संघीयतामा देश, भारतको उदाहरण: ‘वेस्ट’ बंगाललाई ‘बेस्ट’ बंगाल बनाउन के गर्दैछिन् ममता बेनर्जी?

बिजमाण्डू
२०७४ माघ २६ गते ०९:३५ | Feb 9, 2018
संघीयतामा देश, भारतको उदाहरण: ‘वेस्ट’ बंगाललाई ‘बेस्ट’ बंगाल बनाउन के गर्दैछिन् ममता बेनर्जी?



सन् २०१८ लाई पश्चिम बंगालले फरक तरिकाले स्वागत गर्यो। जनवरीमै कोलकातामा  ‘बंगाल ग्लोबल बिजनेस समिट’ भयो। भारतको छैठौं ठूलो अर्थतन्त्र मानिएको पश्चिम बंगालले लगानी तथा पूर्वाधार निर्माणका लागि संभावनाहरुको खोजी गर्ने अवसरमा रुपमा समिटलाई प्रयोग गर्यो।

दुइ दिन चलेको समिटबाट पश्चिम बंगालले २,१९,००० करोड भारतीय रुपैयाँको नयाँ लगानीका परियोजनाको प्रस्ताव प्राप्त गर्यो। यसैबाट राज्यले २० लाख थप रोजगारी सिर्जना गर्ने खबर मुख्यमन्त्री ममता बेनर्जीले उत्साहित भएर सबैसँग बाँडिन्।

समिटकै क्रममा ११० एमओयूमा हस्ताक्षर भए भने भारतको ठूलो बिजनेस घराना रिलायन्सका तर्फबाट मुकेश अम्बानीले पश्चिम बंगालमा ५००० करोड रुपैयाँको टेलिकम र पेट्रोलियम बिजनेसमा लगानी गर्ने  घोषणा गरे। यस्तै अदानी ग्रुपले पनि पुरानो लगानीलाई निरन्तरता दिँदै थप ७५० करोड रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जनायो।


ममता बेनर्जी पश्चिम बंगालकी मुख्यमन्त्री हुन् जो दोस्रो कार्यकालमा सरकार चलाइरहेकी छिन्। उनले एक मात्र लक्ष्यका रुपमा ‘बेस्ट बंगाल’ को नारा अघि सारेकी छिन्। उनी भन्छिन्-‘टक लेस वर्क मोर।’ 

उनी बिभिन्न घोटाला, जातिय हिंसा तथा गोर्खाल्याण्डको मुद्दाहरुमा आलोचना तथा विवादमा परिन्। तर उनले पश्चिम बंगाललाई औद्योगिक विकासको बाटोमा डोहोर्याएकै कारण दोस्रो पटक पनि मुख्यमन्त्री बनिन्। सारदा घोटाला काण्डमा आफ्नै क्याबिनेटका पूर्बमन्त्री, एमपी तथा केही पार्टीका महत्वपूर्ण पदमा रहेका मानिसलाई जेल पठाएर उनले चर्चा बटुलिन्। 

पहिलोपटक सन् १९९१ मा ममता बनर्जी पश्चिम बंगालको प्रान्त सरकारको मानव संसाधान विकास, युवा तथा खेलकुद तथा महिला तथा बालविकास मन्त्री बनिन्। त्यसपछि सन् २००२ मा  प्रान्त सरकारकै रेल मन्त्री बनिन्। रेलमन्त्री बन्नासाथ उनले ‘एक्सप्रेस’ तथा ‘सुपरफास्ट एक्सप्रेस’ रेल सेवा सुरु गरिन्। 

उनले पर्यटन क्षेको विकासमा ध्यान दिइन्। दार्जिलिङ र त्यसवरपरका पहाडी क्षेत्रलाई पर्यटकिय क्षेत्रका रुपमा विकास गर्ने कार्यक्रम ल्याइन्। सन् २००९ मा उनी फेरि रेलवे मन्त्री नै बनिन्। त्यसबेला उनले ‘ननस्टप डुरोन्टो एक्सप्रेस’ रेलहरु संचालनमा  ल्याइन् जसले ठूला शहरहरुसँग पश्चिम बंगाललाई जोड्ने काम गर्यो। 

उनले रेलमन्त्री हुँदा महिला मात्र चढ्ने रेल पनि संचालनमा ल्याइन्। रेलवे मन्त्रीका रुपमा उनको कार्यकालको निकै आलोचना समेत भयो किनभने उनले रेलमन्त्री हुँदा संजालहरु ब्यापक बिस्तार गरिन् जसबाट भारतीय रेलप्रणाली नै घाटामा गयो। चर्चित हुनका लागि  प्यासेन्जर ट्रेनको संख्या बढाएर रेलवेलाई ऋणको भार बोकाएको भन्दै आलोचना भएपनि  उनले  रेल संजालको ब्यापक बिस्तार गरिन् जुन विकासको मेरुदण्ड सावित भयो। 
 

रेलवे मन्त्री बनेको २ वर्षपछि सन् २०११ मा उनी पहिलो महिला मुख्यमन्त्रीका रुपमा पश्चिम बंगालको कमान सम्हालिन्। मुख्यमन्त्री भए लगत्तै उनले पहिलो निर्णय गरिन् विवादमा परेको सिंगुर किसानहरुको ४०० एकड जमीन फिर्ता गर्ने। तर यहि निर्णयका कारण पश्चिम बंगालले टाटाको गाडी उत्पादन प्लान्ट सँधैका लागि गुमायो। तर पनि पश्चिम बंगालमा औद्योगिक विकासको गति रोकिएन। विश्वबैंकको एक प्रतिवेदनका अनुसार ब्यापार तथा परियोजना कार्यान्वयनको सुलभताका आधारमा  पश्चिम बंगाल भारतको ११ औं राज्यमा पर्छ । 

पश्चिम बंगालमा चिया, पेट्रोलियम, पेट्रोकेमिकल, लेदर, आइरन, स्टिल, आइ टी, खानी स्रोतहरु, अटोमोबाइल तथा अटोपार्टहरु, बायो टेक्नोलोजी, माछा, जुटका, उत्पादन तथा टेक्सटाइलको उत्पादन हुन्छ। पश्चिम बंगालको जिडिपीमा कृषि क्षेत्रको १९ प्रतिशत, औद्योगिक क्षेत्रको २५ प्रतिशत र सेवा क्षेत्रको ५६ प्रतिशत योगदान रहेको छ।

पश्चिम बंगाल भारतको सबैभन्दा ठूलो लेदर सामाग्रीहरुको निर्यातकर्ता राज्य हो। भारतकै ७० प्रतिशत ‘ड्राइ-फ्लावर’को निर्यातकर्ता पनि पश्चिम बंगाल नै हो।  ७७ प्रतिशत साक्षरता भएको पश्चिम बंगाल भारतकै दोस्रो ठूलो चिया उत्पादक हो जहाँको दार्जिलिङ चिया विश्वभर रुचाइन्छ। यस्तै पश्चिम बंगालले झिंगेमाछा पनि निर्यात गर्दछ। 

सन् २०१० सम्ममा भएको एक अध्ययन अनुसार पश्चिम बंगालमा झण्डै ७ हजार उद्योगहरु स्थापना भएको छ। सन् २०२० सम्ममा पश्चिम बंगालले १६ वटा आइटी पार्क निर्माण तथा २ वटा विद्त उत्पादन क्षेत्र नै तयार गर्ने परियोजनामा काम गरिरहेको छ। पश्चिम बंगाल पूर्वी भारतको मुख्य बन्दरगाह हब समेत हो। कोलकाता र हल्दियालाई पूर्वी भारतकै मुख्य पोर्ट मानिन्छ। यस्तै कोलकातामा रहेको नेताजी सुभाषचन्द्र बोस अन्तराष्ट्रिय बिमानस्थल भारतकै पाँचौं ब्यस्त अन्तराष्ट्रिय बिमानस्थल हो। 

पश्चिम बंगालमा सरकारले सन् २००००  देखि सन् २०१६ सम्ममा ३९६७ मिलियन डलर एफडिआइ भित्र्याएको छ। सिक्किम र अन्डमान निकोबार टापुमा  सन् २०१६ सम्ममा दुइ स्थानमा  ३.९३ अर्ब अमेरिकी डलर एफडिआइ भित्रिएको थियो।

सन् २०१२ मा टाइमले विश्वकै १०० प्रभावशाली ब्यक्तिको सूचीमा ममता बेनर्जीलाई राख्यो। सन २०१२ मै ब्लुमबर्ग म्यागेजिनले बित्त क्षेत्रमा विश्वकै टप ५० मानिसमध्ये उनलाई चयन गर्यो। यस्तै सन् २०१३ मा भारतकै इमान्दार राजनितिज्ञका रुपमा सम्मानित गर्यो। 

सन् २०१४/१५ मा पश्चिम बंगालको अर्थतन्त्र समग्र देशकै अर्थतन्त्रभन्दा बलियो रुपमा बृद्धि भयो। समग्र अर्थतन्त्र ७.५ प्रतिशतले बढ्दा पश्चिम बंगालको अर्थतन्त्रमा १०.५ प्रतिशतको बृद्धि देखियो। 

यस्तै औद्योगिक क्षेत्रमा पनि देशभर ५.६ प्रतिशतको बृद्धि देखिँदा पश्चिम बंगालमा ८.३ प्रतिशतको बृद्धि देखियो।  सन् २०१२/१३, २०१३ /१४ र २०१४ /१५ को तथ्यांकलाई हेर्दा प्रतिब्यक्ति आयमा पश्चिम बंगालको बृद्धि स्तर समग्र देशकै भन्दा बढी देखिन्छ। 

सन् २०१२/१३ मा पश्चिम बंगालको प्रतिब्यक्ति आय ९.५ प्रतिशत रह्यो भने सन् २०१३/ १४ सम्म पुग्दा बढेर १२.४ भैसकेको थियो। यस्तै सन् २०१४/१५ मा यो दर बढेर १२.८ प्रतिशत पुग्यो। 

सन् २०११\ १२ मा ११४ अर्ब अमेरिकी डलर रहेको पश्चिम बंगालको जिएसडिपी सन् २०१५\१६ सम्ममा आइपुग्दा बढेर १४०.५६ अर्ब अमेरिकी डलर पुगिसकेको छ।  सन् २०१८/ १९ मा पश्चिम बंगालको जिडिपि १५ प्रतिशतले बृद्धि हुने प्रक्षेपण गरिएको छ।  

सन् २०१२ मा पश्चिम बंगाल सरकारले एउटा पत्र प्राप्त गर्यो। यो पत्र पठाएका थिए विश्वकै धनाढ्य बिल गेट्सले । ‘बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसन’बाट आएको पत्रमा मुख्यमन्त्री बेनर्जीले गरेका कामहरुको प्रशंशा गरिएको थियो। 

Tata
GBIME
Nepal Life

मुख्यमन्त्री बनेको एक वर्षमै उनले पश्चिम बंगालबाट पोलियो निर्मूल बनाएको भन्दै विल गेट्सले उनको कामको सरहाना गरेका थिए। स्वास्थ्य क्षेत्रमा प्राप्त यो नतिजा विश्वकै लागि कोसेढुंगा भएको भन्दै बिल गेट्सले लेखेको पत्रले बेनर्जीलाई आम जनतामाझ थप लोकप्रिय बनायो। 


टाटाको प्लान्ट फिर्ता गएपछि निकै आलोचित भएकी बनर्जीले विकासका अन्य परियोजनाहरुमा बाधा उत्पन्न हुन नदिन सचेत छिन्। जनवरीको  ‘बंगाल ग्लोबल बिजनेस समिट’ मा पनि उनले लगानीकर्ताहरुलाई आफू ‘बिजनेस फ्रेन्डली’बन्न कन्जुस्याँई नगरेको आभाष दिलाइन्। 

टाटा प्लान्टको बहिर्गमन जस्तै अन्य उद्योगहरुले पनि पश्चिम बंगालबाट बाहिरिनुपर्ने वातावरण बनेमा पश्चिम बंगालको औद्योगिकीकरणमा असर पर्ने बुझेरै उनले लगानीकर्ताहरुलाई लगानीमैत्री वातावरण कायम गर्नेमा विश्वास दिलाइन्। आखिर ‘वेस्ट बंगाल’लाई ‘बेस्ट बंगाल’ बनाउने सपनाकी सुत्राधार उनै बेनर्जी त हुन्।