म्याग्दी खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन, ६ वटा बैंकको साढे तीन अर्ब लगानी

बिजमाण्डू
२०७४ फागुन २ गते १६:१५ | Feb 14, 2018
म्याग्दी खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन, ६ वटा बैंकको साढे तीन अर्ब लगानी


काठमाडौं। म्याग्दी जिल्लाको म्याग्दी खोलामा निर्माण हुने २५ मेगावाटको जलविद्युत उत्पादनको लागि वित्तिय व्यवस्थापन सम्झौता सम्पन्न भएको छ। सानिमा बैंकको नेतृत्वमा प्रभू बैंक, कुमारी बैंक, सेन्चुरी बैंक, मुक्तिनाथ विकाश बैंक र महालक्ष्मी विकाश बैंकले ३ अर्ब ५० करोड रुपैयाँ ऋण लगानी गर्ने भएका हुन्।

Tata
GBIME
Nepal Life

५ अर्ब १४ करोड रुपैयाँ कूल लागत अनुमान गरिएको आयोजनामा बाँकी स्वपूँजी रहनेछ। आयोजनाले यसको ३० प्रतिशत बराबरको शेयर सर्वसाधारणलाई दिनेछ।

धौलागिरी कालिका हाइड्रो कम्पनीले म्याग्दी खोलामा २५ मेगावाटको जलविद्युत आयोजना आगामी ३ वर्ष ६ महिना भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ। पानीको वहाव ३१.४ घनमिटर प्रतिसेकेण्ड रहेको आयोजनाको ग्रस हेड १०४ मिटर रहेको छ ।

दरबाङको डुकुगाउँमा रहेको खोलाको पानीलाई ५ किलोमिटर सुरुङ् निर्माण गरि २०० मिटरको पेनस्टक पाईपबाट पावरहाउसमा झारी विद्युत उत्पादन गरिनेछ । पावरहाउस र इन्टेकसम्म नै सडक पहुँच रहेको आयोजनाबाट उत्पादित विद्युत ८ किलोमिटर लामो १३२ केभी प्रसारण लाइनमार्फत प्रस्तावित डाँडाखेत सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ । 

परियोजनामा स्थानीय लगानिकर्ताहरुका साथै म्याग्दीमा जन्मिएर प्रवासमा रहेका लगानीकर्ताहरुको बाहुल्यता रहेको छ। एनआरएनए हङ्गकङ्ग समूह, काठमाण्डौ म्याग्दी इन्भेष्टमेण्ट कम्पनी र ग्लोबल फ्रेण्डसिप क्यापिटल लिमिटेड मुख्य प्रवर्द्धक रहेको आयोजनामा एनआरएनएका एसिया प्रशान्त उपसंयोजक विनोद कुँवर अध्यक्ष छन्।