पिएनबी बैंकबाट ‘लुटियो’ एभरेष्ट बैंकको कुल निक्षेपभन्दा दोब्बर रकम, को हुन् घोटाला गर्ने ?

बिजमाण्डू
२०७४ फागुन ४ गते ११:३० | Feb 16, 2018
पिएनबी बैंकबाट ‘लुटियो’ एभरेष्ट बैंकको कुल निक्षेपभन्दा दोब्बर रकम, को हुन् घोटाला गर्ने ?


बुधवार 'भ्यालेन्टाइन डे'। भारतमा यो दिन सबैभन्दा बढी रकमको कारोवार हिराको हुन्छ। र यही हिरासँग जोडिएर भारतमा एक खर्ब ११ करोड भारु (एक खर्ब ८० अर्ब नेपाली रुपैयाँ) बराबरको बैंक घोटालाको खबर सार्वजनिक भयो।

Tata
GBIME
Nepal Life

यो घोटाला भएको थियो, नेपालको एभरेष्ट बैंकको प्यारेन्ट कम्पनी पञ्जाव नेशनल बैंक (पिएनबी)मा तथा यसका सुत्रधार थिए, हिरा कारोबारी निरव मोदी। निरव मोदी, जो यो घोटालाको पोल खुल्नु एक साता अघि स्विजरल्याण्डमा भएको वर्ल्ड इकोनोमिक फोरम जसलाई डाभोस सम्मेलनका रुपमा समेत चिनिन्छ, त्यहाँ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग तस्वीर लिइरहेका थिए।

नेपालको एभरेष्ट बैंकसँग जति पैसा निक्षेप छ, त्योभन्दा करिब दोब्बर ठूलो रकमको यो घोटाला पञ्जाव नेशनल बैंकको एउटा शाखाबाट भएको थियो। र यो घोटाला केही समय अघि ह्याकरले एनआइसी बैंकको पैसा जसरी उडाउन खोजेका थिए, त्यही शैलीमा तर ह्याकरले नभई कर्मचारीको सहयोगमा भएको थियो।

अचम्म लाग्दो यो घोटालाको सुरुवात सन् २०११ मा सुरु भएको थियो। र यो घोटाला पत्ता लगाउन पञ्जाव नेशनल बैंकलाई सात वर्ष लाग्यो। बैंकमा जहाँ एक/एक रुपैयाँको हिसाबको गडबढी पत्ता लाग्छ, तर एक खर्ब ८० अर्ब रुपैयाँको घोटाला कसरी सात वर्षसम्म लगातार जारी रहँदा पनि कसैले किन समात्न सकेन्?

बैंकको हरेक दिन आन्तरिक अडिट हुन्छ, साप्ताहिक, मासिक, त्रैमासिक, अर्धवार्षिक र वार्षिक अडिट हुन्छ। यो अडिट बैंकले मात्रै नगरेर चार्टर्ड एकाउण्टेन्टले समेत गर्छन। भारतमा पनि केन्द्रिय बैंकले समेत बैंकको अनसाइट अडिट गर्छ। तर यो अडिटमा यति ठूलो घोटाला कसरी लुक्यो? सबैको दिमाग नराम्रोसँग हल्लिएको छ।

सञ्चारमाध्यममा सार्वजनिक तथ्यअनुसार यो घोटाला लेटर अफ क्रेडिट (एलसी) र त्यसलाई भूक्तानी दिन प्रयोग गरिने स्विफ्टसँग आधारित छ। घोटालाको कारोबार दैनिक बैंकिङ ट्रान्जेक्सन प्रोसेस गर्ने (कोर बैंकिङ सिस्टम)लाई बाइपास गरेर गरिएको थियो।घोटाला गर्नेहरुले एलसी कारोबारमा स्विफ्टमार्फत भएको भूक्तानीलाई पञ्जाव नेशनल बैंकको कोर बैंकिङ सिस्टम 'फिनाकल'मा पोस्ट नगरेको सार्वजनिक गरिएको छ। स्विफ्टबाट भएको भूक्तानीलाई फिनाकलबाट अलग गरेपछि त्यो कारोबार दैनिक रिपोर्टिङभन्दा बाहिर गएको थियो। यही लुपहोललाई प्रयोग गरेर पिएनबिका कर्मचारी तथा हिरा कारोवारी निरव मोदीले बैंकको एक खर्ब ८० अर्ब रुपैयाँ लुटेका थिए।

गैरआवासीय भारतीय निरव मोदी भारतमा हिरा कारोबारका लागि आएका थिए। उनले विदेशबाट कच्चा हिरा आयात गरेर त्यसलाई प्रशोधन गरेपछि भारतमा बिक्रीगर्नेदेखि लिएर विदेशसम्म निर्यात गर्थे। यसरी कच्चा हिरा आयातका लागि चाहिने एलसी खोल्न मोदी पिएनबिको सम्पर्कमा पुगेका थिए।

मोदीले पिएनविबाट एलसी जारी गर्थे, जुन एलसीको भूक्तानी स्विफ्टमार्फत मोदीले हिरा आयात गर्ने विदेशी कम्पनीलाई दिन्थे। उनले जारी भएको एलसीको भूक्तानी पिएनबीलाई साधरणतया तीन महिना भित्रमा गर्थे।कारोबार बढ्दै गएपछि पिएनबिका कर्मचारीले मोदीसँगको मिलेमतोमा फर्जी एलसी जारी गर्न थाले। यही फर्जी एलसीका आधारमा केही भारतीय(एक्सिस र इलाहावाद बैंकसहित) बैंकका विदेशी शाखाले पिएनबिबाट भुक्तानी लिने गरी निरव मोदीलाई डलरमा ऋण दिए। उनीहरुले यो ऋण पिएनबिका कर्मचारीले स्विफ्टमार्फत दिएको सन्देशअनुसार दिने गर्थे।

ऋण दिनका लागि भारतीय बैंकहरुले आफ्ना नोस्ट्रो एकाउण्ट(भारतीय बैंकका विदेशी बैंकमा हुने खाता)हरु प्रयोग गरेका थिए। यसरी दिएको ऋण मोदीले हिरा आयात गर्ने फर्ममा पुग्थ्यो।

को हुन् निरव मोदी?
निरव मोदीको परिवार बेल्जियमको ऐंटवर्पमा हिराको कारोवार गर्छ। त्यही हुर्किएका उनी बेल्जियमबाट पढ्नका लागि अमेरिकाको वार्थन युनिभर्सिटिमा पुगे। एक वर्ष फाइनान्स पढेर परीक्षामा फेल भएपछि उनी त्यहाँ कलेज छाडेर हिंडे।

भारतमा समेत उनका मामा हिरा कारोबारमा थिए। हिरा कारोबारका विषयमा जानकारी लिन १९ वर्षको उमेरमा मोदी आफ्ना मामा तथा गिताञ्जली जेम्सका अध्यक्ष मेहुल चौकसीसँग मुम्बइ आए। सन् १९९९ मा उनले दुर्लभ हिराको कारोवारका लागि फयारस्टार डायमण्ड नामको कम्पनी बनाए।

यही कम्पनीले हिरा कारोबारमा संलग्न थुप्रै विदेशी कम्पनीलाई खरिद गर्यो। त्यसपछि मोदीको हिरा कारोबारसँग सम्वन्धित ठूलो नेटवर्क तयार भयो। यही नेटवर्क तयार भएपछि उनी कन्ट्रयाक्ट म्यानुफ्याक्चरिङमा प्रवेश गरे। उनले  भारत, रुस,  अर्मेनियादेखि दक्षिण अफ्रिकासम्म हिराको म्यानुफ्याक्चरिङ युनिट लगाए।

सन् २००८ मा मोदीसँग उनकै एक साथीले दुर्लभ आभूषण मागेपछि उनी हिराको खुद्रा कारोबारमा उत्रिए। आफै पनि हिराको डिजाइन गर्ने उनी सन् २०१० मा हिलउड स्टारका लागि भारतीय ज्वेलरका रुपमा स्थापित भैसकेका थिए।उनको कम्पनीले डिजाइन गरेका हिराको गहना लगाएर हलिउड नायिका केट विन्सलेट, डकोटा जोन्सनदेखि लिएर टेराजी पि हेन्सनसम्मले रेडकार्पेटमा आफ्नो सुन्दरता प्रस्तुत गरिसकेका छन्।

उनको कारोबार यसरी सफल देखियो, सन् २०१३ मा मोदी फोर्ब्सको अरबपतिको सूचीमा प्रवेश गरे। जब गतवर्ष बलिउड नायिका प्रियंका चोपडा मोदी कम्पनीले उत्पादन गर्ने हिराका लागि ब्राण्ड एम्बेस्डर समेत बनिन्। सन् २०१४ मा मोदीले हिराको गहनाका लागि बुटिक खोल्न थाले। दिल्ली हुँदै उनले यस्ता बुटिक मुम्बर्इदेखि न्यूयोर्कसम्म खोले। न्यूयोर्कमा बुटिक खोल्दा नाओमी वाट्सदेखि लिएर बलिउड नायिका निमरत कौरदेखि लिजा हेडनसम्म पुगेका थिए। उनका अहिले लण्डनदेखि सिंगापुर, बेइजिङ र मकाउसम्म हिराका बुटिक छन्।

कहाँ छन् मोदी ?
मोदीले गरेको घोटालाको वारेमा बुधवार सार्वजनिक जानकारीमा आएको थियो। तर बैंकले यस विषयमा भारतको जाँच एजेन्सी सिबिआईलाई आग्रह गर्नुअघि नै मोदीले जनवरी १ मै भारत छाडेका थिए।

पिएनबिले २९ जनवरीका दिन मोदीविरुद्ध दुई अर्ब ८० करोडको घोटाला भएको मुद्दा दायर गरेको थियो।जानकारी अनुसार निरव मोदीकी श्रीमती एमी अमेरिकी नागरिक हुन्, उनी पनि जनवरी १ मै विदेश गैसकेकी छन् भने भाई निशाल मोदी बेल्जियन नागरिक हुन्, उनले पनि १ जनवरीमै भारत छाडेका छन्। त्यसैगरी मोदीका मामा तथा अहिलेका बिजनेश पाटर्नर चोकसी पनि ६ जनवरीमा देश छाडेका छन्।

उनी अहिले स्विजरल्याण्डमा भएको भारतीय मिडियाले लेखेका छन्। २३ जनवरीमा मोदीले डाभोसमा भारतीय प्रधानमन्त्रीसँग संयुक्त तस्विर पनि खिचेका थिए।

के हुन्छ बैंक ?
घोटालाको विषयमा जानकारी सार्वजनिक भएपछि विहिवार भारतका जाँच एजेन्सीहरुले मोदीका अफिसमा छापा मारेका थिए। भारतमा उनका विभिन्न ठाउँका अफिस, कारखाना तथा शोरुममा छापा मारेर सील गरिएको छ।

पञ्जाव नेशनल बैंकका प्रवन्ध निर्देशक सुनिल मेहताले घोटालामा गुमेको रकम उठाउने प्रक्रिया सुरु भएको बताए। उनले आरोपीको सम्पत्ती जफत गर्नेदेखि लिएर मोदीलाई भारतमा ल्याउने प्रयास गर्ने बताए।

उनले यो घोटालाको सेटलमेन्ट गर्न बैंक सक्षम रहेको बताए। यो घोटालामा संलग्न दोषीलाई पक्राउ गर्न तथा उनीहरुविरुद्ध कानुनी कारवाही गर्न बैंक पूरा क्षमतासहित लागि रहेको छ, बुधवारको पत्रकार सम्मेलनमा उनले भने। उनले प्रभावित सबै बैंकसँग गरिएका कमिटमेन्ट पूरा गर्ने समेत बताए।
घोटालामा संलग्न बैंकका दुई जना कर्मचारी पक्राउ गरिएको छ।

उनीहरुमाथि मुद्दा समेत चलाइएको छ। उता घोटाला सार्वजनिक भएपछि मोदी बैंकको सम्पर्कमा आएको र उनले पैसा फिर्ता गर्ने एउटा योजना सुनाएको पनि प्रवन्ध निर्देशक मेहताले जानकारी दिए। तर यो योजना के हो उनले जानकारी भने दिएनन्।