एनसेलको टावरमा बम प्रहार, सेवा अवरुद्ध, बम प्रहार गर्ने समूह खोज्दै प्रहरी

रासस
२०७४ फागुन १ गते १३:५४ | Feb 13, 2018

नुवाकोट। विदुर नगरपालिका– ११ गेर्खुमा रहेको एनसेल टावरमा गए राति आगजनी भएको छ ।

Tata
GBIME
Nepal Life

साविक गेर्खु गाविस–९ डाँडागाउँमा रहेको टावरमा राति १२ बजेतिर अज्ञात समूहले पेट्रोलियम पदार्थ र जुटबोरा प्रयोग गरी आगजनी गरेको नुवाकोट प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी दिए।

आगजनीपछि उक्त टावरमार्फत जोडिँदै आएको एनसेलको फोनसेवा अवरुद्ध भएको छ । आगजनीबाट टावरमा जडान गरिएको कल ‘कनेक्सन’ उपकरण, ब्याट्री, युपिएसलगायत ८० प्रतिशत सामग्रीमा क्षति पुगेको छ । एनसेलको टावर सुरक्षार्थ जिल्लामा रहेका प्राविधिकका अनुसार आगजनीबाट रु १५ लाख बराबरको क्षति पुगेको छ ।  आगजनी गर्ने समूहको पहिचान यकिन नभए पनि नेकपाका कार्यकर्ताले घटना गराएको हुन सक्ने प्रहरीको अनुमान छ ।

रोल्पा–सोमबार राति माडी गाउँपालिका–६ कोर्चवाङमा शक्तिशाली बम प्रहार गरी एनसेलको टावर क्षतिग्रस्त गराइएको छ ।  राति करिब १२ बजे बम विस्फोट गराइएको प्रहरीले बताएको छ । बम विस्फोटबाट मिनहीमा रहेको एनसेलको टावरमा क्षति पुगेको प्रहरी निरीक्षक नरबहादुर खड्काले जानकारी दिए । ठूलो आवाजमा बम विस्फोट भएपछि आफूहरु त्रसित भएको स्थानीयवासीले बताएका छन् ।

बम विस्फोटको जिम्मेवारी यो समाचार तयार पार्दासम्म कसैले लिएको छैन । राज्यलाई तिर्नुपर्ने कर नतिरेको भन्दै यसअघि नेकपाले यस्तै प्रकृतिको घटना गराएकाले यस पटकको विस्फोटमा पनि सोही पार्टीकै हात हुनसक्ने आशंका गरिएको छ । फागुन १ को पूर्वसन्ध्यामा घटना भएकाले राजनीतिक उद्देश्यले गरिएको आक्रमण हुन सक्ने अनुमान गरिएको छ ।

विसं २०५२ साल फागुन १ गते शुरु भएको सशस्त्र युद्धको सम्झनास्वरुप माओवादी घटकहरुले जिल्लामा विभिन्न कार्यक्रम गरिरहेका छन् । नेकपा (माओवादी केन्द्र) निकट वाइसिएलको आयोजनामा सदरमुकाम लिवाङमा कार्यक्रम सम्पन्न भएको छ  भने नेकपा थवाङ गाउँपालिकाको आयोजनामा थवाङमा सप्ताहव्यापी कार्यक्रम भइरहेको बताइएको छ ।