रेष्टुरेन्टको पुरानो कन्सेप्ट भत्काउँदै ‘त्रिशारा’, तीन युवाको ड्रिम प्रोजेक्टको सफलता

बसन्तराज उप्रेती/बिजमाण्डू
२०७४ फागुन ६ गते ०९:३९ | Feb 18, 2018
रेष्टुरेन्टको पुरानो कन्सेप्ट भत्काउँदै ‘त्रिशारा’, तीन युवाको ड्रिम प्रोजेक्टको सफलता

काठमाडौं। खान र रिफ्रेस हुनका लागि रेष्टुरेन्ट जानु सामान्य हो। तर ‍सातवर्षअघि तीन युवाहरु काठमाडौंका रेष्टुरेन्ट एकपछि अर्को गर्दै महिनौं लगाएर घुम्दै गर्दा उनीहरुको उद्देश्य भने फरक थियो।

Tata
GBIME
Nepal Life

रौनक शमशेर जबरा, अरुणकृष्ण श्रेष्ठ र शोभनबीर मालाकार तिनैमध्येका युवा हुन् जो अहिले त्रिशारा ब्राण्डको चेन रेष्टुरेन्ट चलाइरहेका छन्। केही समय काठमाडौंका बिभिन्न रेष्टुरेन्टको माहोल अध्ययनमा समय बिताएका उनीहरुले अन्तत: पारिवारिक वातावरण र लाइभ म्युजिकको फ्युजनसहितको रेष्टुरेन्ट स्थापना गरे।

‘हामी तीनैजना भेट हुँदा जहिल्यै ब्यवसायकै कुरा हुन्थ्यो’- एमबिए गरेका शोभन र लण्डनबाट हस्पिटालिटी म्यानेजमेन्टमा ग्रयाजुएसन गरेका रौनकको हुटहुटीमा साथ दिए ठमेलमा फूलमुन बार संचालन गरिरहेका अर्का साथी अरुणले। सन् २०१० को नोभेम्बरमा उनीहरुको सपनाले पँखेटा हाल्यो। रौनककै पैतृक जग्गामा त्रिशारा खुल्यो।

'त्रिशारा' संस्कृत शब्द हो। तीनवटाको अर्थ दिने 'त्रि' र बगैँचाको अर्थ दिने 'शारा'ले स्वर्गलोक, आकाश र धर्तीमा रहेको हेभन गार्डेन अर्थात सुन्दर बगैँचालाई जनाउँछ। तीन साथीको सपनालाई एकैसाथ जोड्ने नाम त्रिशारा जुराइदिएकी थिइन् शोभनकी दिदी संश्रिताले।

शान्त र प्राकृतिक वातावरण त्रिशाराको बिशेषता हो। लाइभ म्यूजिक भएपनि होहल्ला छैन। ‘माइल्ड म्यूजिक’ लाई नै सुरुदेखि नै आफ्नो परिचय बनाएको शोभनले बताए। पुग्ने जो कोहीलाई सम्झना होस् भनेर खुलेको ६ महिनापछि नै फोटो क्याप्चर गर्ने काम पनि त्रिशाराले थाल्यो। ‘त्रिशाराको फेसबुक पेजमा जानेहरुले आफ्नो तस्विर पाउन सक्ने ब्यबस्था मिलाएका छौं।’-शोभनले भने।

त्रिशारामा नेपाली खानाका साथै थाइ, चाइनिज, बर्मिज, इटालियन परिकारको फ्युजन स्वाद लिन सकिन्छ। त्रिशारामा पेय पदार्थ बाहेक जम्मा एक सय ७६ वटा परिकारको मेनु छन्।ब्यवासायी बुवा सुरेन्द्रवीर मालाकारले अघि बढाएको ‘अटो’ ब्यापारमा नसघाएपनि होटल ब्यवसायमा शोभनले बुवाको ‘गाइडेन्स’ पाएको बताए। शोभनले रेष्टुरेन्टसँगै गार्मेन्ट ब्यवसाय पनि चलाइरहेका छन्। उनी भन्छन्- ‘हस्पिटालिटी मेरो 'प्यासन' हो। मानिसहरुको जमघटमा रमाउँछु। ग्राहकको मन जित्न सक्ने अवसरको खोजीमा हुन्छु।’

यसरी हुँदैछ बिस्तार

सन् २०१० नोभेम्बरमा  साढे एक रोपनीमा पहिलोपटक लाजिम्पाटमा खुलेको थियो त्रिशारा। सुरुको दुई वर्ष ग्राहक तान्ने कोशिशमा खर्चिएका उनीहरुलाई  नजिकका साथीभाई र परिवारले साथ दिए।  खुलेको तेस्रो वर्षदेखि भने ग्राहकको चाप बढ्न थाल्यो।

काठमाडौंको लाजिम्पाटमा खुलेको तीन वर्षपछि 'त्रिशारा' पोखरामा फैलियो। ६ सयजना अटाउनेगरी दुई रोपनीमा फैलिएको पोखराको त्रिशाराले ब्राण्डभ्यालु बढाउने काम गर्यो।अबको एक महिनापछि काठमाडौंकै दरबारमार्गमा 'त्रिशारा' को नयाँ शाखा खुल्दैछ। दर्वारमार्गमा खोल्न लागिएको त्रिशाराले ३० वर्षमाथिको समूहलाई लक्षित गरेको शोभन बताउँछन्। उनी भन्छन्- ‘युवा वर्गलाई मात्र लक्षित गर्दा दिगो हुँदैन। सबैलाई समेट्न सक्नुपर्छ।’

लाजिम्पाटदेखि दर्वारमार्गसम्मको दुरी त नजिकै हो। तर पनि दरबारमार्गको फरक पहिचान र क्रेज छ। काठमाडौं आउने जोकोही पनि एकपटक दरबारमार्ग पुगेकै हुन्छन्। शोभन भन्छन्- ‘दरबारमार्गमा फरक किसिमको एम्बिएन्स क्रियट गर्न लागेका छौं।’ हप्ताको बुधबार, शुक्रबार र शनिबार ग्राहकले अगाडिनै बुकिङ गरेर आउनुपर्ने नियम रहेको उनले बताए।

उनका अनुसार लाजिम्पाट स्थित त्रिशारामा शुक्रबार र शनिबारको दिन 'फूल अक्युपाइड’ हुने र प्रायजसो दुई सय जना जति ग्राहक पस्नै नपाइ फर्किने गरेका छन्। त्यस्तो अवस्थामा आफूलाई निकै दूख लाग्ने बताउँदै शोभनले दरबारमार्गमा त्रिशारा खुलेपछि ठाउँको अभावलाई पूरा गर्ने बताए। ५८ सय स्क्वायर फिटमा बन्न लागेको दरबारको त्रिशारामा तीन सयजना अटाउने उनले जानकारी दिए।    

काठमाडौंकै विभिन्न आठवटा स्थानमा त्रिशाराका शाखा खोल्ने योजनामाथि पनि शोभन र उनको समूहले काम गरिरहेको छ। यी शाखाहरु साना ‘आउटलेट’का रुपमा रहने र त्यहाँबाट ग्राहकले त्रिशारामा उपलब्ध हुने सबै किसिमका खाना तथा पेय पदार्थ लिन सक्ने शोभनले बताए। उनका अनुसार हरेक आउटलेटमा करिब एक करोड रुपैयाँको लगानी हुनेछ।

रोजगारी र अवसर
त्रिशाराको लाजिम्पाट शाखामा मात्र सेफ, वेटर, व्यवस्थापक लगायत ७० जना कर्मचारी कार्यरत छन् भने पोखरामा ४२ जना कर्मचारी कार्यरत छन्। दरबारमार्गमा खुल्ने त्रिशाराकालागि ४० जना कर्मचारी लिइसकेको शोभनले जानकारी दिए।

त्रिशारामा बाउन्सर हुँदैनन्। शोभन भन्छन्- ‘रेष्टुरेन्टमा कालो लुगा लगाएर वाकीटकी लिएर ज्याङ्गो मान्छे उभिँदा ग्राहकको मनमा आशंका र भय पस्छ।’ त्यसैले त्रिशाराले सुरु देखि नै बाउन्सरको अवधारणा बोकेन। शोभन भन्छन् –‘ सर्वसाधारणको मनस्थिती बुझ्न सक्नु नै रेष्टुरेन्टमा सफलता पाउने पहिलो सुत्र हो।’