काठमाडौं। चार लेनको चिल्लो सडक। सडकको मध्यभागमा ‘ग्रिनरी मेडियम’ ।
.jpg)
मेडियममा लोभलाग्दा बोट विरुवाहरु । दुवैतिर सफा र फराकिलो फुटपाथ। धुलो नभएको सडक । कलंकी-नागढुङ्गा सडक यसरी नै परिकल्पना गरिएको छ । सडक निर्माण सक्ने मिति सकिए पनि भर्खरै एक तिहार्इ मात्र काम सकिएको छ।
२०७२ साल असारमा चारवटा प्याकेजमा काम थाल्दा यसको निर्माण २०७४ पुस मसान्तमा गरिसक्ने लक्ष्य थियो। विस्तार कार्य त अघि बढ्यो तर सडक जसरी परिकल्पना गरिएको थियो त्यसले समयमै साकार रुप लिन सकेन।स्थानीयले गरेको अवरोध, अदालतले जारी गरेको स्टेअर्डर, नेपाल विद्युत प्राधिकरणका पोल, सामुदायिक रुख, सिमांकन, मुआब्जा विवाद जस्ता कारणले सडक विस्तारको काममा सुस्तता आएको उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ।
उपत्यका सडक विस्तार आयोजनाका सिनियर डिभिजनल इन्जिनियर विश्व विजयलाल श्रेष्ठका अनुसार सर्वोच्च अदालतबाट मात्रै ८४ वटा विभिन्न स्थानहरुमा निर्माण कार्य रोक्न स्टेअर्डर जारी भएका छन्। सिनियर डिभिजनल इन्जिनियर श्रेष्ठले स्थानीयले घर जग्गा दुबैको मुआब्जा मागेर अवरोध गरेको तथा विद्युत, टेलिफोन लगायतका युटिलिटीहरु स्थानान्तरण नभएका कारण कम भौतिक प्रगति देखिएको जानकारी दिए। सरकारी निकायबीचमा आपसी समन्वय हुन नसक्दा युटिलिटीहरु हटाउन नसकिएको बताइएको छ।
त्रिपुरेश्वरदेखि कलंकी हुँदै नागढुङ्गासम्म पुग्ने यो सडक करिव साढे १२ किलोमिटर लामो छ। ठेक्का सम्झौता हुँदा समयमै निर्माण पूरा गर्ने भन्दै आयोजनाले चार भागमा विभाजन गरेर चारवटा संयुक्त निर्माण कम्पनी(जेभी)लार्इ निर्माणको जिम्मा दिएको थियो। श्रेष्ठका अनुसार भर्खर ३३.७५ प्रतिशत मात्रै निर्माण सकिएको छ जसकारण यो बर्ष पनि निर्माण कार्य नसकिने देखिएको छ। यो बर्ष सडक निर्माण पूरा नहुने भएपछि स्थानीयबासिन्दाले सडकको सास्ती खप्नुपर्ने समय अवधि पनि लम्बिएको छ। सिनियर इन्जिनियर श्रेष्ठ भन्छन्-'कुनै अवरोध नहुने हो भने एक बर्ष अझै लाग्छ ।' आयोजनामा अनेक समस्याहरु भएकाले अवरोध हटेपछि मात्रै काम अघि बढाउन सकिने श्रेष्ठ बताउँछन्।
त्रिपुरेश्वरदेखि कलंकी पहिलो खण्ड ३.३८० किमी सडक विस्तारको जिम्मा पाएको बज्रगुरु विरुवा सिएम जेभीले एक चौथार्इ मात्रै काम सकेको छ। अर्थात २५ प्रतिशत निर्माण सम्पन्न भएको छ। कलंकीबाट सतुंगल दोस्रो ३ किमी विस्तारको जिम्मा पाएको शर्मा शैलुङ कान्छाराम जेभीले ३० प्रतिशत मात्र निर्माण सकेको छ।
तेस्रो खण्ड सतुंगलबाट त्रिभुवनपार्क ३ किमी सडक विस्तारको जिम्मा लुम्बिनी शैलुङ जेभीले पाएको छ। जसको ३५ प्रतिशत निर्माण सकेको छ।
त्यस्तै त्रिभुवन पार्कदेखि नागढुङ्गासम्म चौथो ३.१०० किमीमा शर्मा शैलुङ कान्छाराम जेभीले काम गरिहेको छ जसको ४५ प्रतिशत निर्माण कार्य सकिएको छ।
सम्झौता अनुसार एक महिनाअघि नै निर्माण कार्य सक्नुपर्ने भएपनि बल्लतल्ल एक तिहार्इ मात्रै निर्माण पूरा भएको छ।ठेकेदार कम्पनीले पनि अवरोध नभएका स्थानहरुमा विस्तार मात्रै गरेर छाडेको छ। कालोपत्रे नगरेका कारण ती क्षेत्रमा अत्यधिक धुलो उड्ने गरेको छ। साढे दुर्इ बर्षदेखि स्थानीयले धुलो र घण्टौसम्मको जामको सामना गरिरहेका छन्।
यस अघि अवरोध नभएका ठाउँहरुमा फागुनदेखि कालोपत्रे गर्ने आयोजनाले बताउँदै आएपनि पूर्वतयारीका केही पनि काम थालिएको छैन।
निर्माण पूरा भएपछि यस्तो बन्ने छ सडकहालको सडकलार्इ बिस्तार गरेर २२ मिटरमा विस्तार गर्न लागिएको हो। त्रिपुरेश्वरदेखि कलंकीसम्म छ लेनको सडक बन्नेछ जहाँ सडकको बीचमा ग्रिनरी बेल्ट हुनेछैन। कलंकीबाट नागढुङ्गासम्म ४ लेनको सडक बन्नेछ जहाँ सडकको बीचमा ग्रिनरी बेल्ट रहनेछ। साथै यो खण्डमा साढे एक मिटरको सार्इकल लेन समेत रहने आयोजनाका सिनियर डिभिजनल इन्जिनियर श्रेष्ठले जानकारी दिए।
कलंकी-नागढुङ्गा सडकको यस्तो 'सपना', तर अढाई वर्षदेखि बुङबुङती धुलो, एक तिहाइ मात्रै काम को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।