कपन क्षेत्रमा पनि बनाएको घर ६० लाख रुपैयाँ देखि माथी किन्न पाईन्छ।यो क्षेत्रमा तीन आनामा बनेको दुई तला घरको मूल्य पनि ८० देखि ९० लाख रुपैयाँ मात्रै रहेको छ।


गोदावरीमा चार आनामा बनेको  घर ८० लाख रुपैयाँमा बिक्रीका लागि राखिएको छ।तस्विर:घरजग्गा नेपाल डटकमबाट

चुनिखेलका भीम केसीले अढाई तलाको नक्सा पास गरेको घर ८० लाख रुपैयँमै बेच्ने बताए। ८ वटा कोठा रहेको दुर्इ तलाको घरको मूल्य ८० लाख रुपैयाँ मात्रै हो।यो क्षेत्रमा एक तले घरको मूल्य ६० लाख रुपैयाँ हाराहारी पर्ने उनले बताए।मनमैजु क्षेत्रमा पनि एक तले घरको मूल्य ७० देखि ८० लाख रुपैयाँ सम्म पर्ने मनमैजुका जग्गा व्यवसायी भावुक बिसीले बताए।

‘जग्गाको मूल्यनै महंगो छ। प्रति आना २५/२६ लाख रुपैयाँ जग्गाको मूल्य पर्ने ठाउँमा तीन आनामा बनाएका एक तले घर ९० लाख रुपैयाँमा बेचीरहेका छौ,उनले भने।काँडाघारी भक्तपुर क्षेत्रमा पनि सस्तो जग्गामा बनेका घरहरु पाइन्छ। प्रति आना २० लाख रुपैयाँ पर्ने तीन आना जग्गामा बनेको अढाई तला घरको मूल्य एक करोड १० लाख रुपैयाँ पर्ने काडाघारीका जग्गा व्यावसायी बुद्ध श्रेष्ठले बताए।

‘सस्तो जग्गा पाईयो भने एक तला घरको मूल्य ७०/८० लाख रुपैयाँ सम्ममा पानि आउला। तर अहिले जग्गाको मूल्यनै बढेकोले घरको मूल्य महंगो पर्छ, उनले भने। उपत्यकाका काठ क्षेत्रमा जग्गाको मूल्य प्रति आना १० लाख रुपैयाँ घटी छैन। चार आना जग्गा किनेर घर बनाउने सोच बनाएका व्यक्तिले बनेको घरहरु ६०/७० लाख रुपैयाँ देखि महंगो जग्गा भएमा ८०/९० लाख रुपैयाँ सम्ममा किन्न सक्ने उनी बताउँछन्।

सरकारले खेतीयोग्य जमिनको खण्डीकरणमा रोक लगाएपछि अहिले काठमाडौंमा प्लटिङ व्यावसाय रोकिएको छ। खेतीयोग्य जमिनमा अनुमति लिएका वा नलिएका कुनै पनि कम्पनी वा व्यक्तिले प्लटिङ गरेर घर घडेरी बिक्री गर्न सक्दैनन्।

यस्तो बेलामा जगगाको प्लटिङ गरेका व्यावसायीले घर बनाएर बेच्न तयार भएका हुन्। सरकारले अहिले जग्गा प्लटिङ मात्रै गर्ने कम्पनीलाई अनुमति दिएको छैन। हाउजिङ/अपार्टमेन्ट बनाउने कम्पनीलाई खेतीयोग्य जमिन नभएमा घर बनाएर बेच्न अनुमति दिएको छ।

उपत्यकाका थानकोट, कीर्तिपुर, भैसपाटी, गोदावरी, भक्तपुर, काँडघारी, मूलपानी, कपन, बुढानीलकण्ठ, टोखा, मनमैजु, नागार्जुन लगायतका क्षेत्रमा बनेका घरहरु सस्तो मूल्यमा पाउन सकिन्छ।