प्रदुषण जाँचपास नभएका सवारी साधन वैशाखदेखि चलाउन नपाउने, हरियो स्टिकर शहरी क्षेत्रमा अनिवार्य

बिजमाण्डू
२०७४ माघ २८ गते १७:२७ | Feb 11, 2018
प्रदुषण जाँचपास नभएका सवारी साधन वैशाखदेखि चलाउन नपाउने, हरियो स्टिकर शहरी क्षेत्रमा अनिवार्य


काठमाडौं। सरकारले मुलुकभरका सबै सवारीसाधनमा प्रदुषण जाँचपास गरि हरियो स्टिकर लिनुपर्ने नियम अनिवार्य गर्ने  तयारी थालेको छ। यसका लागि आगामी वैशाखदेखि देशभरका नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकामा प्रवेश गर्ने सवारीसाधनले अनिवार्य रुपमा प्रदुषण जाँचपास गरि हरियो स्टिकर टाँस्नुपर्ने व्यवस्था लागु गर्न लागिएको यातायात व्यवस्था विभागका महानिर्देशक  रुपनारायण भट्टरार्इले जानकारी दिए। 

Tata
GBIME
Nepal Life


 

उनले प्रदुषण जाँचपास गरि हरियो स्टिकर नलिएका सवारीसाधनलार्इ प्रवेशमा रोक लगाइने बताए। उपत्यकाभित्र भने सबै स्थानीय तहमा यो व्यवस्था लागु हुनेछ।
 
सरकारले यस अघि दरबारमार्ग, सिहदरबारको आसपास,ठमेल, न्युरोड त्रिभुवन अन्तराष्ट्रिय विमानस्थललगायतका काठमाडौंको मुख्य स्थानमा गुड्ने सवारीसाधनमा हरियो स्टिकर अनिवार्य गरेको थियो । तर पर्याप्त प्रदुषण जाँच्ने मेसिन नहुँदा र नियम फितलो बन्दा पुर्ण रुपमा कार्यान्वयनमा आउन सकेको थिएन। जसका कारण थुप्रै प्रदुषण जाँचपास फेल भएका सवारीसाधन गुडिरहेका थिए। 
 
विभागले अब यसलार्इ विस्तार गरेर पहिलो चरणमा देशभरका मुख्य स्थानीय तहमा र दोस्रो चरणमा देशैभर अनिवार्य गर्ने योजनाका साथ तयारी गरिरहेको विभागका महानिर्देशक भट्टरार्इले जानकारी दिए।
 
अहिले विभागसंग अहिले ३ वटा मात्रै प्रदुषण जाच गर्ने मेसिन छन्। देशभरका मुख्य स्थानीय तहमा हरियो स्टिकर कार्यान्वयन गर्न विभागले ४० वटा मेसिनका लागि यस अघि नै टेण्डर आव्हान गरिसकेको छ। उक्त टेण्डरको अहिले मूल्याङ्कन भैरहेको विभागका महानिर्देशक रुपनारायण भट्टरार्इले जानकारी दिए। 


 

विभागका अनुसार यहि साताभित्रमा टेण्डर मूल्याङकन सकिनेछ। आगामी चैत पहिलो सातासम्म ४० वटा मेसिन विभागमा आइपुग्ने छ। त्यसपछि देशभरका मुख्य स्थानीय तहमा हरियो स्टिकर लागु हुने छ। डिजेल र पेट्रोलका सवारी साधन जाच्नका लागि छुट्टा छुट्टै मेसिनहरु प्रयोग गर्नुपर्छ। मुख्य स्थानीय तहमा कार्यान्वयनमा आएपछि देशैभरका लागि थप मेसिनहरु खरिद प्रक्रिया अघि बढाइने विभागले जनाएको छ। 
 
दुर्इपाङग्रे  सवारीसाधनमा भने यो नियम लागु हुँदैन ।किनभने दुर्इपाङग्रेका लागि अहिलेसम्म पनि प्रदुषण जाँच गर्ने कुनै व्यवस्था छैन। 
 
विभागले पनि प्रदुषण जाँच गर्ने व्यवस्थालार्इ प्रभावकारी बनाउन सकेको छैन। कानुनअनुसार प्रदुषण जाँच फेल भएका सवारीसाधनलार्इ रातो स्टिकर दिनुपर्ने भएपनि यसो गर्न सकेक छैन। त्यस्ता सवारीसाधनलार्इ मर्मत गर्ने ठाउँ वर्कसपसम्म मात्रै सञ्चालन गर्ने अनुमति हुन्छ। तर सामान्य जरिवाना गरि मर्मत सम्भारको निर्देशन दिँदै छाड्ने गरिएको छ। अहिले ठुलो संख्यामा प्रदुषण फेल भएका सवारीसाधनहरु गुडिरहेका छन्।
 
उपत्यकामा मात्रै वायु प्रदुषणमा सवारीसाधनको भूमिका ३८ प्रतिशत रहेको विज्ञहरुले बताउदै आएका छन्। कानुनअनुसार निजी सवारीधनले प्रत्येक एक वर्ष र सार्वजनिक सवारीसाधनले प्रत्येक ६-६ महिनामा विभागबाट  प्रदुषण जाँचपास गराएर हरियो स्टिकर लिनुपर्दछ।