एनएसीले थप दुर्इवटा चिनियाँ जहाज ल्यायो, एक महिनापछि मात्रै नियमित उडान

रासस
२०७४ फागुन १ गते १८:१७ | Feb 13, 2018

काठमाडौँ। राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले चिनियाँ कम्पनीका दुईवटा विमान भित्र्याएको छ ।

Tata
GBIME
Nepal Life

चीनबाट खरिद गरेर ल्याएको ‘वाइ १२’ विमान आज त्रिुभवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । चीनको हर्बिन शहरबाट उडेका दुई विमान बंगलादेशको ढाका हुँदै दिउँसो काठमाडौं आइपुगेको निगमका प्रवक्ता रविन्द्र श्रेष्ठले जानकारी दिए।

उनका अनुसार अनुसार २०६९ सालमा नेपाल सरकार र चीन सरकारबीच भएको सम्झौताअनुसार निगमले छवटा जहाज थपेको हो । तीमध्ये चारवटा जहाज यसअघि नै आइसकेका थिए । छ वटामध्ये दुई वाई १२ र एमए ६० विमान चिनियाँ अनुदानका हुन् भने बाँकी चिनियाँ एक्जिम बैंकको सहुलियत ऋणमा खरिद गरिएको प्रवक्ता श्रेष्ठले बताए।

 हर्बिन एयरक्राफ्ट इन्डस्ट्रीको उत्पादन वाई १२ को क्षमता चालकसहित १९ सिट हो । दुई वाई १२ आएसँगै निगमको आन्तरिक उडानमा आठवटा जहाज भएका छन् ।प्रवक्ता श्रेष्ठले थपिएका विमान हालकै गन्तव्यमा उडान भर्ने र पछि अन्य गन्तव्यमा पनि विस्तार गर्ने योजना रहेको बताए।

 चीनबाट एक प्रशिक्षकसहित दुईजना क्याप्टेनको टोली एक महिनापछि नेपाल आउने र त्यसपछि ती जहाजको उडान भरिने निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारले बताए।निगमले काठमाडौंबाट सिधा छ र विराटनगर तथा नेपालगञ्जबाट अन्य ११ भन्दा बढी गन्तव्यमा आन्तरिक उडान भर्दै आएको छ ।

अन्तर्राष्ट्रियतर्फ हाल विभिन्न मुलुकका आठ गन्तव्यमा एक बोइङ नाइन एसिबी– ५७५ र एयरवस ए–३२० विमानबाट उडान भर्दै आएको छ ।निगमले थप दुई वाइड बढी विमान आगामी वैशाखसम्म भित्रयाएर अन्य गन्तव्यमा उडान भर्ने तयारी गरेको छ ।