माथिको दबाबपछि चिनीको भन्सार दोब्बर बढाउने प्रस्ताव अघि बढ्यो, ३० प्रतिशत पुर्‍याउने तयारी

बिजमाण्डू
२०७४ माघ ७ गते १८:०३ | Jan 21, 2018
माथिको दबाबपछि चिनीको भन्सार दोब्बर बढाउने प्रस्ताव अघि बढ्यो, ३० प्रतिशत पुर्‍याउने तयारी

काठमाडौं। प्रधानमन्त्री तथा अर्थमन्त्रीको निरन्तरको दबाबपछि अर्थ मन्त्रालयले चिनीको भन्सार दर बढाउने तयारी गरेको छ।

Tata
GBIME
Nepal Life

आर्थिक वर्षको ६ महिना बितेपछि अर्थ मन्त्रालयले चिनीको भन्‍सार दर दोब्बरले बढाएर ३० प्रतिशत पुर्‍याउने तयारी गरेको हो। विद्यमान दरअनुसार चिनी आयातमा १५ प्रतिशत भन्सार लाग्दै आएको छ। अर्थको प्रस्ताव मन्त्रिपरिषदबाट स्वीकृत भए अब यो दर ३० प्रतिशत पुग्नेछ। योसँगै अब विदेशबाट आयात हुने चिनीको भाउ महँगो हुनेछ।

आर्थिक ऐनको दफा १९ को व्यवस्थामा टेकेर सरकारले चिनीको भन्सार दर परिवर्तन गर्ने तयारी गरेको हो। अर्थले आइतबार यसको प्रस्ताव तयार गर्न लागेको हो।

आर्थिक ऐनमा 'प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भएता पनि नेपाल सरकारले आवस्यकता अनुसार यो ऐन र अन्य कानूनबमोजिम लगाइएका दस्तुर, शुल्क, महसुल र करको दर घटाउन, बढाउन वा त्यस्तो दस्तुर, शुल्क, महसुल र कर आंशिक वा पूर्ण रुपमा छुट दिन सक्नेछ,' उल्लेख गरिएको छ।

कानुनमा भन्सार दरबन्दी परिवर्तन गर्ने अधिकार सरकारलाई दिइएको भए पनि आर्थिक वर्षको बिचमा भन्सार दर परिवर्तन गर्दा राम्रो नहुने एक पूर्व अर्थसचिवले बताए। 'करको दर परिवर्तनको विषय मन्त्रिपरिषदबाट पारित गराउँदै जाने हो भने त्यसले कर प्रशासनलाई नै ध्वस्त बनाउँछ। दरबन्दी परिवर्तन गर्नुपरे कम्तिमा आर्थिक वर्षको समाप्तिसम्म कुर्नु उपयुक्त हुन्छ,' उनले भने।

अर्थ मन्त्रालयका राजस्व सचिव शिशिरकुमार ढुंगानाले चिनीको भन्सार दर बढाउने प्रस्ताव कृषि मन्त्रालय र चिनी उद्योगीहरुबाट आएको भए पनि निर्णय नभइसकेको बताए। उनले यस विषयमा वाणिज्य र आपूर्ति मन्त्रालयसँग छलफल गरि आवस्यक निर्णय लिइने बताए।

'यस विषयमा निर्णय भइसकेको छैन। अन्तर्राष्ट्रिय बजारमा चिनीको मूल्यमा भएको गिरावट र त्यसको प्रभाव अध्ययन भइरहेको छ।

अध्ययनपछि मात्रै यस विषयमा उचित निर्णय हुनेछ,' ढुंगानाले भने, 'अहिले नै भन्सार दरमा परिवर्तनको प्रस्ताव भइसकेको छैन।'यसअघि कृषि विकास मन्त्रालयले गत कात्तिकमा विदेशबाट आयात गरिने चिनीमा ५० प्रतिशत भन्सार महसुल लगाउन सिफारिश गरेको थियो।

यस्तै चिनी उत्पादक संघले पनि भन्सार दर ५० प्रतिशत लगाउन दबाब दिँदै आएको थियो। नेपालमा ब्राजिल, पाकिस्तान, बङ्गलादेश र थाइल्यान्डबाट चिनी आयात भइरहेको छ। तर, अर्थ मन्त्रालयले नै यसअघि चिनीको भन्सार दर नबढाउने बताएको थियो।