मोटरसाइकलमा पनि अब नयाँ नम्बर प्लेट, यातायात व्यवस्था विभागले तयारी थाल्यो

बिजमाण्डू
२०७४ माघ २५ गते १६:०६ | Feb 8, 2018
मोटरसाइकलमा पनि अब नयाँ नम्बर प्लेट, यातायात व्यवस्था विभागले तयारी थाल्यो
काठमाडौं। यातायात व्यवस्था विभागले दुई पांग्रे सवारी साधनमा पनि इम्बोस्ड नम्बर प्लेट जडान सुरु गर्ने भएको छ। विभागले आउँदो फागुन १ गतेदेखि बागमती अञ्चल कार्यालयमा दर्ता भएका सम्पूर्ण दुई पांग्रे सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडानको काम थाल्ने भएको हो। 
 

Tata
GBIME
Nepal Life
मोटरसाइकलमा इम्बोस्ड नम्बर जडान गर्न २५ सय रुपैयाँ राजस्व बुझाउनु पर्नेछ। त्यसका अतिरिक्त इम्बोस्डका लागि आवेदन गर्नुअघि सम्पूर्ण राजस्व पनि तिरेको हुनुपर्ने विभागले जनाएको छ। यातायात व्यवस्था विभागको बागमती अञ्चल कार्यालयमा मात्रै करिब ९ लाख दुई पांग्रे सवारी साधन दर्ता भएका छन्। 
 
विभागका अनुसार दुई पांग्रे सवारी साधनको अगाडि ३००×८० मिलिमिटर आकारको र पछाडिको भागमा २४०×१३० आकारको इम्बोस्ड नम्बर प्लेट जडान हुनेछ। 
 
मंसिरबाट बागमती अञ्चलमा चारपंग्रे सवारीमा इम्बोस्ड नम्बर प्लेट जोड्न सुरु गरेको विभागले अब त्यसलाई मोटरसाइकलमा विस्तार गर्न लागेको हो। बागमती अञ्चलबाट सुरु भएको चारपांग्रेमा इम्बोस्ड जडानको काम अन्य अञ्चलमा विस्तार हुन सकेको छैन। डेकाटुर टाइगर कम्पनीले नेपालमा इम्बोस्ड नम्बर प्लेट आपूर्ति गर्ने जिम्मा पाएको थियो।
 
विभागले बागमती अञ्चलमा दर्ता भएका सबै चारपांग्रे सवारीमा ०७५ असार मसान्तभित्र अनिवार्य रूपमा इम्बोस्ड प्लेट जडान गर्नुपर्ने निर्णय यसअघि गरेको थियो । त्यही अनुरूप यातायात व्यवस्था कार्यालय साना/ठूला सवारी बागमतीमा गत मंसिरदेखि इम्बोस्ड नम्बर जडान भइरहेको छ । 
 
हालसम्म करिब १५ सय सवारीमा इम्बोस्ड नम्बर प्लेट जडान भइसकेको कार्यालयले जनाएको छ। बागमती अञ्चलमा दर्ता भएका १२ लटसम्मका सवारी साधनलाई चैत भित्र र १३ लटदेखि माथिका चारपांग्रे सवारीलाई असार मसान्तसम्म इम्बोस्ड जडानका लागि समयसीमा तोकिएको छ ।

विभागले यसअघि नै सरकारी तथा संस्थानका चारपांग्रे सवारीले आगामी चैत मसान्तभित्र प्लेट डान गरिसक्नुपर्ने गरी सूचना प्रकाशित गरेको थियो। 
 

इम्बोस्ड नम्बर प्लेट जडानका लागि सवारी धनीले अनलाइनबाटै आवेदन दिन सक्ने छन्। आवेदन दिनुअघि सवारीका बाँकी कर तिरेर इम्बोस्डका लागि तोकिएको शुल्क पनि बुझाउनु पर्नेछ। विभागका अनुसार तीनपांग्रे साना सवारीमा यो प्लेट जोड्न २ हजार ९ रुपैयाँ राजस्व लाग्छ । यसैगरी कार, जीप, भ्यान तथा ट्र्याक्टरलगायत चारपांग्रेले ३ हजार २ सय र ठुला सवारी साधनले ३ हजार ६ सय रुपैयाँ शुल्क बुझाउनु पर्छ।