नारायणहिटी दरबार भित्र तयार भयो गणतन्त्र स्मारक, ४० करोड लागतको स्मारक यस्तो छ

बिजमाण्डू
२०७४ फागुन १ गते १४:२१ | Feb 13, 2018

काठमाडौँ। गणतन्त्र स्मारक निर्माणको काम सम्पन्न भएको छ । विसं २०६५ जेठ १५ गते गणतन्त्र स्थापना भएपछि सरकारी पहलमा नारायणहिटी दरबार परिसरमा निर्माण थालिएको  स्मारकको काम सकिएको हो ।

Tata
GBIME
Nepal Life

सरकारले विसं २०६९ मंसिरमा बिकोई स्काई बंगलामुखी ज्वाइन्ट इन्भेन्चरसँग सम्झौता गरी तीन वर्षभित्र निर्माण गर्ने भने पनि निर्माणमा केही ढिलाइ भएको थियो ।

कम्पनीका कार्यकारी निर्देशक रोशन श्रेष्ठले स्मारक निर्माणको काम पुरा भएकाले यही महिना भवन विभागलाई हस्तान्तरण गर्ने तयारी भइरहेको जानकारी दिए । “स्मारक निर्माण कार्य समयमा सम्पन्न गर्ने गरी काम गरेका थियौँ, भूकम्प र भारत सरकारले लगाएको अघोषित नाकाबन्दीले केही समय ढिला गरी सम्पन्न भएको हो”, उनले भने।

पैँतीस रोपनी क्षेत्रफलमा निर्माण हुन लागेको स्मारक शुरुमा रु ३० करोडमा सम्पन्न गर्ने सम्झौता भए पनि झण्डै रु ४० करोड खर्च भएको कम्पनीले जनाएको छ । भवन विभागले गणतन्त्र दिवसका अवसरमा उद्घाटन गर्ने योजना बनाएको श्रेष्ठले बताए।

यस्तो छ स्मारक
१२ मिटरको कुल उचार्इ रहने मुख्य स्मारकमा अपर  र लोअर बेसमेन्ट  गरी  दुर्इवटा ग्यालरी रहनेछन्। लोअर बेसमेन्टमा पुरै ग्यालरी रहने छ।

अपर बेसमेन्टमा मल्टिपर्पोज हल मध्यभागमा रहने छ। त्यस्तै उक्त हलको बायाँपट्टि सार्इडमा कन्फ्रेस हल र संगै भीआर्इपी कक्ष समेत रहने छ भने अरु ठाउँमा ग्यालरी रहने छ।

सबैभन्दा माथिल्लो तल्लामा चारवटा खम्बा रहनेछन्। उक्त चार खम्बाले बेपत्ता पारिएका,ज्यान गुमाएका,अङगभङग भएका,हराएका  शहिदको शहिदको स्मरण गराउनेछ। उक्त चार खम्बाको माथिल्लो भागलार्इ  फलामे रिङले घेरिएको छ।

उक्त चार खम्बाको बीच सिमेन्ट र अन्य सामाग्रीको प्रयोग गरेर नेपालको नक्सा बनार्इएको छ। नक्साले नेपालको वास्तविक भौगोलिक अवस्थालार्इ देखिनेछ। माथिल्लो भाग खुल्ला रहनेछ । वरिपरि हरियो बगैँचा, पानीको फोहोरा, शौचालय समेत निर्माण हुने बताइएको छ।

गणतन्त्र प्राप्तिकालागि जनताले खेलेको भूमिकाका  सामाग्रीहरु यस स्मारकमा राखिने विभागले जनाएको छ। जनआन्दोलनका क्रममा घाइते भएका, शहिद भएका अंगभंग भएकाहरुले गरेको संघर्षको इतिहासलार्इ स्मारकले जीवित राख्ने अपेक्षा गरिएको छ। त्यहाँ उनीहरुका विषयमा लेखिएका पुस्तकहरु समेत राखिनेछ। (राससको सहयोगमा)