पाँच अर्बको लगानीमा खुलेको होटल टाइगर प्यालेश यस्तो छ, कोठाबाटै स्विमिङ पुलमा ‘डाइभ’ गर्न मिल्ने

चन्द्रकान्त खनाल/बिजमाण्डू
२०७४ माघ ५ गते १२:०७ | Jan 19, 2018
पाँच अर्बको लगानीमा खुलेको होटल टाइगर प्यालेश यस्तो छ, कोठाबाटै स्विमिङ पुलमा ‘डाइभ’ गर्न मिल्ने


भैरहवा।पाँच अर्ब २० करोड लगानीमा रुपन्देहीमा पाँच तारे होटल टाइगर प्यालेस संचालनमा आएको छ।रुपन्देही तिलोत्तमा नगरपालिका–१७ कोटिहवामा होटल संचालनमा आएको हो।

Tata
GBIME
Nepal Life

अस्ट्रेलियाको कम्पनी सिल्भर हेरिटेज ग्रुपको ५ अर्ब २० करोड रुपैयाँ लगानीमा निर्माण भएको रिसोर्ट सफ्ट ओपनिङ भएको हो । ‍पहिलो चरणमा १ सय कोठा सञ्चालनमा ल्याइएको छ भने दोस्रो चरणमा थप ३ सय कोठा पाहुनाका लागि तयार हुनेछ।सिल्भर हेरिटेज इन्भेस्टमेन्ट प्रालिका कार्यकारी अध्यक्ष राजेन्द्र बजगाईंले  हस्पिटालिटी क्षेत्रमा भिन्दै पहिचानका साथ होटल निर्माण गरेको बताए।

उनका अनुसार रिसोर्टमा तत्काल ३ सयजनाले रोजगारी पाएका छन् । स्थानीयलार्इ तालिम दिएर होटलमा रोजगारी दिइएको बजगार्इँले बताए।होटलमा पचास जना विदेशीले काम गर्छन्।होटल पूर्ण रुपमा संचालनमा आएपछि १ हजार ८ सय जनाले प्रत्यक्ष रोजगारी पाउने उनले बताए।रिसोर्टले १५ बिघा क्षेत्रफल ओगटेको छ । रिसोर्ट भवनले मात्र दुई बिघा क्षेत्रफल ओगट्छ।  

रिसोर्टमा ४ सय कोठाबाहेक दुईवटा भिल्ला पनि निर्माण गरिने उनले बताए।प्रत्येक भिल्लामा ३ वटा कोठा, साउना, ज्याकुजीलगायत सबै सुविधा उपलब्ध हुनेछन् । रिसोर्टको डिजाइनअनुसार २० वटा कोठा र पौडी पोखरी (स्विमिङ पुल) एकआपसमा जोडिएका छन् । पाहुनाले कोठाबाट सिधै स्विमिङ पुलमा ‘डाइभ’ हान्न सक्नेछन्।होटलले रुम रेट दुर्इ सय डलर राखेको छ।

रिसोर्टले गर्ने कूल आम्दानीको दुई प्रतिशत संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बाघ संरक्षणका लागि खर्च गर्ने उद्देश्य लिएको छ । ‘हाम्रो रिसोर्टले वार्षिक जति कमाउँछ त्यसको दुई प्रतिशत हिस्सा संरक्षण सूचीमा रहेको जंगली जनावर बाघको संरक्षणमा खर्च गर्छौं उनले भने, त्यही भएर रिसोर्टको नाम टाइगर प्यालेस राखेका हौं ।  

होटलसँगै रहेको सामुदायिक वनसँग सहकार्य गरी केही सामाजिक काम गर्ने योजना पनि बनाएको छ। होटलमा स्पा, टेनिस कोर्ट, चिल्ड्रेन पार्क, वाटर फन पार्कलगायत विभिन्न आकर्षण रहनेछन्।

बजगाईंका अनुसार रिसोर्ट सिल्भर हेरिटेज चेनअन्तर्गत सञ्चालन हुनेछ । यो चेनले हाल लाओस, फिलिपिन्स, भियतनाम, कम्बोडिया, गुआम आइल्यान्डलगायत देशमा ३३ वटा रिसोर्ट सञ्चालन गरिरहेको छ । रिसोर्ट निर्माणको काम अमेरिकाको हार्वर्ड बिजनेस स्कुलका स्कलर ह्यु होल्म्सले हेरेका थिए।