के ट्रम्पले अमेरिकी अर्थतन्त्र मजबुत बनाएकै हुन्? ६ सूचकमा यस्तो देखियो अमेरिकी अर्थतन्त्र

बिजमाण्डू
२०७४ माघ ७ गते १६:१९ | Jan 21, 2018

ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ठ्याक्कै एक वर्ष बिताए। उनका नीति र ब्यवहारका बारेमा बिभिन्न टिकाटिप्पणीहरु भैरहेपनि उनी आफ्नो नीतिप्रति टसमस गर्दैनन्।

Tata
GBIME
Nepal Life

उनले आफ्नो राष्ट्रपतीय कार्यकालको वर्षदिनको समीक्षा भाषण गर्दा आफ्नो कार्यकालमा अमेरिकी अर्थब्यबस्था उत्कृष्ट भएको दावी गरे। उनको दावीलाई पुष्टि गर्ने केही तथ्यगत आधारहरु देखिएका छन्। अमेरिकी अर्थतन्त्रमा बजार बृद्धि, कामदार, रोजगारी तथा बिबिध बित्तीय तस्वीरहरुले  ट्रम्पलाई केही हदसम्म साथ दिएको देखिन्छ।

१. आर्थिक बृद्धिदरमा सुधार

ट्रम्पले आफ्नो इच्छा भनेको अमेरिकी अर्थतन्त्रलाई ६ प्रतिशत बृद्धितिर उन्मुख गराउने रहेको बताएका छन्। अमेरिकी बाणिज्य मन्त्रालयले गत डिसेम्बरमा जारी गरेको तथ्यांकले बार्षिक बृद्धिदर ३.२ प्रतिशत रहेको देखाएको छ।

अमेरिकी केन्द्रीय बैंक फेडेरल रिजर्भले डिसेम्बरमा तेस्रो पटक ब्याजदर बढाएको छ। यसबाट आर्थिक बृद्धिको गति  आगामी दिनमा सुस्त हुने विश्लेषणहरु भैरहेका छन्।

२. स्टक मार्केटमा छलाङ

डाउ जोन्स इन्ड्रस्ट्रियल एभरेजले गत वर्षभर बढ्दै रेकर्ड कायम गरेको छ। यस्तै एस एण्ड पि र नास्दाकपनि आफ्नो ऐतिहासिक रेकर्डमा पुगेको छ। राष्ट्रपति ट्रम्पका समर्थकहरुले उनको 'कर्पोरेसन ट्याक्स कट'ले अमेरिकी शेयरबजारलाई बढाउन मद्दत गरेको बताएका छन्।

यस्तै उनको अमेरिकी केन्द्रित नीति  तथा 'इन्फ्रास्ट्रक्चर इन्भेष्टमेन्ट'प्रति जनाएको प्रतिबद्धताले पनि शेयरको भाउ बढाउन मद्दत पुगेको छ।

३. घट्यो बेरोजगारी  

अमेरिकामा बेरोजगारी दर घटेको छ। गत डिसेम्बरमा यो दर घटेर ४.१ प्रतिशतमा खुम्चिएको तथ्यांकले देखाएको छ। यो सन् २०१० को दरभन्दा दोब्बरभन्दा कम हो।

विश्व आर्थिक मन्दीका कारण सन् २०१० मा बेरोजगारी दर बढेर १० प्रतिशत पुगेको थियो। ओबामा प्रशासनमा नै बेरोजगारी दर घट्न सुरु भैसकेको थियो। ओबामा प्रशासनमा यो दर घटेर ४.८ प्रतिशतमा आइसकेको थियो।


 
४.  उत्साहहीन ज्यालादर

आर्थिक सूचकहरुमा सकारात्मक संकेत देखापरेपनि ट्रम्प प्रशासनमा ज्यालादर भने घटेको छ। गत एक वर्षको तथ्यांकलाई हेर्दा ज्यालादर २.५ प्रतिशत देखि २.९ प्रतिशतमै अल्झिएको छ।  ज्यालादरमा खासै सुधार आउन नसकेको तथ्यांकले देखाएको छ।

५. रोजगारी बढेन

सन् २००७ २००८ को मन्दीको समयमा रोजगारी गुमाएकाहरु अझै पूर्णतया काममा फर्कन सकेका छैनन्। ट्रम्प प्रशासनमा पनि यो रोजगारीको दर ६३ प्रतिशत देखिएको छ। ट्रम्पको एक वर्षको कार्यकालमा यसको बृद्धिमा कुनै योगदान देखिएको छैन।  

६. बढ्दो ब्यापार घाटा

ट्रम्पले बिगत एक वर्षमा अमेरिका केन्द्रित ब्यापारलाई आफ्नो पहिलो प्राथमिकता बनाएपनि ब्यापार घाटा निकै बढेको देखिएको छ। निर्यात भन्दा आयात निकै बढी हुँदा ५० अर्ब डलरभन्दा बढीको ब्यापार घाटा ब्योहोरिरहेको छ। यो तथ्यांक सन् २००८ पछिको सबैभन्दा बढी हो।

अमेरिकी अर्थतन्त्रको निरन्तर बृद्धि, ‘कन्जुमर कन्फिडेन्स’ का साथै अमेरिकी बिक्रेताहरुले सीमापारबाट आयात बढाउनुलाई ब्यापार घाटाका कारणका रुपमा ब्याख्या गरिएको छ। ‘नेगेटिभ ट्रेड ब्यालेन्स’का कारण ट्रम्प प्रशासनमाथि निकै दबाब परेको छ।