चार वर्षदेखि राजनीतिक कनेक्सन लगाए, तर सफल भएनन्, सर्वोच्च गएको तीन दिन मै सुमार्गीको रकम फुकुवा

बिजमाण्डू
२०७४ माघ २३ गते २३:३३ | Feb 6, 2018

काठमाडौँ । चार वर्षअघि अजयराज सुमार्गीको नेपाल इन्भेष्टमेन्ट बैंक तथा नबिल बैंकमा रहेको खातामा २ करोड १३ लाख ८८ हजार १६३ डलर जम्मा भयो। ठूलो मात्रामा रकम आएपछि बैंकले त्यसका विषयमा नेपाल राष्ट्र बैंकलाई जानकारी दिए। त्यसपछि केन्द्रीय बैंकले स्रोत स्पष्ट खुलाउन नसकेको भन्दै खाताको रकम फ्रिज गरिदियो।
 
आफ्नो अर्बौँको रकम रोक्का भएपछि त्यसलाई फुकुवा गर्न सुमार्गीले अनेकौँ राजनीतिक कनेक्सन लगाए, तर सफल भएनन्। चार वर्षदेखि रोकिएको त्यो रकम सर्वोच्च अदालतमा रिट लिएर गएको तीन दिन नबित्दै फुकुवा भयो। 
 
सुमार्गीको नेपाल स्याटेलाइट टेलिकम प्रा.लि.को अख्तियारी लिएर सुभाषचन्द्र पौडेलले नेपाल राष्ट्र बैँक लगायतलाई प्रतिवादी बनाएर माघ २१ गते आइतबार दायर गरेको रिटलाई प्रधान न्यायाधीश गोपाल पराजुलीले भोलिपल्टै पेशी चढाइदिए तर सोमबार इजलास स्थगित भयो।
 
तेस्रो दिन आज मंगलबार न्यायाधीश तेजबहादुर केसीको इजलासमा पेशी राखियो। इजलासले कारण देखाऊमात्रै जारी गरेन, 'यसबाट उद्योगलाई क्षति पुगेको देखिन आएको' भन्दै 'प्रस्तुत रकम र सोबाट हुने लाभ समेत विदेश लैजान नपाउने गरी निवेदकले मागेको बखत भुक्तानी दिलाउनु र खाता सञ्चालनमा अवरोध नगर्नू/नगराउनू' भन्दै अन्तरिम आदेशसमेत दियो।  
 
यसअघि कर दायित्व पूरा नगर्दासम्म लाभांश लैजान रोक्न गरिएको प्रयासलाई एनसेलले सर्वोच्चमा रिट हालेर सात दिनमै फुकुवा गराउन सफल भएको थियो। 

कहाँबाट आएको थियो रकम?

सुमार्गीले बेलाबेलामा साइप्रसको कम्पनी एयरबेल तथा ब्रिटिस भर्जिन आइल्याण्डको कम्पनी जोधरबाट नेपालमा पैसा ल्याउँदै आएका थिए। यी दुवै कर छल्ने उद्देश्यले बनाइएका सेल कम्पनीहरु हुन्। यस्ता कम्पनीहरु ट्याक्स हाभेन देशहरुमा खोलिन्छन्। 
 
एयरबेल र जोधर दुवै कम्पनी सुमार्गीकै हुन्। एयरबेलको केसमा महालेखा परीक्षकको कार्यालयले आफ्नो प्रतिवेदनमा  रोचक तथ्य भेट्टाएको समेत उल्लेख गरेको छ। साइप्रसको कम्पनी रजिष्ट्रेसन विभागको अनलाइन पोर्टलमा गत अगष्ट २४ को विवरण अनुसार एयरवेलका पाँच जना सञ्चालकमध्ये दुई जना नेपालीको नाम थियो। त्यसमध्ये एक जना अजयराज सुमार्गी हुन्। महालेखाले ट्रेस गरेको थाहा पाएपछि ६ सेप्टेम्बरसम्ममा एयरबेलको सञ्चालकबाट नेपालीको नाम हटाइ सकिएको थियो।
 
नेपालमा कर प्लान गर्नकै लागि सुमार्गीले साइप्रसमा एयरबेल नामको सेल कम्पनी खोलेको महालेखा परीक्षकको दावी छ। महालेखा सरकारी कार्यालयहरुको आम्दानी र खर्चको अन्तिम अडिट गर्ने संवैधानिक अंग हो। सरकारले लिनु पर्ने आय सम्बन्धित कार्यलयले उठाउन नसकेको अवस्थामा महालेखाले बेरुजु लेखेर दवाव दिने गर्छ।
 
सुमार्गीले चलाखीपूर्वक नेपाल स्याटलाइटको भ्यालुएसन एयरबेलको नाममा गराउँछन्। एयरबेलको सेयर टेलियाले किन्छ। त्यस बापतको पैसा नेपाल ल्याउन सुमार्गीले फेरि ब्रिटिस भर्जिन आइसल्यान्डमा  जोधार नामको अर्को सेल कम्पनी स्थापना गरेका थिए।
 
जब टेलियाले एयरबेल खरिदवापत पैसा भुक्तानी गर्छ त्यो रकम जोधारको खातामा जान्छ। आफ्नै कम्पनी जोधारले आफूलाई नै अर्थात् सुमार्गीको नाममा ऋण दिन्छ। सुरुमा त उनी त्यो रकम राष्ट्र बैंकको अनुमतिसहित भित्र्याउन पनि सफल हुन्छन्। पछि राष्ट्र बैंकले रोक्का गरिदिएपछि चार वर्षसम्म यत्तिकै रहेको रकम अब सर्वोच्चको आदेशमा फुकुवा भएको हो।
 
महालेखा परीक्षकको कार्यालयले सुमार्गीको कम्पनीसित कूल एक अर्ब ४० करोड भन्दा बढी लाभकर असुल्न बाँकी रहेको भन्दै असुल्न निर्देशन दिएको थियो।
 
 
नेपाल स्याटेलाइट, मुक्तिश्री, एयरवेल, टेलियासोनेरा हुँदै जोधरबाट सुमार्गीले कसरी अर्बौं कमाएका थिए, विस्तृत जानकारीसहित बिजमाण्डूको स्टोरी पढ्न क्लिक गर्नुस्।

Tata
GBIME
Nepal Life