इटालियन टेम्पो ‘पियाजियो’ अब एमभी दुगड ग्रुपले बेच्ने, दुई वर्षभित्रै अब्बल बन्ने लक्ष्य

बिजमाण्डू
२०७४ फागुन १ गते १२:५१ | Feb 13, 2018
इटालियन टेम्पो ‘पियाजियो’ अब एमभी दुगड ग्रुपले बेच्ने, दुई वर्षभित्रै अब्बल बन्ने लक्ष्य
काठमाडौं। इटालियन टेम्पो पियाजियो अब नेपालमा एमभी दुगड समूहले बेच्ने भएको छ। नेपाली बजारमा यसअघि नै उपलब्ध यो ब्राण्डको टेम्पोको डिलरशिप दुगड समूहले पाएको हो। 

पेट्रोल इन्जिन भएको टेम्पो यही फागुनबाटै दुगड समूहको नाममा बिक्री वितरण सुरु हुने एमभी दुगड ग्रुपका भाइस चेयरम्यान विवेक दुगडले जानकारी दिए। उनका अनुसार पियाजियो ब्राण्डका एपेसिटी र एपेकार्गो गरी दुई मोडलका टेम्पो नेपाली बजारमा उपलब्ध हुनेछन्। 

उनका अनुसार एपेसिटी प्यासेन्जर थ्री ह्विलर हो। जसमा चालकबाहेक तीनजना अटाउने क्षमता हुन्छ। 'नेपालमा उपलब्ध अन्य ब्राण्डका यही उत्पादन भन्दा हाम्रो उत्पादनको क्षमता धेरै छ। यसको इन्जिन क्षमता, माइलेज र बनावट अन्यभन्दा धेरै फरक र राम्रो छ,' दुगडले भने।  एपेसिटीको मूल्य ५ लाख १९ हजार ९०० रुपैयाँ पर्ने कम्पनीले जनाएको छ। 

एपेकार्गो नेपाली बजारका लागि नयाँ मोडल हुनेछ। यो सामान बोक्नका लागि मात्रै प्रयोग गरिने कम्पनीले जनाएको छ। एपेकार्गोको मूल्य ५ लाख ५० हजार रुपैयाँदेखि ६ लाख रुपैयाँसम्म पर्ने बताइएको छ। 

'नेपाली बजार, सडकको बनावट र भूगोलका लागि हाम्रो उत्पादन सबैभन्दा उत्कृष्ट हुनेछ। साँघुरा सडकमा जान सक्ने र सुरक्षित यात्रा गर्नका लागि सस्तो मूल्यमा उत्कृष्ट उत्पादन नेपाल भित्र्याउन खोजिरहेका छौँ,' पियाजियो भेइकल्सका एसोसिएट भाइस प्रेसिडेन्ट सुधांशु अग्रवालले भने। 

Tata
GBIME
Nepal Life


पियाजियो भेइकल्सका एसोसिएट भाइस प्रेसिडेन्ट सुधांशु अग्रवाल
 

उनका अनुसार एमभी दुगड समूहका देशभर रहेका ३१ शाखाबाट बिक्री तथा बिक्रीपछिको सम्पूर्ण सेवाहरु ग्राहकले पाउनेछन्। उपभोक्ताको सहजताका लागि स्थानीय बैंकसँग सहकार्य गरी वित्तीय सुविधा उपलब्ध गराउने विषयमा पनि कम्पनीले योजना बनाइरहेको उनले जानकारी दिए। 
 
अग्रवालका अनुसार सन् २०१६ मा ४ हजार टेम्पो भारतबाट नेपालमा निर्यात भएका थिए। सन् २०१७ मा यो बढेर ९ हजार नाघेको छ। 'नेपाली बजारमा यस्ता सवारी साधनको माग उच्च छ। 
 
'नेपालमा शहरी क्षेत्रको विस्तार तीव्र भइरहेको छ र काठमाडौं उपत्यका बाहिर बन्ने नयाँ शहरमा थ्री ह्विलर राम्रो यातायातको साधन बन्न सक्छ,' उनले भने, 'पहाडी क्षेत्रमा विस्तार भइरहेका सडकमा पनि हाम्रो नयाँ उत्पादनले राम्रो गर्न सक्ने विश्वास छ।' 
 
नेपालमा नयाँ डिलरमार्फत कारोबार सुरु गर्न लागेको पियाजियोले आफू अबको दुई वर्षमा नेपाली बजारमा महत्वपूर्ण स्थान बनाउने  दावी गरेको छ। सन् २०१८ मा ३० प्रतिशत बजार हिस्सा ओगट्ने र दुई वर्षमा बजारको नेतृत्वकर्ता बन्ने दावी अग्रवालले गरे। 
 
'हामी आफ्टर सेल सर्भिस राम्रो दिने छौँ। देशभर फैलिएका शाखाहरुबाट ग्राहकहरुले राम्रो सेवा पाउनेछन्। अर्कोतर्फ माइलेज राम्रो भएकाले यो सम्पूर्ण ग्राहकको रोजाई बन्न सक्छ,' अग्रवालले भने।